प्रहरीको गाडीबाट थुनुवा भागेपछि प्रहरी जवान र अर्का थुनुवालाई मुद्दा

इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा थुनामा रहेका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाका १९ वर्षीय बिष्णु बुढाथोकी प्रहरीको गाडीबाटै भागेका छन् ।  बुढाथोकीलाई नैतिकताविरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर इप्रका ल्याउँदै गर्दा प्रहरीले प्रयोग गरेको बसबाट हामफालेर भागेका हुन् ।

लाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेम शाहीका अनुसार, उनी सार्वजनिक मुद्दा (नैतिकताविरुद्धको अपराध) अन्तर्गत पक्राउ गरिएको थियो  । धेरै थुनुवा भएका कारण बस प्रयोग गरेर म्याद थप गर्न लगिएको अवस्थामा अन्तिम सिटमा बसेका बुढाथोकी झयालबाट हामफालेर भागेको डिएसपी शाहीले जानकारी दिए ।

थुनुवा भगाउन सहयोग गरेको अभियोगमा कार्यालयमा कार्यरत प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई पक्राउगरी सामाजिक न्याय विरुद्धको कसुर ऐन अन्तरगत मुद्दा चलाएको शाहीले जानकारी दिए ।

यसैबीच थुनुवा बुढाथोकी प्रहरीको गाडीबाटै भागेपछी ड्युटीमा रहेका एक प्रहरी जवानलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दाङ देउखुरी जिल्ला अदालतले  प्रहरी जवान शेरबहादुर बुढाथोकीलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमती दिएको छ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा चोरी मुद्दाका अभियुक्त वसन्त केसीलाई पनि प्रहरी सामाजिक न्यायविरुद्धको कसुर ऐन अन्तर्गत मुद्दा चलाएको डीएसपी शाही बताए ।

डिएसपी शाहीले हतकडी लगाउनु पर्ने अवस्थामा समेत खाली राखिएको, संगै रहेका प्रहरी जवानले भाग्दासमेत चासो नदिएको कमजोरी भेटिएको बताए । म्याद थपको नेतृत्व गर्दे इप्रकाका असई सुनिलजंग शाहको टोली गएको थियो । शाहको कमाण्डमा म्याद थपका लागि प्रहरी टोली खटिएको थियो ।

Credit : janasanchar.com

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा मामा पक्राउ

भरुवा बन्दुकले हानेर भान्जाको हत्या गरेको आशंकामा प्रहरीले मामालाई पक्राउ गरेको छ  ।अहिले प्रहरीको हिरासतमा रहेका अभियुक्त पर्सा  जिल्ला पर्सागढी नगरपालिका–३ निवासी  सन्तोष घले रहेका छन्  ।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, पर्सागढी नगरपालिका–३ स्थित बर्डिनिहारका १३ वर्षीय बालक आर्यन तामाङको मृत्यु भएको खबर पाएको प्रहरीले घटनास्थलको प्रकृति हेरेपछि मामा  सन्तोष घलेलाई पक्राउ गरेको हो ।

बुधबार बिहान घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कुकर पड्केर मृत्यु भएको जानकारी पाएको प्रहरीले घटनास्थल पुगेपछि कुकर पड्केको अवस्था नरहेको र बालकको निधारमाथिको भाग क्षतविक्षत पाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले अनुसन्धानका क्रममा घटना शंकास्पद रहेको भन्दै मृतकका मामा सन्तोष घलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले बताए  ।

अनुसन्धानका क्रममा घर नजिकैको जंगलबाट भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

Credit : janasanchar.com

वाइडबडी जहाज खरीद प्रकरण : ठुलो चलखेल, जहाज नै नभएको कम्पनीसंग जहाज खरीद

नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको नक्कली कम्पनी खडा गरेर जहाज खरिद गरेको देखिएको छ । नेपाल एयरलाइन्सको जहाज खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भएको छ।

नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा “नयाँ जहाज छ” भनी कम मूल्य हाल्ने एएआर छानिएको थियो । तर, समझदारीपछि उसले आफूसँग “जहाज नभएको, आफ्नो कन्सोर्टियम पार्टनरसँग भएको ” बताएको थियो । त्यसपछि जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा थपिएका थिए ।

आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ– तीन देशका फरक कम्पनीसँग काम गर्न जटिल हुने भन्दै नेपाल एयरलाइन्सकै विशेष प्रस्तावमा हाई फ्लाई एक्स आयरल्यान्ड नामक स्पेशल पर्पोज कम्पनी आयरल्यान्डमा दर्ता गरिएको थियो । त्यसपछि हाई फ्लाई एक्स आयरल्यान्डसँग नेपाल एयरलाइन्सले खरिद सम्झौता गरेको थियो । एयरबसले हाई फ्लाई एयरलाइन्सलाई विमान बुझायो भने उसले नेपाल एयरलाइन्सलाई ।

अन्नपूर्णका अनुसार खरिद सम्झौता हाई फ्लाई एक्स आयरल्यान्डसँग भए पनि जहाज हाई फ्लाई एयरलाइन्सले दिएको थियो । नाम उस्तै राखेर भ्रम सिर्जना गर्न खोजिएको थियो । यी नितान्त फरक कम्पनी हुन् । हाई फ्लाई पोर्चुगलमा सन् २००५ देखि सञ्चालित छ भने हाई फ्लाई एक्स २०१७ फेब्रुअरीमा नेपाल एयरलाइन्सकै पहलमा खोलिएको हो । दुवैका सञ्चालक फरक छन् । सम्झौताको पानालाई ‘लालपुर्जा’ भनियो। ‘लालपुर्जा’ मा हस्ताक्षर गर्ने कम्पनी बन्द भइसक्यो।

२५ अर्बको स्वामित्वमा छापसम्म छैन। मिति कलमले लेखिएको छ। दुइटामध्ये एउटामा त मितिको खाली ठाउँसम्म भरिएको छैन। एयरबसको आधिकारिक कागज उतै लुकाइयो।सिधै एयरबससँग नकिनी बिचौलियाको समूह खडा गर्नु, भाडावालासँग किनिएको भन्नु, किन्ने प्रयोजनमा छुट्टै कम्पनी बनाउनु, उसको स्वामित्वमा जहाज नहुनुजस्ता तथ्यका आधारण एयरलाइन्सकै कर्मचारीहरू जहाजको स्वामित्वप्रति आशंकित छन्।

 

Credit : janasanchar.com

सिमा अतिक्रमण क्षेत्रमा आन्दोलन चर्काउने अखिल (क्रान्तिकारी)को निर्णय

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको काठमाण्डौमा सम्पन्न तेस्रो पूर्ण बैठकले सीमा अतिक्रमण र ज्यादतीको विरोधमा संघर्ष चर्काउने निर्णय गरेको हो ।
भारतीय पक्षबाट गरिएको सीमा अतिक्रमणको बिरोधमा बिरगन्ज, झापा, सुनसरी, कञ्चनपुर, कैलाली लगायतका भारतसँग सिमा जोडिएका देशभरका सिमा क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र बि.क.ले जानकारी दिए ।
भारतीय हस्तक्षेप र सीमा अतिक्रमणको विरुद्ध नेकपानिकट अखिल (क्रान्तिकारी)ले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । भारतिय साम्राज्यवाद द्वारा सिमा मिचिएको र अनावश्यक हस्तक्षेप गरिरहेको भन्दै संगठनले सिमा मिचिएका स्थानहरु स्थलगत अनुगमन पनि गरेको छ ।
यस्तै बैठकले बिद्यार्थीको हक, अधिकारको पक्षमा संघर्ष गर्ने र देशव्यापि रुपमा संगठन विस्तार अभियान चलाउने पनि निर्णय गरेको छ । जसअन्तरगत बैठकले तीन महिने कम्युनिष्ट विद्यार्थी अभियान सन्चालन गर्ने भएको छ ।
बैठकले कम्युनिष्ट विद्यार्थी अभियान नै चलाउने निर्णय गरेका नेता बि.क.ले जानकारी दिनुभयो । शिक्षा क्षेत्रको व्यापारीकरण, निजीकरणको अन्त्य र वैज्ञानिक समाजवादी शिक्षा स्थापनाका लागि देशव्यापि संघर्ष गर्ने समेत बैठकको निर्णय छ ।

पछिल्लो समय शिक्षा क्षेत्रमा निजीकरण सँगै व्यापारीकण हुँदै गएको छ । सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ध्यान दिनुपर्ने अवस्थामा शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गरिएको भन्दै बिद्यार्थी संगठनले संघर्ष गर्न लागेको हो ।

Credit : janasanchar.com

वामदेव गौतमको गुनासो ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

 नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ ।

तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Credit : onlinepana.com

प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई जागिरबाट निकाल्ने प्रचण्डको उद्घोष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा समायोजन हुन नमान्ने कर्मचारीलाई जागिरबाट निकाल्नुपर्ने बताएका छन्।संविधानको मर्म र भावनाअनुसार प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न जान नमान्ने कर्मचारीलाई निकाल्नुको विकल्प नभएको दाहालले बताए।

‘कर्मचारी समायोजनको समस्या सर्वत्र देखिएको छ। कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउन सरकारले कठोर निर्णय गर्नुपर्छ। नमान्नेलाई निकाल्नुपर्छ अर्को कुनै उपाय छैन,’ म्याग्दी उद्योग वाणिज्य संघले बुधबार बेनीमा गरेको कार्यक्रममा बोल्दै दाहालले भने, ‘कर्मचारी प्रदेश र स्थानीय तहमा जान नमाने नयाँ कर्मचारी भर्ती गरे हुन्छ। पढेलेखेका युवाहरू बेरोगजार भएर विदेशिएका छन्। नमान्ने कर्मचारीलाई हटाइदिएर नयाँ भर्ती गरे को जाँदैन स्थानीय तहमा?’

स्थानीय तहमा कर्मचारी नजाँदा जनताले दु:ख पाएको दाहालले बताए।‘संसारभरि जहाँ हेर्नुस्, ठूला राजनीतिक परिवर्तन भएपछि ब्युरोक्रेसी र सेक्युरिटीको माथिल्लो लेयरलाई सरकारले बिदा गरिदिन्छ। आफूप्रति लोयल हुने, परिवर्तनलाई बुझ्न सक्ने मान्छेहरूलाई भर्ती गर्छ। अनि पो परिवर्तन संस्थागत हुन्छ।’

नेपालमा २००७, २०१७, २०४६, २०६२/०६३ र पछिल्लो समय जतिसुकै व्यवस्था बदल्न खोजे पनि राजाका पालामा तालिम लिएका हाकिमहरूले जनताको काम हुनै नदिएको दाहालले बताए।

‘दुईचार वर्ष ठूल्ठूला हाकिमसँग बस्दाबस्दै नेताजति हाकिमजस्ता हुन्छन्, जनताको काम हुन्न,’ दाहालले भने, ‘नेता (मन्त्री) ले हाकिमलाई परिवर्तनको बाहक बनाउनु पर्नेमा फाइल मिलेन, हुन्न हजुर मात्रै भनेको छ।’कर्मचारीका कारण परिवर्तन उल्टन सक्ने डर आफूलाई भएको दाहालले बताए।

जिल्ला कार्यालय खारेज गरेर स्थानीय तहमा ती कार्यालयको सेवा पुर्‍याउने संघीयताको मर्म भए पनि कर्मचारी अभाव देखाएर जिल्लामा भएका कार्यालय अरू जिल्लामा केन्द्रिकृत गरिएकोमा दाहालले आपत्ति जनाए।

‘जिल्लामा रहेका खानेपानी, शिक्षा, स्वास्थ्य कार्यालय गाउँमा पुर्‍याउने भनेको हो। कर्मचारीहरू पनि गाउँ पुर्‍याउने भनेको हो। अहिले के भएछ भने कर्मचारी जान मानेका छैनन्, अप्ठेरो पर्‍यो भनेर दुई/तीन वटा जिल्लालाई एउटा कार्यालय खोलिएको रहेछ,’ दाहालले भने, ‘जिल्ला कार्यालय हटाएर तीन जिल्लाको एउटा कार्यालय खोलेपछि जनतालाई झन् झमेला। बरु पहिले आफ्नै जिल्लामा त कार्यालय थियो।’

कर्मचारी समायोजन भई स्थानीय तह नजाँदा जनताले सरकारमाथि प्रश्न उठाएको दाहालले बताए।‘जनता रिसाएका छन्। चाहिने/नचाहिने ठाउँमा कर लिएको भनेर। फेसबुक र मिडियामा आएको कुरा हेर्ने हो भने त बेइज्जत नै भएको छ,’ उनले भने, ‘गाउँमा कार्यालय पुर्‍याउन खोजेको तर, भएका कार्यालय झिक्ने काम भयो।’कर्मचारी समायोजन गर्न ऐन चाहिने भए ल्याएर सरकारले कठोर निर्णय गर्दै गाउँमा कर्मचारी खटाउनु पर्ने उनले बताए।

Credit : onlinepana.com

नेमकिपाका केन्द्रिय सदस्य शाहीको सडक दुर्घटनामा मृत्यु

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको मृत्यु भएको छ । बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी उनको निधन भएको हो ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई राति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएपछि कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममो निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भे१च १६७२ नंको निजी मालवाहक भ्यानले शाही सवार भे२प ३०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएका छन् । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेकोे भे१ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ । पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो । घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Credit : onlinepana.com

कांग्रेस युवा पुस्ता नेतृत्वमा पुग्ने गरी तात्यो ‘नेतृत्वले गल्ती गर्छ भने नयाँ नेतृत्वलाई ढोका खुल्छ’

नेपाली काँग्रेस संगठित भएर अगाडि बढ्न नसकिरहेका बेलामा युवाहरु एकजुट भएर अगाडि बढ्न कम्मर कसेका छन्। पार्टी सभापति शेरबहादुर देउवाको भूमिकाले काँग्रेस कमजोर भएको र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्षम नदेखिएको भन्दै सुजाता कोइरालाको घरमा ‘लञ्च मिटिङ’ भएको केही दिनपछि नै युवा पुस्ता तातेको हो।

केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुधबार बोलाएको छलफलमा धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा र जीवन परियार रहेका थिए। भण्डारीले पहिलो दिन पाँच भाइलाई भेला पारे पनि आगामी दिनमा यो संख्या बढ्ने बताए ।

बैठकबारे भण्डारीले भने, ‘चुनौती बढिरहेका छन्। पार्टीभित्र आपसी द्धन्द्ध वृद्धि हुँदै गएको छ। विचार मर्दैछ। बलजफ्तीले प्रोत्साहन पाउँँदै गएका छन्। द्धन्द्ध समााधान गर्न, महासमिति बैठकमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्दै नयाँ चुनौतीको सामना गर्नका लागि सबैले आशा गरेको युवा पुस्ता जाग्नु जरुरी छ।

पुरानो पुस्ता सरकार र प्रतिपक्षी भूमिकामा असफल भएको अवस्था छ। चेपुवामा परेको पुस्ताले यसरी नै मौन धारण गरे पार्टी अगाडि बढ्न सक्दैन। नयाँ विचार जन्मदैन। सीमित व्यक्तिको स्वार्थको पिछलग्नु हुनेबाहेक विकल्प छैन भन्ने महसुसु गरेर एकातिर सरकारको किंतब्र्य विमुढको अवस्था र अर्कातिर पार्टीभित्र धनवानको वाहुल्यता समाधान गर्न युवा नेतृत्व अगाडि बढ्नु पर्छ भनी छलफल सुरु गरिएको हो।’

नेता भण्डारीले युवा नेतृत्वले नै वर्तमान सरकारका गलत क्रियाकलाप विरुद्ध लाग्नेछ। सरकार पूरै असफलताको बाटोमा लागिरहेका अवस्थामा त्यसलाई सही काम गर्न झक्झक्याउने छ। राम्रो प्रतिपक्षको भूमिका खेल्नेछ। पार्टीभित्र मौलाएको धनवान र बलबान प्रवृत्तिलाई निष्किृय पार्दै अगाडि बढ्न मद्धत गर्नेछ।’

भण्डारीले युवाहरुको निरन्तर छलफल बसेर कसरी अगाडि बढ्ने भन्ने निक्र्योल गर्ने बताए। उनले देशभरका युवाहरु समेटिने दावीसमेत गरेका छन्। बैठक अन्त पनि बसिरहेको र गुटबन्दी मौलाएको सम्बन्धमा नेता भण्डारीले भने, ‘कसको बैठक कहाँ र कसरी भइरहेको छ भनी हामी पछि लाग्दैनौं अब युवा पुस्ता कसरी अगाडि बढ्ने र काँग्रेसलाई सशक्त पार्टी बनाउने भन्नेमा लागिरहेका छौं।’

भण्डारीले द्धन्द्ध र गलत प्रवृत्ति हावी भयो भने काँग्रेसलाई पुनर्जागरण दिनका लागि पनि काँग्रेस महाधिवेशनमा यही पुस्ता नै अगाडि बढ्न सक्ने बताए। उनले भने, ‘को व्यक्ति भन्ने होइन कुन विचारलाई अगाडि बढ्ने भनेरै लागिरहेका छौं।’

उनले थप स्पष्ट पारे, ‘हामी कहिल्यै ब्यक्ति भएर अगाडि बढेनौं समूह भएर अगाडि बढ्यौं, यो समूहले देशको बारेमा के भन्छ भन्ने हो । यसअघि पनि हामीले हाम्रा असन्तुष्टिहरु केन्द्रीय समिति बैठकमा राखेकै थियौं । हामी सही मार्गमा छौं, सबैलाई समेटेर अगाडि बढ्छौं।’

बुधबार भएको बैठकमा सकारात्मक छलफल भएको र अरु नेताहरु पनि आगामी बैठकमा समेटिने नेता भण्डारीले बताए। उनले आसन्न महासमिति बैठकमा कसरी प्रस्तुत हुने, विधानलाई कसरी सशक्त बनाउने, पार्टीका नीति तथा कार्यक्रम के हुने भन्नेमा पनि गहन छलफलमा लागेको बताए।

महासमिति बैठक फेरि सर्न सक्ने आशंका बढिरहँदा नेता भण्डारीले विधान अनुसार १ वर्षभित्र महासमिति गर्नुपर्छ। यदि समयमै नभए आफैले सार्छ भने नेतृत्व स्वयं असफल भएको प्रमाण हुने बताए। नेतृत्वले गल्ती गर्छ भने नयाँ नेतृत्वलाई ढोका खोल्ने पनि भण्डारीले स्पष्ट पारे।

Credit : onlinepana.com

पार्टी एकताको कामबारे कार्यकर्ता खुसी हुनेगरि प्रचण्डको नयाँ खुलासा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब पार्टी एकता र सरकारका कामले गति लिने बताएका छन् ।प्रेस सेन्टर र प्रेस चौतारी म्याग्दीले बेनीमा संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले सरकारको काम र पार्टी एकताको गति अब बढ्ने बताएका हुन् ।

‘प्रदेश, जिल्ला र स्थानीय तहसम्मकै एकताको काम सम्पन्न गर्ने गरी गृहकार्य भइरहेको छ,’ उनले भने, ‘एकताको काम केही ढिला भएकै हो, तर कसैले पनि दायाँ–बायाँ गर्न सक्ने अवस्था छैन ।’

मुलुकलाई राजनीतिक स्थायित्वमार्फत विकास र समृद्धि दिन दुई ठूला कम्युनिस्ट पार्टी एक भएको चर्चा गर्दै प्रचण्डले सरकार जनअपेक्षाअनुसार अघि बढ्ने दाबी गरे  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता प्रचण्डले जनताको पक्षमा काम गर्न अनुकूल वातावरण बन्दै गएको बताए । ‘बर्खा र चाडपर्वको समय सकिएको छ, प्रधानमन्त्रीज्यूले पनि मन्त्रालयहरूको प्रगतिबारे अनुगमन थाल्नुभएको छ । विश्वस्त हुनुस्, अब सरकारको गति प्रभावकारी ढंगले बढ्छ,’ उनले भने ।

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले उद्योग व्यवसायको क्षेत्रमा बनेका पुराना ऐनहरू संशोधन नगरी मुलुकमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउन कठिन रहेको भन्दै वर्तमान सरकारले त्यसतर्फ काम गर्ने बताए ।

Credit : onlinepana.com

‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो’

काठमाडौं — नेकपा नेता वामदेव गौतमको संसद्को मार्ग तत्काल बन्द भए पनि सक्रिय भूमिकाका लागि गौतमको प्रयास जारी छ ।

राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन उनले गरेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेको समाचार बाहिरिएको थियो ।

पार्टी र सरकारबाट भूमिका नपाए पनि गैरनाफामूलक कम्पनी खडा गरेर विकास निर्माण अभियान सञ्चालन गर्ने तयारीमा आफू रहेको खुलासा उनले नयाँ पत्रिकाको अन्तर्वार्तामा गरेका थिए ।

आफ्नो प्रस्ताव कन्टेनरमा फालिएको भन्दै असन्तुष्ट गौतमले अन्वार्तामा भनेका थिए, ‘मलाई सांसद् बन्न पार्टीबाटै रोकिएको हो, तर अब डेढ–दुई महिनामा सबै विषय खुलस्त हुन्छ । मैले किन र कस्तो भूमिका खोजेको हुँ भन्ने पनि प्रस्ट हुनेछ ।

तब यसअघि मलाई बदनाम गर्नेहरुले जिब्रो टोक्नेछन्, पश्चात्ताप गर्दै भुटभुटिनेछन्, चोटामा आएर लुटपुटिनेछन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Credit : raranews.com