३०० प्रतिशतसम्म नाफा ,तरकारीमा बिचौलियाको बिगबिगी

काठमाडौं : सरकारको फितलो अनुगमन र व्यापारीको सिन्डिकेटका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ। किसानदेखि उपभोक्तासम्म पुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी

मूल्यान्तर भेटिएको छ। किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालेका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ। काभ्रेको किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६०

रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन्। किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर २०० प्रतिशत हो। त्यस्तै, १० रुपैयाँ प्रतिकेजी बिक्री गरेको मुला ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन्। किसानदेखि उपभोक्तासम्म पुग्दा मुलको मूल्यमा पाँच सय प्रतिशत अन्तर देखिन्छ ।यो समाचार आजको राजधानी दैनिकमा छ

Credit : raranews.com

कृषिजन्य उपजमा आत्मनिर्भरतादेखि निर्यातसम्म, कृषिमन्त्री खनालले सार्वजनिक गरे ५८ बुँदे मार्गचित्र

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि, पशुपक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको व्यवस्थापन तथा विस्तारसहित कृषिजन्य उपजमा आत्मनिर्भर गराउने मार्गचित्र अगाडि सारेका छन् ।कृषि मन्त्री खनालले आईतबार मन्त्रालयमा आयोजित कार्यक्रममा ‘सबै नेपालीको प्रण, कृषिमा आधुनिकीकरण, समाजवादको आधार घरघरमा रोजगार’ भन्ने नारासहित मार्गचित्र सार्वजनिक गरेका हुन् ।

मार्गचित्रले विगतमा कार्यान्वयन नभएका तथा नयाँ एकीकृत गरेर अगाडि बढाएको कार्यक्रमलाई लागू गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनाले समग्र कृषि क्षेत्रलाई समन्वय गरेर कृषि उपजमा मुलुकलाई आत्मनिर्भर बनाउने बताए । कृषि क्षेत्रलाई प्रवद्र्धन गरेर रोजगारी सिर्जना गर्ने, कृषिजन्य उपजमा आत्मनिर्भर बनाउने र त्यसको केही समयपछि निर्यात गर्न सक्ने अवस्था तयार गर्नुपर्नेछ ।’ उनले भने, ‘केन्द्र, प्रदेश तथा स्थानीय तहलाई समन्वय गरेर कार्यक्रमलाई अगाडि बढाइने छ ।’

मन्त्रालयको समन्वय तथा निजी र सहकारी क्षेत्रको सहभागितामा सातवटै प्रदेशमा कृषि उत्पादन र बजारीकरणको कार्यक्रम ल्याइने बताउँदै उनले कृषि उपजहरुको उत्पादन र बजारीकरणका लागि कृषकलाई उत्प्रेरित गर्न मुख्य–मुख्य कृषि उपजहरुको न्यूनतम समर्थन मूल्य तोकिनेछ । आगामी तीन वर्षभित्र कृषिजन्य उपजहरु आलु, प्याज, खुर्सानीलगायत हरियो तरकारीमा आत्मनिर्भर बनाउन स्वदेशमै उत्पादन वृद्धि गरी विदेशबाट आयात गर्न नपर्ने वातावरण सिर्जना गरिनेछ ।

कृषि उपजको व्यवस्थित भण्डारणका लागि सातवटै प्रदेशमा सार्वजनिक निजी सहकारी क्षेत्रको सहभागितामा कम्तीमा एक लाख मेट्रिक टन क्षमताका ठूला गोदाम घर स्थापना गरिने उल्लेख गर्दै मार्ग्िचत्रमा हरेक प्रदेश तथा स्थानीय तहमा कोल्ड स्टोर, प्राङ्गारिक प्रमाणीकरण प्रयोगशाला, कृषि उपजको प्रशोधन, प्याकेजिङ, क्यानिङ, ग्रेडिङ केन्द्रलगायत सम्पूर्ण पूर्वाधार तथा सूचना प्रणालीसहितको एकीकृत कृषि बजार स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।

जग्गाधनी र मोहीबीच भूमिमा रहेको दोहोरो स्वामित्वसम्बन्धी समस्या हल गर्न मन्त्रालयमा मोहीयानी समस्या समाधान इकाइ स्थापना गरी आगामी एक वर्षभित्र ‘मोही प्रथा’ पूर्णतः अन्त्य गरिने उनले जानकारी दिए । उनले जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादी पक्षबाट किनबेच गराइएका जग्गाको एकीकृत तथ्याङ्क संकलन गरी स्थायी समाधानका लागि आवश्यक नीतिगत व्यवस्था गरिने बताए ।

मार्गचित्रमा भनिएको छ, मालपोत र नापी कार्यालयमा सेवाग्राहीले सेवा लिन जाँदा बिचौलियाबाट ठगिने क्रियाकलाप अन्त्य गरिनेछ । छ महिनाभित्र जनताको प्रत्यक्ष सरोकार रहने विषय नापी कित्ताकाट, जग्गा दर्ता, खरिदबिक्री, नामसारी, अंशबण्डाजस्ता कार्यको फाराम र प्रक्रिया सरलीकरण गरी कार्यालयमा सिधै सेवाग्राहीले निवेदन दिनसक्ने प्रणालीको विकास गरिनेछ । उनले जग्गा प्रशासनसम्बन्धी राजश्वलाई विद्युतीय भुक्तानी प्रणालीबाट कारोवारको व्यवस्था गरिने बताए ।

भूमिमा महिलाको हालको २५।७ प्रतिशत स्वामित्वलाई ५० प्रतिशतसम्म पु¥याउन छुट दिने घोषणा गर्दै उनले भने ‘महिलाको एकल नाममा वा पति पत्नी दुवैको संयुक्त नाममा जग्गा रजिष्ट्रेशन गर्दा हुने राजश्व छुटको विद्यमान व्यवस्थालाई पुनरवलोकन गरी ४० प्रतिशतसम्म पु¥याउन आवश्यक पहल गरिनेछ ।’ महिलाको नाममा भू–स्वामित्व रहेको परिवारलाई राज्यबाट वितरण हुने सेवामा विशेष सहुलियत प्रदान गर्न आवश्यक पहल गरिने मन्त्री खनालले प्रतिबद्धता व्यक्त गरे ।

आगामी एक वर्षभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रदेश नं ३ को वीरगञ्ज चिनी कारखाना र प्रदेश नं ५ को लुम्बिनी चिनी कारखानालाई सहकारी मोडेलमा ल्याउन विशेष पहल गरिने मार्गचित्रमा उल्लेख छ भने प्रदेश नं ७ मा सहकारी चिनी उद्योग स्थापना गर्ने कार्य प्रारम्भ गरिने छ ।

उनले मन्त्रालयअन्तर्गतका संघीय परियोजना तथा कार्यक्रमलाई नतिजामुखी बनाउन व्यवस्थित अनुगमनको कार्यढाँचा विकास गरी प्रभावकारी अनुगमन गरिने र आयोजनाको लक्ष्यअनुसार प्रतिफल हासिल नभएमा सम्बन्धित जिम्मेवार निकाय वा प्रमुखलाई जवाफदेही गराउने पद्धतिको विकास गरिने बताए ।

विभागीय प्रमुख, परियोजना प्रमुख र कार्यालय प्रमुखसँग संगठनको लक्ष्य, उद्देश्य र तोकिएको कार्यसँग परिणामलाई जोडी कार्य सम्पादन करार गर्ने व्यवस्था मिलाइने उल्लेख गर्दै मन्त्री खनालले कर्मचारीको वृत्ति विकासका अवसरको मूल्याङ्कन हुने प्रणालीको विकास गरिने बताउनुभयो ।

Credit : raranews.com

एउटै बोकाको मूल्य ३ लाख रूपैयाँ !

गाउँघरमा एउटा बोकाको मूल्य कति पर्ला ? नवलपरासीको एक ब्यवसायिक बाख्रापालन फर्ममा एउटा बोकाको मूल्य ३ लाख रूपैयाँ छ । नवलपरासीको हर्कपुरमा रहेको बगैंचा फर्म हाउसमा अष्ट्रेलियाबाट ल्याइएको अष्ट्रेलियन बोयर जातका बाख्रा छन् ।

फर्ममा सबै यूरोपमा काम गरेर फर्किएकाहरु खटेका छन् । उनीहरूले पालेको एउटै बोकाको मूल्य यति धेरै रहेको हो । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यका कान्छा छोरा वीरभद्र आचार्यलगायत १० जनाको लगानीमा सञ्चालित फर्ममा आबद्ध सबै युरोपमा बसेर कमाएकाहरू छन् । कृषिमा कुनै अनुभव नभएकाहरु आबद्ध भएपनि बाख्रापालन ब्यबसायमा सफल भएका छन् । उनीहरुको बाख्रापालनको सञ्जाल फैलँदो रहेको छ ।

‘आठ वर्ष अष्ट्रेलिया बस्दा महिनाको तीन लाख बच्थ्यो,’ सञ्चालकमध्येका सन्तोष धिताल भन्छन्– ‘त्यसले चित्त बुझेन र नेपालमा केही गरौं भन्ने इच्छा जाग्यो ।’ कृषि, पर्यटन र हाइड्रोमा लगानी गर्ने सोचाइ बनाएर फर्किँदा कृषिका अनौठा तथ्य बुझ्न पाएको उनले बताए । ‘कृषि मन्त्रालयमा तथ्यांक बुझ्न जाँदा भारतबाट नेपालमा वर्षेनी १७ अर्ब बराबरको खसीबोका आयात हुँदो रैछ, त्यसैले हामीलाई तान्यो,’ उनले भने– ‘त्यसपछि बाख्रापालन गर्ने निधो गरियो तर, अनुभव थिएन ।’ इन्टरनेटमा संसारकै उत्कृष्ट बाख्रापालन खोज्दै जादा अष्ट्रेलिया भेटियो । २०७२ सालमा त्यहाँबाट १२ पाठी र ७ वटा बोका ल्याएको उनले बताए ।

वीरभद्र आचार्य अमेरिका बसेका, अशोक शर्मा पौडेल ६ वर्ष डेनमार्क बसेका र धिताल अष्ट्रेलिया बसे पनि बाख्रापालनको योजना बनाउन्जेल पशु र कृषिसम्बन्धी कुनै अनुभव थिएन । ‘एउटै बोकाको २ लाख ६० हजार मूल्य तिर्‍यौं,’ धिताल भन्छन्– ‘अहिले वार्षिक ४० लाख आम्दानी छ।’ उनीहरुको फर्महाउसमा यतिबेला १ सय ६० वटा बाख्रा छन् । ४ बिघामा उन्नत जातको घाँसखेती छ ।

बोयर जातको बिशेषता जन्मेको ३ महिनामा कम्तिमा २६ किलो र वर्षदिनमा १३० देखि १५० किलोसम्म वजन हुने उनले बताए । बोयर जातको बाख्रा दैनिक २ सय ग्रामका दरले बढछ । बोका र पाठी बढा लम्बाइ बढ्छ । अग्लो हुँदैन, खँदिलो हुन्छ। मासुको स्वाद रैथाने जस्तो तिख्खर हुँदैन । बोसो नहुने र कोलेस्ट्रोल कम हुने हुँदा जुनसुकै रोगका लागेकाले पनि खान उत्तम मानिने भएकाले बजारमा माग बढ्दो छ । तर, फर्म सञ्चालकहरूको उद्देश्य मासु बेच्नु भने होइन ।

उन्नत जातका बोका र रैथाने बाख्रा क्रस गराएर उन्नत नश्लका पाठापाठीको उत्पादन बढाउनु हो । त्यसका लागि उनीहरुले ओखलढुंगा, झापा, रामेछाप, तनहुँ, बुटवल, बैतडी र नवलपरासीका दुई ठाउँमा बाख्रापालन सुरु गरेका छन् ।

रैथाने जातका खसीबोका एक वर्षसम्म पाल्दा ३० देखि ४० किलो तौलका मात्र हुन्छन् । खुवाइएको तुलनामा मासु कम हुन्छ । तनहुँको बन्दीपुरमा सरकारले ४० वर्षअघि खोलेको बाख्रा अनुसन्धान केन्द्रमा त्यस्तै जातका बाख्रापालन गरिए पनि व्यापकता पाउन सकेको छैन । यही परिबेशमा उनीहरुको फर्म हाउसमा हुर्काइएका खसीबोकाको माग भने बढी रहेकाे खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

प्रधानमन्त्री कृषि परियोजनामा अनियमितता

काठमाडौं : मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालनमा आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनियमितताको थलो बन्दै गएको छ। परियोजनाले खरिद प्रक्रिया र आफैले तयार पारेको कार्यविधिसमेत पालना नगरी कार्यक्रम सञ्चालन गर्दा बजेटमा व्यापक अनियमितता भएको छ। कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने यसको लक्ष्य हो।

गत आर्थिक वर्षदेखि सञ्चालनमा आएको यो परियोजना पछिल्लो समय विभिन्न प्रकारका विवादमा पर्दै आएको छ। कहिले एकै पटकमा कर्मचारी र कर्मचारीका आफन्तसहित सयौंलाई वैदेशिक भ्रमणमा पठाउने नाममा त कहिले कमिसनका लागि गुणस्तरहिन कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको नाममा बदनामी कमाउँदै आएको छ।

पछिल्लो समयमा भने चालु आर्थिक वर्षमा ६७ करोड रुपैयाँ प्रशासनिक गतिविधि र फर्निचर खरिदमै सकेर यो परियोजनाले बदनामी कमाएको छ। यसवाहेक यो परियोजनाले नीतिगतरूपमा बदमासी गरी विभिन्न प्रकारको अनियमितता गरेको पाइएको छ। खरिद प्रक्रिया, लगानी, प्रतिस्पर्धा नगराई सामान खरिद, खरिद गरिएका सामान अन्य प्रयोजनमा प्रयोग र मापदण्ड पालनामा अनियमितता गरेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले यो वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कृषि आधुनिकीकरण परियोजनामा अनियमितता भएको जनाएको छ। यो समाचार अन्नुपुर्णपोष्टबाट लिएका छौ

वार्षिक प्रतिवेदनअनुसार यो परियोजनाले एक परियोजना कार्यान्वयन इकाइ, ३० जोन र सात सुपर जोन कार्यालयमार्फत यो वर्ष एक अर्ब ३७ करोड ६९ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ। यसमध्ये प्रशासनिकतर्फ ३५ करोड ३४ लाख ६७ हजार र फर्निचरमा ३१ करोड ६२ लाख २२ हजार गरी एक वर्षमा ६६ करोड ९६ लाख ८९ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘परियोजनाअन्तर्गत विभिन्न कार्यालय स्थापना गरी थप प्रशासनिक खर्च गर्ने कार्य औचित्यपूर्ण देखिएको छैन। यस्ता कार्यालयको निरन्तरता सम्बन्धमा पुनरावलोकन हुनुपर्छ।’

खरिद प्रक्रिया, लगानी, प्रतिस्पर्धा नगराई सामान खरिद, सामान प्रयोग र मापदण्ड पालनामा अनियमितता गरेको पाइएको छ।
यो परियोजनाको सञ्चालन अवधि २०८२ असारसम्म छ। परियोजनामा कुल एक खर्ब ३० अर्ब ७४ करोड २० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत यो परियोजनाको ३८ जिल्लामा छुट्टै कार्यालय स्थापना गरिएको छ। सार्वजनिक खरिद नियमावलीको नियम ३१ अनुसार २० लाख रुपैयाँभन्दा बढी लागत अनुमान भएको मालसामान खरिद गर्न बोलपत्र खरिद गर्नुपर्नेमा अनियमितता गरी परियोजनाले चालु आर्थिक वर्षमा एक कम्पनीसँग प्रतीतपत्रमार्फत दुई थान मोबाइल ल्यावोटरी भ्यान खरिद गर्न १३ करोड ७८ लाख ३१ हजार रुपैयाँ पेस्की दिइएको भेटिएको छ। परियोजनाले नियम मिचेर नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई पनि सोही कम्पनीबाट थप दुई ल्यावोटरी भ्यान खरिद गर्न १३ करोड ७८ लाख ३१ हजार रुपैयाँ पेस्कीबापत भुक्तानी गरेको छ।

‘भ्यान खरिदको लागत अनुमान तयार नगरेको तथा प्रतिस्पर्धावेगर सम्झौता गरेकाले यो प्रक्रिया पारदर्शी देखिएन’, महालेखाको परीक्षण प्रतिवेदनमा भनिएको छ,‘उक्त कम्पनी उत्पादक तथा वितरक कम्पनीको एजेन्ट भएको प्रमाण समेत भेटिएको छैन। सम्बन्धित देशको आपूर्तिकर्ताको नाममा प्रतीतपत्र खोलेको नदेखिएको र गत मंसिरसम्म आपूर्ति गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्म उपलब्ध भएको छैन।’

महालेखाको प्रतिवेदनले लागत सहभागिताका आधारमा परियोजनाको पकेट, ब्लक, जोन र सुपरजोनमा आवश्यक पर्ने रसायनिक मल तथा प्रांगारिक मलका विषयमा पनि प्रश्न चिन्ह खडा गरेको छ। पकेट, ब्लक, जोन र सुपरजोनमा उपलब्ध गराइएको ती दुवै प्रकारको मलको परिमाण देखिने अभिलेखसम्म राखिएको छैन।

आर्थिक वर्षको अन्त्यमा आधारवेगर पेस्की दिएको तथा कामको प्रगति प्रतिवेदन तथा अनुगमन गरेकोसमेत नभेटिएकाले तोकिएको प्रक्रियाअनुसार खरिद तथा बितरण भएको यकिन हुन नसकेको प्रतिवेदनले औंल्याएको छ। सरकारले प्रांगारिक मललाई १५ करोडसहित रासायनिक मलका लागि ४० करोड रुपैयाँ पेश्की दिएको थियो। तर उ फछ्र्योट गरिएको छैन।

प्रतिवेदनले परियोजनाको लगानीको उपयोगमा पनि प्रश्न चिन्ह उठाएको छ। पोस्ट हार्भेस्ट केन्द्र स्थापना गर्न सम्बन्धित सञ्चालक समिति वा किसानले उद्यमीले आवश्यक घरजग्गा उपलब्ध गराउनुपर्ने र जग्गा भाडामा लिनुपर्ने अवस्थामा कम्तीमा १० वर्षको सम्झौता गर्नुपर्ने उल्लेख छ। तर सुपरजोन कार्यालय कैलालीले पोस्ट हार्भेस्ट निर्माण गर्न ६४ लाख ७७ हजार र जिल्ला कृषि विकास कार्यालय काभे्रपलाञ्चोकले दुई भवन निर्माण गर्न २८ लाख आठ हजार सञ्चालक समितिलाई अनुदान वितरण गरेको छ।

कार्यविधिमा लिजमा लिएको जग्गामा निर्मित भवनको स्वामित्व १० वर्षपछि कसको हुने उल्लेख छैन। कैलालीले १० वर्षका लागि जग्गा लिजमा लिएको छ भने काभ्रेपलाञ्चोकले आफ्नो स्वामित्व पनि नभएको र लिजमा पनि नलिएको जग्गा १० वर्षका लागि लिएर भवन निर्माण गरेको भेटिएको छ।

परियोजनाको कार्यान्वयनबाट कूल ग्राहस्थ उत्पादनमा ३० अर्ब थप हुने भनिएपनि योगदानको तथ्यांकक लिएर विश्लेषण गरेको नभेटिएको प्रतिवेदनको निश्कर्ष छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले भने महालेखाको उक्त प्रतिवेदन मिथ्या भएको जनाएको छ। परियोजनाका प्रमुख नरहरी घिमिरेले महालेखाको प्रतिवेदन त्रुटिपूर्ण भएको आरोप लगाए। ‘प्रतिवेदन मैले हेरेको छैन, प्रतिवेदन त्रुीटपूर्ण छ,’ प्रमुख घिमिरेले भने,‘हामीले महालेखासँगको छलफलमा यर्थाथ जानकारी गराइसकेका छौं। प्रतिवेदनमा के आयो आएन मलाई थाहा छैन। हामीले अपनाउनुपर्ने सरकारको सबै नीति, विधिर प्रक्रिया पारदर्शी रूपमा पालना गरेका छौं।’

सवारीसाधन भाडामा प्रयोग
परियोजनाअन्तर्गत भक्तपुरस्थित जोन कार्यालयले १७ लाख ८५ हजारमा खरिद गरेको मिनी ट्रकको जिन्सी दाखिला नगरी अन्य स्थानको अण्डा, पराल, गिटीबालुवाजस्ता सामान ओसार्न प्रयोग गरेको भेटिएको छ। भक्तपुरले उक्त मिनी ट्रक खरिद गर्न १५ लाख १७ हजार भुक्तानी गरेको भेटिएको छ। यस्तै जिल्ला कृषि विकास कार्यालय भक्तपुरले धान तथा तरकारी ब्लकका लागि ४० लाख २० हजारमा सम्झौता गरी ३२ लाख ५९ हजार रुपैयाँ सञ्चालक समितिलाई भुक्तानी गरी दुई थान सवारी खरिद गरेको छ। ती दुवै सवारीसाधन ब्लकको कृषि काममा प्रयोग गर्नुको साटो सञ्चालक समितिका अध्यक्षलाई मासिक ३९ हजार र २५ हजार उपलब्ध गराउने भनी भाडामा प्रयोग भइरहेको पाइएको छ।

यस्तै सुपर जोन कार्यालयले बाराले ४९ लाख ४० हजार रुपैयाँमा दुई पिकअप भ्यान र एक थान ट्रयाक्टर खरिद गरी सुपरजोन सञ्चालक समितिलाई जिम्मा लगाए पनि तीनवटै सवारीसाधन प्रयोगविहिन अवस्थामा पुगेको छ।

प्रतिर्स्पधा नगराई खरिद
परियोजनाले बोलपत्रमार्फत प्रतिस्र्पधा नगराइ कृषि उपकरण खरिद गरेको छ। जिल्ला कृषि विकास कार्यालय रामेछाप, भक्तपुर, सर्लाही, काभ्रेपलाञ्चोक र पाल्पाले ५० प्रतिशत अनुदानमा कष्टम हायरिङ सेन्टर स्थापना गर्न मिनिटिलर, पावर टिलर, थ्रेसर, पानी तान्ने पम्प, चक्का, ट्रेलर, डिजिटल स्केल, ट्र्याक्टर, रोटाभेटर, स्यालो ट्युववेल, कर्न सेलर, त्रिपाल, घट्ट, प्लास्टिक क्रेट, काँटालगायत सामान खरिद र निर्माणसम्बन्धी गतिविधि सञ्चालन भएको छ। सञ्चालक समितिबाट खरिद भएको बिलमध्ये चार करोड ४६ लाख ४३ हजार ब्लक सञ्चालक समितिलाई भुक्तानी गरिएको छ। प्रतिवेदनले भनेको छ,‘यस्ता कार्यालयबाट उपलब्ध भएको अनुदान उपभोगको पारदर्शीता सम्बन्धमा अनुगमन हुनुपर्दछ।’

बढी भुक्तानी
व्यावसायिक कृषि उत्पादन केन्द र(ब्लक) विकास कार्यक्रम सञ्चालन कार्यविधिअनुसार ब्लकमा आवश्यक पर्ने सबै प्रकारका मेसिनरी औजार र उपकरण सेटको खरिदमा ५० प्रतिशत पुँजीगत अनुदान उपलब्ध गराउनुपर्ने व्यवस्था छ। तर, परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले मकै छोडाउने मेसिन, घट्ट, त्रिपाल, पानी तान्ने पम्पलगायतका लागि सामानको मूल्यमा ८५ प्रतिशत अनुदान दिएको भेटिएको छ। बढी भुक्तानी गरेको ११ लाख २८ हजार असुल गर्नुपर्ने प्रतिवेदनमा छ। यस्तै कृषि औद्योगिक क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिअनुसार लागतको ८५ प्रतिशत अनुदान दिन व्यवस्था छ।

आफ्नै मापदण्ड पालना भएन
परियोजनाले ब्लक विकास कार्यविधिअनुसार बाली वस्तु कम्तीमा सय हेक्टर क्षेत्रमा सञ्चालन हुनुपर्ने भनेको छ। यस्तो क्षेत्रफल चक्लावन्दी गरी एउटै करिडरमा रहेको हुनुपर्ने मापदण्ड तयार पारेको छ। यसैगरी कस्टम हायरिङ सेन्टर तथा पोस्ट कार्यविधिअनुसार सम्बन्धित सञ्चालक समिति वा कृषि उद्यमीले आवश्यक घरजग्गा आफैले उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

तर, जिल्ला कृषि विकास कार्यालय भक्तपुरले दधिकोट, गुण्डु र ताथलीमा धानको ब्लक र थिमी, दधिकोट र सूर्य बिनायकमा तरकारीको ब्लक कायम गरेको छ। यस्तै जिल्ला कृषि विकास कार्यालय ललितपुरले शंखु, भट्टेडाँडा, दलचौकीमा मकै ब्लक र चन्दनपुर, गोटीखेल र कालेश्वरमा तरकारी ब्लक कायम गरेको छ।

‘कार्यविधिअनुसार उक्त जग्गा तोकिएको क्षेत्रफलमा र एउटै करिडरमा रहेको भेटिएन,’ प्रतिवेदन भन्छ, ‘आवश्यक घरजग्गाको प्रबन्ध वेगर नै कष्टम हायरिङ सेन्टर र पोष्ट हार्भेस्टिङ स्थापनाका लागि भक्तपुरलाई एक करोड ७४ हजार र ललितपुरमा ९२ लाख ५६ हजार अनुदान वितरण गरिएको छ। खरिद भएको सामान कुनै एक स्थानबाट परिचालन हुने अवस्था देखिएन। तोकिएको मापदण्ड पालना गर्नुपर्छ।’

Credit : raranews.com