हरिलाई सरकारले हेरेन : ‘राष्ट्रले नहेरे पनि खेलाडीले सम्मान गरिरहेकामा खुसी छु’

देशका लागि थुप्रै अन्तर्राष्ट्रिय पदक भित्र्याएका धावक हरिबहादुर रोकाया अहिले अस्पतालको शय्याबाट बाहिर आएका छन् । अन्तर्राष्ट्रिय धावक एवं प्रशिक्षक रोकाया असार ६ गते प्रशिक्षण दिँदादिँदै एक्कासि हातखुट्टा नचलेर ढलेका थिए । उनको राजधानीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

‘देश चिनाउन खेल खेलियो तर देशले मलाई चिनेन,’ उनी अस्पतालको शय्याबाट गुनासो गरिरहेका छन्, ‘नेता बिरामी भएको भए विदेशमा उपचार हुन्थ्यो होला तर मलाई संघीय सरकारले वास्ता गरेन ।’

रोकाया एथलेटिक्समा वल्र्ड रेकर्ड कायम गरी गिनिज बुकमा समेत नाम लेखाउन सफल खेलाडी हुन् । उनलाई भेट्न राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टबाहेक कुनै सरकारी अधिकारी पुगेका छैनन् । वर्षौंदेखि कर्णालीमा खेलाडी उत्पादन गरे पनि आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ । उनको उपचारका लागि कर्णाली प्रदेश सरकारले एक लाख र चन्दननाथ नगरपालिकाले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

रोकायाले कर्णालीका खेलाडीलाई सन्तुलित भोजन नपुग्ने भएकाले अभ्यासमा समस्या भएको बताए । उनको पनि खानपानमा सन्तुलन नमिल्दा समस्या भएको चिकित्सकले बाएका छन् । ‘खेलाडीले चिया र दुनोट खाएर दौडिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘खेलाडीको पोषणका लागि सरकारले ध्यान दिनुपर्ने हो, त्यसो हुन सकेको छैन ।’ राष्ट्रले सम्मान नगरे पनि खेलाडीले सम्मान गरिरहेकामा खुसी लागेको रोकायाले बताए ।

प्रशिक्षण दिँदादिँदै बिरामी परेकाले रोकायाको स्नायु प्रणालीमा कमजोरी देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ‘उहाँको खानपानको सन्तुलन नमिल्दा रोगसँग लड्ने क्षमता कमजोर बनेपछि स्नायु प्रणालीमा समस्या आएको हो,’ डा।नवीन थापाले भने, ‘निमोनियाँ र डायरिया भएको खण्डमा नसा हानेर समस्या हुन्छ ।’ डा।थापाका अनुसार नसामा कीटाणुले संक्रमण गरेकाले फिजियोथेरापी भइरहेको छ । रोगसँग लड्ने क्षमता बढाउन औषधि प्रयोग भइरहेको उनले बताए ।

धावक रोकायालाई सहानुभूतिबाहेक केही दिन नसकेको प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतले बताए । ‘जुम्लाजस्तो विकट ठाउँमा जन्मेर नेपाललाई नै विश्वसामु चिनाए तर कर्णालीको भनेर सरकारले बेवास्ता गर्‍यो,’ उनले भने । उनले रोकायाको स्वास्थ्यप्रति संवेदनशील बन्न संसद्बाटै सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।

रोकायाले जुम्लाको सिमाचौरमा दुई दर्जन बढी खेलाडीलाई एथलेटिक्स प्रशिक्षण दिँदै आएका थिए । धावक रोकायाले उत्पादन गरेका आधा दर्जनभन्दा बढी खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलमा भाग लिइसकेका छन् । रोकाया बिरामी परेपछि आफूहरूले अभ्यास गर्न नसकेको खेलाडी मधु न्यौपानेले बताए  janatatimes.com

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.