५ वर्षमा १५ लाख भोट बढाउने गगनको योजना सुनेर देउवा दंग, वाम गठबन्धनमा खैलाबैला

नेपाली काँग्रेसका युवा नेताहरुले विगतको समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा छुट्टै लिखित धारणापत्र प्रस्तुत गरेका छन्।

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको दस्तावेजमा केन्द्रीय सदस्यहरु गगनकुमार थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र जीवन परियारले हस्ताक्षर गरेका छन्। ५१ पुष्ठ लामो प्रस्तावमा पार्टीका विगतका कमजोरी र आगामी दिनमा तत्कालका समात्नु पर्ने बाटोका बारेमा उल्लेख छ।

अब समिक्षा र आलोचनालाई टुंग्याई नेतृत्वले गल्ती स्विकार गर्दै लोकतान्त्रिक मान्यता, वर्तमानको आवश्यकता र जनताको अपेक्षालाई मध्यनजर गरी आगामी बाटो तय गर्नु पर्ने युवाहरुको सुझाव छ। विगतमा काँग्रेसले पाएका जिम्मेबारी पुरा गरेकोमा र कांग्रेसको राजनीतिक विचार र सिद्दान्त विजयी भएकोमा सबै कांग्रेसीले गर्व गर्न पाउने अवस्था हुुनुमा पार्टी नेतृत्व बधाईको हकदार रहेको उनीहरुले उल्लेख गरेका छन्।

“राजनीति जितेर चुनाव हारेका छौं, अब राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं। पार्टी भित्रको नयाँ रक्त संचारले मात्र मतदाताको कांग्रेससंगको तिक्ततालाई सुधार गर्न मद्दत गर्नेछ। अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ बर्षपछिको चुनाव यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाँउमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमत सहितको पहिलो पार्टी बनाउने छौं।”
कांग्रेसले उठाएको विचार र राजनीतिक सोचले राष्ट्रिय राजनीतिमा झन्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टी स्वयंले भने चुनाव जित्न नसक्नु आफैंमा गम्भीर र विरोधाभाषपूर्ण समस्या भएको धारणापत्रमा उल्लेख छ। उनीहरुले तथ्यांक सहित प्रश्न उठाएका छन्, “वि।सं। २०४८ मा ३७।७५ प्रतिशत मत ल्याएको कांग्रेसले यो २६ वर्षमा त्यो मत ५० प्रतिशतमा बढाएको भए आज जुनसुकै दल वा शक्ति मिलेको भए पनि कांग्रेसलाई पराजित गर्ने ल्याकत राख्दैनथे र हामी यति निराश पनि बन्नुपर्ने थिएन। तर त्यस्तो हुन सकेन बरु मत घट्दै गयो किनरु”

२०१५ सालमा ७ प्रतिशत र २०४८ मा ३४ प्रतिशत मत ल्याएका कम्युनिष्टले कसरी २०७४ सालमा आइपुग्दा ४९ प्रतिशत मत ल्याउन सम्भव भयो भन्ने बारेमा पनि दस्तावेजमा केही विश्लेषण उनीहरुले प्रस्तुत गरेका छन्। पार्टीको सिद्धान्त तथा नीति र पार्टीको संगठन यी दुवै विषयमा कांग्रेस अस्पष्ट र अलमलिएको अवस्थामा रहेकाले २०४८ पश्चात कांग्रेसको भोट नबढेको उनीहरुको निश्कर्ष छ। २०४८ पश्चात पार्टी भित्र वैचारिक र सैद्दान्तिक विषयमा कहिं कतै बहस र छलफल नभएकाले पार्टी अस्पष्ट भएको दस्तावेजमा उल्लेख छ।

“एकातर्फ पार्टीले लिएका आर्थिक उदारीकरण जस्ता नीतिगत विषयमा न पार्टीभित्र सैद्धान्तिक बहस भयो, न त मतदाता समक्ष त्यसका सकारात्मक पक्ष र सफलताहरूको बारेमा विश्वास दिलाउन सक्यौं। तर अचम्म लाग्दो के छ भने त्यही अवधिमा आफ्ना सम्पूर्ण सिद्धान्त र मान्यतालाई रुपान्तरण गर्दै र आफुलाई कम्युनिष्ट पनि दावा गर्दै कम्युनिष्ट पार्टीहरूले भने आफ्नो मत ७ प्रतिशतबाट ४९ प्रतिशत पुर्याए।” प्रस्तावमा भनिएको छ।

आफ्नो नीति तथा सिद्धान्त छोडेर काँग्रेसको नीति र सिद्धान्तमा आएर पनि भोट बढाउन सफल कम्युनिष्टहरुलाई सैद्धान्तिक प्रश्न गर्ने क्षमता काँग्रेसले नराखेको उनीहरुले बताएका छन्।

पहिलेदेखि जो कांग्रेस, ऊ मात्र कांग्रेस भन्दै संगठनको ढोका बन्द गरेर बसेकाले संगठन कमजोर भएको सात युवाको ठहर छ। बैचारिक तथा सांगठनिक र व्यवस्थापकीय कमजोरीलाई काँग्रेसको दिर्घरोग भन्दै उनीहरुले त्यही दिर्घरोगको असर र नयाँ संविधान जारी भएपछि नेतृत्व तहबाट भएका त्रुटीहरूका कारण अहिलेको निर्वाचनमा पार्टी पराजीत भएको प्रस्तावमा उल्लेख छ।

पराजयमा एक मात्र कारण नभएको र कुनै एक मात्र व्यक्तिलाई त्यसको दोषी ठहर्याउन नमिल्ने बताउदै युवा नेताहरुले जिम्मेबारी र जस अपसज भने जिम्मेबार व्यक्तिहरुले नै लिनुपर्ने तर्क गरेका छन्। “चुनाव सम्पन्न गरेकोमा जसरी बधाईको पात्र सभापति हुनुहुन्छ, त्यसैगरी चुनावमा भएको हारको पनि पहिलो र सबैभन्दा महत्वपूर्ण जिम्मेवारी पार्टी सभापतिले नै उठाउन पर्छ” दस्तावेजमा भनिएको छ।

उनीहरुले भनेका छन्, “राम्रो कामको श्रेय जति मलाई, बिगारेको कामको दोष जति तिमीहरूलाई भनेर निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी नभएका नेता कार्यकर्तामाथि मात्र औला उठाउनु पार्टीको समुल जिम्मेवारी बोकेर अभिभावकको स्थानमा बसेका व्यक्तिलाई अशोभनीय हुन्छ।”

जिम्मेवारीको भार सबैभन्दा बढी पार्टीको केन्द्रीय सभापतिको नै हो र सबैभन्दा कम पार्टीका गाउँस्तरमा बसेर काम गरिरहेका क्रियाशील सदस्यको हो। त्यसैले यसको जिम्मेवारी लिने साहस पार्टी सभापतिले गर्नैपर्छ भन्नेमा उनीहरुले जोड दिएका छन्।

मुलुक संघीयतामा गएपनि काँग्रेस नगएकोतर्फ ध्यानाकर्षण गराउदै मतदातालाई केन्द्रमा राखेर पार्टीको पुनर्संरचना हुनु आवश्यक रहेको र त्यसका लागि तत्काल महासमिति बैठक बोलाउन माग गरिएको छ। पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक हरेकोमा जोड दिइएको छ। महासमितिबाट नयाँ संगठनिक संरचना र नयाँ नीति स्थापित गरेर शीघ्र महाधिवेशनमा जाने तर्फ बैठकले ठोस निर्णय गरोस् भन्ने आग्रह उनीहरुले गरेका छन्।

“अहिलेको विधान अनुसार जाँदा छिटोमा महाधिवेशन सम्पन्न गर्न थप दुई वर्ष लाग्छ। ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार बनिसक्यो, क्षेत्र १६५ छ, ३३० प्रादेशिक क्षेत्र छ, वडाहरु नयाँ बनेका छन। संविधानले ६ हजार बढी स्थानीय संरचना बनाएको छ, ती सवै ठाउमा नयाँ समिति बनाउनु पर्छ, तदर्थ समिति बनाएर चलाउन थाल्यौ भने पार्टीलाई नवजीवन दिन सक्दैन थप क्षति मात्र हुन्छ। त्यसैले महासमिति वैठकबाट संसोधित विधान पारित गरि शीघ्र महाधिवेशनमा जानुको विकल्प छैन,” प्रस्तावमा उल्लेख छ।

प्रस्तावको अन्त्यमा भनिएको छ, “राजनीति जितेर चुनाव हारेका छौं, अब राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं। पार्टी भित्रको नयाँ रक्त संचारले मात्र मतदाताको कांग्रेससंगको तिक्ततालाई सुधार गर्न मद्दत गर्नेछ। अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ बर्षपछिको चुनाव यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाँउमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमत सहितको पहिलो पार्टी बनाउने छौं।”

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.