‘३२ घरले आजैदेखि सिलिन्डरका डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन्’: प्रधानमन्त्री

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजनाको उदघाटन गरेर अब नेपालमा ‘सिलिन्डर युगको अन्त्य’ को क्रम थालनी भएको भन्दै यो प्रक्रिया पूरा हुने निश्चित भएको दावी गरेका छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा केन्द्र र विराटनगर महानगरपालिकाको सहयोगमा करिव १ करोड रुपैयाँको लगानीमा श्रीकृष्ण गौशालामा प्लान्ट स्थापना गरिएको हो ।

गौशालामा पालिएका गाईहरूबाट दैनिक संकलन गरिएको गोबरलाई ३ सय घनमिटरको प्लान्टमा हालेर मिथेन ग्यास उत्पादन गरी ट्यांकीमा स्टोर गरेर पाइपलाइनबाट घरघरमा पुर्‍याइएको छ । मञ्चमा टेबलमाथि राखिएको चुलोमा खिटिक्क ‘स्विच अन’ गरेर परियोजना उदघाटन गरेपछि प्रधानमन्त्री ओलीले भने– ‘मैले भनेको थिएँ, काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युगको अन्त्य हुनेछ, ३२ घरले आजैदेखि डल्ला फ्याँके, अब अरूले पनि फ्याँक्छन् ।’

तर, गोबरग्यास प्रविधि प्रधानमन्त्रीले दाबी गरेजस्तै नेपालमा नौलो भने होइन । मुलुकभर अहिलेसम्म ४ लाख २० हजार परिवारले गोबरग्यास प्लान्ट जोडिसकेका छन् । अझ मुलुकमा बायोग्यासको सुरुआत भएको ६३ वर्ष र परियोजनाकै रुपमा गोबरग्यास प्रवर्द्धनको ३ दशकभन्दा बढी भइसकेको छ ।

‘मुलुकभर हिमालदेखि तराईसम्मका घरपरिवारमा गोबरग्यास प्लान्ट जोडिएको छ, त्यसबाट ठूलो जनसंख्याले स्वच्छ ऊर्जा प्राप्त गरेको छ’– वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत प्रकाश अर्यालले बताएको खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.