६३ जिल्लाका विद्यालयको अवस्था अध्ययन गर्दै सरकार

 

सरकारले ६३ जिल्लाका सबै विद्यालयको अवस्थाबारे अध्ययन गर्ने भएको छ । भूकम्पले क्षति पुर्‍याएका १४ जिल्लाबाहेक सबै जिल्लाका विद्यालयको अवस्थाबारे अध्ययन गर्न लागेको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले आगामी वर्ष विद्यालय भवनको अवस्था अध्ययन गर्न लागेको हो । विश्व बैंको सहयोगमा ६३ जिल्लाका विद्यालय भवनको अनुगमन गरी त्यसको अवस्थाबारे जानकारी दिन लागिएको एकाइ प्रमुख इमनारायण श्रेष्ठले जानकारी दिए ।

‘कति भवन ढुंगामाटोले बनेका होलान्, कतिपय भवनको अवस्था अत्यन्तै नाजुक भएका होलान्, सबै विषयमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछौं’– उनले भनेको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

विद्यार्थीको ढाड सेक्दै महानगरपालिका : विद्यालयमाथि १४ प्रकारका शुल्क

 

काठमाडौं महानगरपालिकाभित्र सञ्चालन हुने संस्थागत र सामुदायिक विद्यालयले १४ प्रकारका सेवा शुल्क तिर्नुपर्ने भएको छ । सामुदायिक विद्यालयले २ र संस्थागत विद्यालयले १२ प्रकारका कर तिनुपर्ने भएको छ ।

महानगरपालिकाको नगरसभाले सेवा शुल्क लिने निर्णय गरेसँगै नयाँ शुल्क लागू हुने भएको हो । नाम परिवर्तन गर्न माध्यमिक तहको संस्थागत विद्यालयको ५० हजार र आधारभूत तहको संस्थागत विद्यालयको ३० हजार, अनुमतिपत्र वितरण गर्न आधारभूत तहको संस्थागत विद्यालयको ५ हजार र मावि तहको संस्थागत विद्यालयको १० हजार, विद्यालयको स्वामित्व परिवर्तन गर्न आधारभूत तहको २० हजार र माध्यमिक तहको ३० हजार, स्थान परिवर्तन गर्न आधारभूत तहको २० हजार र माध्यमिक तहको ३० हजार रुपैयाँ लिने निर्णय नगरसभाले गरेको छ ।

संस्थागत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मनोनयन गर्न १ हजार, विद्यार्थीको नामथर, जन्ममिति सच्याई प्रतिलिपि लिन प्रतिविद्यार्थी २ सय तथा संस्थागत विद्यालयको विद्यार्थी भेरिफिकेसन गर्न ५ सय रुपियाँ लिने निर्णय गरेको छ ।

त्यसैगरी नगरसभाले करार तथा राहत शिक्षक नियुक्तिको अभिलेखीकरण गर्न आधारभूत तहको सामुदायिक विद्यालयमा १ हजार र मावि तहमा २ हजार रुपियाँ लिने निर्णय गरेको छ । विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय तहमा गइसकेपछि नयाँ सेवा शुल्क कायम गरिएको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

 

मन्थली नगरपालिका– ६, नवुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म पढाइ हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि तीन–तीन जना नै छन् ।

‘पढाउँदा रमाइलो हुन्छ,’ प्रधानाध्यापक सुन्दर बस्नेतले भने– ‘कक्षा कोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन् । कहिलेकाहीं त एकै ठाउँमा राखेर समेत पढाउछौं ।’

यस विद्यालयमा विद्यार्थी धेरै हुँदा ३४–३५ जनासम्म पुगेको तथ्यांक छ । यसरी विद्यार्थी घटेको यो पहिलो पटक हो । नवुघाटमा माझी समुदायको बसोबास छ, यहाँ २८ घरपरिवार माझी बस्दै आएका छन् ।

शिक्षिका सुधा माझीले भनिन्– ‘पोहोर ७ जना थिए, अहिले घटेर ३ जना भए, अर्को साल त घटेर एक जना पनि भर्ना हुने अवस्था छैन । गाउँमा विद्यालय आउने उमेरका बच्चा नै छैनन् ।’

सामुदायिक विद्यालयको लाजमर्दो अवस्थाबारेको यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

एसईई नतिजामा त्रुटिवापत मन्त्रालय तानिए नियन्त्रक रेग्मी

 

केही दिनअघि सार्वजनिक भएको ०७४ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा परीक्षा नियन्त्रण कार्यालय (पनिका) को असावधानी देखिएको छ ।

शिक्षा मन्त्रालयले गठन गरेको छानबिन समितिले आइतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा असावधानी र प्राविधिक त्रुटिका कारण दुई दिन फरक–फरक नतिजा आएको ठहर गरेको छ ।नतिजामा त्रुटि भएको ठहरपछि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मी शिक्षा मन्त्रालय तानिएका छन् ।

असावधानी र प्राविधिक त्रुटि देखिएको प्रतिवेदन छानबिन समितिले शिक्षामन्त्रीलाई बुझाएपछि रेग्मी मन्त्रालय तानिएका हुन् । रेग्मीले सम्हालेको उक्त जिम्मेवारीमा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि तोकिएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

सडकमै कक्षा चलाएर ‘शिक्षामा निजीकरण, व्यापारीकरण र माफियाकरण’ को विरोध

 

शिक्षालाई निजीकरण, व्यापारीकरण र माफियाकरण गर्न सरकारले सघाएको भन्दै विद्यार्थीहरूले त्यसको विरोध गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा आइतबार राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि सडकमै विद्यार्थी र टिचिङ बोर्ड राखेर पढाउँदै विरोध जनाएका छन् ।

विद्यार्थी नेता विवेक राईले सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुको सट्टा शिक्षामा निजीकरण गर्न सरकार नै उद्धत रहेको भन्दै सडकमै कक्षा लिएर विरोध गरिएको बताए ।

Credit : newskoseli.com

‘हेडसर’ को कुटाइबाट विद्यार्थी सख्त घाइते !

 

सुनसरी कोशी गाउँपालिका– ७, हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् ।

साथी–साथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न सुनसरी सदरमुकाम इनरुवा नगरपालिका– ४ स्थित प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको पाइपले आफ्नै विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी पाठकलाई निर्घात कुटपिट गरेको पीडित पाठकले बताएका छन् ।

पीडित पाठकले आफूलाई कोठामा थुनेर प्रधानाध्यापक सर ओमप्रकाश यादव, चालक कमल दास, चन्दन यादव र नन्दकिशोर यादवसहितले लाठी र रबरको पाइपले कुटपिट गरेको बताए । कुटपिटबाट पाठकको कानबाट रगत निस्केको छ भने शरीरभरि नै निलडाम रहेको पीडितका ठूलो बुबा श्यामानन्द पाठकले बताए । घाइते पाठकको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

उनले आफूलाई अपांग बनाई दिने, पढ्ने सपना चकनाचुर पारिदिने भन्दै पालोपालो गरी प्रधानाध्यापक ओमप्रकाश र शिक्षकले निर्घात कुटपिट गरेको आरोप लगाए । पीडित पाठकले कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

उता प्रधानाध्यापक यादवले कुटपिट गरेको स्वीकार गर्दै अपांग बनाउने गरी नकुटेको दाबी गरे। यादवले आबेगमा आएर कुटपिट गरेको भनी स्वीकारे। यो घटना मिलाउने प्रयासमा समेत रहेको यादवले बताए । रासस

Credit : newskoseli.com

एसईई रिजल्टमा लापर्बाहीः एकै विद्यार्थीको २ दिनमा २ मार्कसिट !

 

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले शनिबार प्रकाशित गरेको नतिजामा आइतबार हजारौं विद्यार्थीको जीपीए बढेको छ ।

पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जीपीए आइतबार बढेको हो । जीपीए बढेपछि विद्यार्थी, अभिभावक र शिक्षक अन्योलमा परेका छन् । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनु पर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखाएको थियो ।

बढ्यो अधिकांशको जीपीए

आइतबार प्रायः विद्यार्थीको जीपीए बढेको छ । आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जीपीए बढेको सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौं’ उनले भने– ‘शनिबार जीपीए ३.८ आउनेको आइतबार ३.९ आएको छ ।’

कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल खेमलाल भुसालले पनि आइतबारको नतिजा तुलनात्मक रूपले सही देखिएको बताउँदै यसबाट थोरै भए पनि विद्यार्थीहरूमा न्याय भएको बताए ।

जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको अधिकारीले बताएको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

एसईईको परीक्षाफलमा प्राविधिक त्रुटि, भोलिपल्ट बढ्यो धमाधम नम्बर…

 

राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ ।

परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीले आधिकारिक वेबसाइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट शनिबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा आइतबार ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त, तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ ।

प्राविधिक कमजोरीबारे पनिका कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली हो भन्न थालेका छन् । पछिल्लो ग्रेडसिट अनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ ।

नयाँ स्थितिमा शनिबार सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ । यसबारे बुझ्न खोज्दा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीसँग सम्पर्क हुन सकेन ।

कतिपयले विद्यार्थीले परीक्षाफल आएलगत्तै आफूले सोचेजति ग्रेड नभएको चिन्ता आइतबार गरेका थिए भने सोमबार नयाँ विवरण आएपछि प्रशन्नता व्यक्त गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले नयाँ सफ्टवेयरमा प्राप्तांकलाई जोड्ने सूत्र हाल्दा गल्ती भएको पाइएको र विस्तृत के भएको बुझ्न बाँकी रहेको बताए । उनले यसबारे आवश्यक अध्ययन भइरहेको बताए ।

परीक्षा उपनियन्त्रक गेहनाथ गौतमले पनि सफ्टवेयरले कमान्ड नगरेकाले शुरुमा केही कम ग्रेड आएको र पछिल्लो नजिताले विद्यार्थीलाई न्याय भएको दाबी गरे ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीले नयाँ र सक्कलीस्तर सहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरुका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी भएको बताए । उनले भने– “बरु एक दिन ढिलो गरेको भए हुन्थ्यो, यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।” रासस

Credit : newskoseli.com

एसईईको यस्तो छ नतिजा : ‘लेटर ग्रेडिङ’ पद्धतिले झन् खस्कियो गुणस्तर

 

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । गत चैतमा सञ्चालित परीक्षाको नतिजा परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ प्रकाशित गरेको हो ।

नतिजा अनुसार जीपीए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या १४ हजार २ सय ३४ जना छ । ३.२५ देखि ३.६० जीपीए (ए ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४६ हजार १ सय ३० र जीपीए २.८५ देखि ३.२० (बी प्लस ग्रेड) ल्याउने विद्यार्थीको संख्या ४९ हजार ३७ छ ।

७० हजार ५ सय १२ विद्यार्थीले जीपीए २.४५ देखि २.८० (बी ग्रेड) ल्याएका छन् । जीपीए २.०५ देखि २.४० (सी प्लस ग्रेड) ल्याउने विद्यार्थी ६१ हजार ८ सय ७० र जीपीए १.६५ देखि २.०० (सी ग्रेड) ल्याउने विद्यार्थी १ लाख १ हजार ४३ छन् ।

जीपीए १.२५ देखि १.६० (डी प्लस ग्रेड) ल्याउनेको संख्या ३५ हजार ५ सय ८४ र जीपीए ०.८५ देखि १.२० (डी ग्रेड) ल्याउने विद्यार्थीको संख्या ५८ हजार ६ सय ८८ छ ।

एक्जाम्टेडतर्फ भने एक जना विद्यार्थीले पनि जीपीए ३.६५ देखि ४ (ए प्लस ग्रेड) ल्याउन नसकेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

आजै (शनिबार) ३ बजेपछि एसईईको रिजल्ट…

 

०७४ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शनिबार) सार्वजनिक हुने भएको छ । चैतमा सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्न परीक्षा नियन्त्रण कार्यालयले दिउँसो ३ बजे बैठक बोलाएको छ ।

सबै तयारी पूरा भएकाले दिउँसो नतिजा सार्वजनिक गर्न लागिएको जानकारी परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले दिएका छन् ।

नतिजा प्रकाशित भएपछि न्युजकोसेली (www.newskoseli.com) मै रिजल्ट हेर्न सकिनेछ…

Credit : newskoseli.com