जनताको घेराबन्दीमा छौं
अब एउटा शक्तिशाली कम्युनिस्ट केन्द्र बनाउँदै देशलाई समृद्धिको नयाँ युगको यात्रातिर लग्नु छ । राष्ट्रिय अडानका कारण नेपाली जनताले भरोसा गरेका हुन् । हामीलाई कतै दायाँबायाँ गर्ने छुट छैन । चारैतिर जनताको, कम्युनिस्ट कार्यकर्ताको घेरा छ । विश्व जनमतले पनि हामीलाई घेराबन्दी गरेको छ ।
केपी ओली र मैले हस्ताक्षर गरेर पार्टी एकता गर्ने सहमतिसँगै चुनावमा उम्मेदवार र घोषणापत्र साझा बनायौँ । अब यी सबै जनताको सम्पती भएको छ । केपीजी र मैले अलीकति पनि दायाँ बायाँ गर्यौं भने जनताले छुट दिनेवाला छैनन् । कोही कम्युनिस्टले छुट दिने स्थिति छैन । एकता हामीले हतारमा गर्ने पछि पछुताउने गरी गर्दैनौं । एकता गरेको भोलिपल्टबाटै समस्या नओस भन्नेमा सचेत छौं ।
संगठनात्मक एकताको मोडालिटीमा सहमति भइसक्यो
वैचारिक, सांगठनिक र नीतिगत विषयमा कुरा निष्र्कषतिर गइसकेको छ । संगठनात्मक रुपमा कुन मोडल अपनाउने भन्ने विषयमा दुई अध्यक्षवीच एउटा सहमती भएको छ । त्यो सम्मानजनक ढंगले एकता गर्नुपर्छ, कसैले कसैलाई ह्यूमिलेट गर्ने अपमानित गर्ने या विभेद हुनुहुन्न भन्ने हो ।
एकता गर्दा समानताको सिद्धान्तलाई पनि अंगिकार गर्नुपर्ने हुन्छ । समानताका आधारमा एकता गर्नु पर्ने हुन्छ । तेस्रो, न्यायोचित ढंगले एकता गर्नु पर्ने हुन्छ ।
नभनेको दिन डयाम्पै एकता हुन्छ
हामीले वैशाख ९ गते एकता गर्ने औपचारिक निर्णय त गरेका थिएनौ । कार्यदलको सुझाव थियो । वैशाख ९ गते एकता गर्दा राम्रो हुन्छ भन्ने कुरालाई एकता संयोजन समितिले पनि स्विकार गरेकै थियो । बाहिर मिडियामा वैशाख ९ गते एकता हुन्छ भन्नेगरी गयो । मानौं हामीले निर्णय नै गर्या जस्तो ।
कम्तिमा यो कुरा बुझे हुन्छ, हल्ला गरेपछि त्यस दिन एकता हुदैन । यहाँ अनेक–अनेक छन, त्यो पनि बुझ्नु होला कमरेडहरु । यहाँ एउटा मात्र खेल भन्ने छैन । यहाँ धेरै तागत, प्रवृत्तिहरु, स्वार्थहरु टकराइरहेका हुन्छन । हामी त्यो दिन एकता गर्छौ भन्यो भने त्यो दिन एकता नै हुँदैन । हेर्नुहोला, नभनेका दिन हुन्छ पार्टी एकता । जुन दिन भनिएको हुँदैन, त्यो दिन ड्याम्मै एकता हुन्छ र डयाम्मै एकता गर्नु पनि पर्छ ।
पार्टी ठूलो हुँदा कति अहकंकार पलाउँछ, हामीलाई थाहा छ…
एमालेलाई भनिन्छ– ‘तपाईंहरुले यो सिद्धिन लागेको माओवादीलाई किन धेरै महत्त्व दिनु पर्यो ?’ फेरि, ‘सबै परिवर्तन तपाईंहरुले ल्याएको, क्रान्ति तपाईंहरुले ल्याएको, यस्तो एमालेसँग किन एकता गर्नु पर्यो’– माओवादीलाई उचालिन्छ । यी सबै थाहा छ मलाई ।
हामी ठूलो पार्टी हुँदा कस्तो अनुभुति हुन्थ्यो भन्ने पनि थाहा छ । हामी ०६४ सालमा सारै ठूलो पार्टी भयौ । सारै ठूलो हुनु पनि ठीक रहेनछ । ठूलो भएपछि धर्ती छोडिँदो रहेछ क्या । सबैै हामी, अरु त केही होइनन् भन्ने ठानिँदो रहेछ । अनि, जनताले पछारेपछि कस्तो हुँदो रहेछ भन्ने पनि थाहा पाइयो । ०७० सालमा तेस्रो बनाएर जनताले पछारेपछि कस्तो हुँदो रहेछ भन्ने पनि थाहा पाइयो । सानो हुँदा कस्तो हुँदोरहेछ भन्ने पनि थाहा पाइयो ।
हामीलाई मात्र होइन एमालेका नेता–कार्यकर्तालाई पनि थाहा छ– ठूलो हुँदा कस्तो हुन्छ, सानो हुँदा कस्तो हुन्छ । हामीले एक–अर्कालाई सम्मान गर्नैपर्छ, एक–अर्काबाट सिक्नैपर्छ । हाम्रो रणनीति जनयुद्धमा जाने भन्ने पनि होइन, अब कोही पनि जनयुद्धमा जाने भनेको छैन ।
एमाले–माओवादी केन्द्रद्वारा आइतबार राजधानीमा संयुक्त रूपमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलेका कुराको सारांश सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
थप यो पनि पढ्नुहोस्–
लेनिनजयन्तीमा पनि ओलीका टुक्कैटुक्का : ‘खुट्टा ताछेर पनि एकता, मेलामा लगाएको मितजस्तो होइन…’
Credit : newskoseli.com