सम्झनामा बैशाख १२ २०७२ साल

 

 

 

 

 

 

 

 

 

 

 

 

 

१२ बैशाख ०७२ मध्याह्न १२ बज्न ४ मिनेट बाँकी हुँदा आएको ७.६ रेक्टरको भू–कम्प । यो भूकम्पका कारण मुलुक अस्तव्यस्त र तहसनहस छ । उपत्यकासहितका केही जिल्लाहरू ठूला सङ्कटमा छन् यतिबेला । यस महाबिपत्तिले नेपालको ठूलै धनजनको क्षति गरेको छ ।

म काठमाडौँमा बिगत एक दशकदेखि डेरा गरेर भविष्य खोज्दै छु । लगभग एक शताब्दिपछि सिर्जित यस महाबिपत्तिको दिन म मेरो डेरामै थिएँ । शनिबार भएकोले कतै गएको थिइनँ । साँझ् आमाको फोन आयो, ‘भोलि नै काठमाडौँ छोड् ।’
अचम्म मान्दै फोन राखेँ । आमासँग अरू केही कुरा गरिनँ ।

म काठमाडौँ आउँदा न त मेरो जन्मथलोले रोक्यो न त आफन्त नाता गोताले । काठमाडौँले मलाई बास दियो, पढ्नेलेख्ने र सम्पन्न बनाउने आश दियो । भोक लाग्दा खाना दियो, चिसो हुँदा नाना दियो र एक्लो हुँदा साथ दियो । मेरा आफन्तहरूले मलाई फुटेको आँखाले पनि हेरेनन् दुःखको बेला ।

आज म बाहिरबाट हेर्दा सम्पन्नजस्तो छु । आफन्तहरू मेरो डेरा खोजीखोजी आउँछन् । भए दाल भात खान्छन्, नभए पानी खाएर चित्त बुझउँछन् ।  तर, आज मेरो कर्मभूमि काठमाडौँ ठूलो दुःखमा छ । दुनियाँ आज काठमाडौँदेखि भाग्दै छ । सुविधा सम्पन्न हुँदा सबैको रोजाइ काठमाडौँ थियो । सबैले छोराछोरी यहीँ राखेका थिए । सक्नेका घर छन् नसक्नेका डेरा ।

चामलमा दुई रूपैयाँ बढ्दा जुलुुस गर्ने जमात कता गयो ? पेट्रोल चाहियो भन्दै सडक अवरुद्ध गर्ने राजनीतिक दल र युवाहरूका झुण्डहरू कता गए ? यो देशको नुन खाएर सरकारी पोशाकमा सिंहदरबार छिर्ने कर्मचारी कता हराए यो महाबिपत्तिमा ? काठमाडौँलाई आज ती कर्मभूमि बनाएकाहरूको आवश्यकता छ । तर, बिडम्बना जो–जो काठमाडौँमा थिए, सबैले राजधानी छाडेको हल्ला छ जताततै ।

धरहरा काठमाडौँको सान थियो र बसन्तपुर काठमाडौँको इज्जत थियो । महाबिपत्तिका कारण रहेनन् । असङ्ख्य साथीभाइ गुमाएको छ आज काठमाडौँले । तपार्ईंं हामीलाई जन्मभूमिले के दियो ? एकपल्ट आफ्नो कोठामा छिरेर हेर्नुहोस् । केके दिएको छ काठमाडौँले तपार्ईंं हामीलाई । सुन्छु केही संस्थाहरूले निःशुल्क आफ्नो जिल्लाका नागरिकहरू घर लैजाने भए रे । चिनेजानेकाहरूले पनि गाडी बुक गरे । वरपरका छिमेकीहरू पनि कता हराए ।

बसपार्कमा ठूलो भीड छ कलङ्कीमा झन धेरै भएको सुन्नमा आउँछ । एउटा मोटरसाइकलमा चारजना चढेर भए पनि गए छन् मित्रहरू ।
कति स्वार्थी दुनियाँ ? जति बेला काठमाडौँले हामीहरू सबैका आवश्यकता पूरा गरेको थियो, त्यति बेला हामीहरूले गाउँघर आफन्त सबैलाई बिर्सेर बसेका थियौँ । एक वर्षमा एकपल्ट पनि गाउँ जाने जाँगर चल्दैनथ्यो । आज काठमाडौँलाई सङ्कट हुँदा गाउँतिर भागे । यो भगाइ सधैँका लागि हो कि केही समयका लागि ? हामी सबैले यो प्रश्नको उत्तर दिनुपर्छ काठमाडौँलाई ।

अस्पतालभरि लास छन् । खाली चौरमा बास छ । कसैले अभिभावक गुमाएका छन्, कसैले प्यारो सन्तान । धेरै दिदीबहिनीहरूको सिन्दूर पुछिएको छ । यस महाबिपत्तिले कतिको कोख खालि गरिदिएको छ । कसैले गुमाएका छन् जीवनभरि कमाएर बनाएको घर । परिवार पुरिएका छन्् आफ्नो घर वा डेरामै ।

यस्तो अवस्थामा मेरो भविष्य भएको सहरलाई कसरी छोडौँ ? उपत्यकाबाहिर भएका नातागोताको फोन आइरहन्छ । भन्छन्, ‘छिटो काठमाडौँ छोड ।’ मसँग उनीहरूको प्रश्नको उत्तर छैन । कोठाभित्र जान्छु । खानलाई एकसरो भाँडाकुँडा । सुत्नलाई कपडा । किताब । र, पेट काटेर किनेका कम्प्युटर र मोटरबाइक देख्छु । झ्न काठमाडौँको माया लागेर आउँछ ।

सिरानीमुनि मार्कसिटका चाङ छन् । निकै वर्ष लगाएर आर्जेका मेरा यी थोरै सम्पत्ति देख्दा मन खिन्न हुन्छ । बाहिर चौरमा पाल हालेर सुतेका करोडपति देख्छु दया लाग्छ । काभे्र, सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लाको अवस्था देख्दा मन बेचैन हुन्छ । रिगाँटा लाग्छ । थच्च चौरमा बस्छु । कोठाभित्र जाने हिम्मत छैन ।

पीडितको अवस्था देख्दा र सुन्दा आँखाबाट बर्खे भेलसरि आँसु बग्छन् । काठमाडौँसहित छिमेकी जिल्लाहरूको दयनीय अवस्था देख्दा सरकारलाई सराप्न मन लाग्छ । लाखौँ जनता विस्थापित भएका छन् । हजारौँ घरबारविहिन । तपार्ईंं हामी सबैलाई त्यही गाउँको पूरानो घर प्यारो भएको छ आज आएर ।

पीडित क्षेत्रका साथीभाइ आमाबाहरू सबै भोकैनाङ्गै छन् । तर, हामी भने गाडी बुक गरेर गाउँ जाँदै छौँ ।
कता हराए सुन्धारामा मम खाने जोडीहरू ? न्युरोड र असनका व्यापारी कता होलान् ? बसपार्क र कलङ्कीमा होटेल सञ्चालन गर्नेहरू कहाँ हराए यो महाबिपत्तिमा । १२ गतेको महाबिपत्तिमा परेका १६ हजार घाइतेले प्रभावित जिल्लाभरिका अस्पताल भरिभराउ छन् । लास जलाउन घाटमा लाइनमा बस्नुपर्छ ।

गोरखा, सिन्धुपाल्चोक, धादिङ र रसुवामा हजारौँ नागरिकहरू गाँसबासविहिन छन् । उनीहरूलाई पानी पर्दा बस्ने बास र भोक लाग्दा खाने गाँसको व्यवस्था कसले गर्ने ?  तपार्ईंं हामी भने सामाजिक सञ्जाल ट्विटर र फेसबुकका भित्तामा सहानुभूतिका केही शब्द लेखेर आफ्नो जिम्मेवारीबाट पन्छिरहेका छौँ ।

सधैँ भीडभाड हुने काठमाडौँ सहर आजभोलि सुनशान र शान्त छ । अरू बेला प्रशस्तै भेटिने साथीहरू आजभोलि भेटिँदैनन् । तीस–चालीस लाख मानिसहरूको बासस्थान भएको यो उपत्यका पन्ध सय दुईहजार नागरिकले ज्यान गुमाउँदा किन डरायो ? अरू बेला सबै सन्तुष्ट नै थिए । आज किन असन्तुष्ट भएर गाउँतिर लागे ?

साँझ्को खाना चाउचाउ खाएँ । र, त्रिपालभित्र पल्टिएँ । निन्द्रा नै परेन ।
काठमाडौँबासीहरूको आज पूरै त्रिपालको बासमा छ । त्यत्ति नै बेला ससुरालीतिरबाट फोन आयो । ‘उठाउन मन थिएन । यत्रो बिपत्तिमा पनि फोन नउठाउने ?’ भनेर दुःख मान्छन् कि भनेर फोन उठाएँ । जसरी हुन्छ काठमाडाँै छोड्नुप¥यो । त्यसलगत्तै मेरा धेरै मित्राहरूको फोन आयो । सबैको एउटै भनाइ थियो, ‘छिटो भन्दा छिटो काठमाडौँ छोड्नु राम्रो होला ।’

मित्रहरूदेखि निकै रिस उठ्यो । तर, जवाफ फर्काउन मन लागेन । त्रिपालमुनिको बास छ । पेटमा चाउचाउ । यस्तो कल्पनासम्म गरेका थिएनन् होला सायद काठमाडौँबासीले । गाडी हुनेहरू गाडीमै सुते ।
प्रत्येक व्यक्तिबाट काठमाडौँ छोड्ने अभिव्यक्ति सुनिन थाल्यो ।
मलाई भने ती पूराना दिन आँखाअगाडि नाच्न थाले । जतिबेला म काठमाडौँ आएँ त्यति बेला देशमा शान्ति प्रक्रिया सुरु हुँदै थियो । देशले राजनीतिक निकास पाउला भन्ने आशा आम नेपालीमा पलाएको बेला थियो ।

म विभिन्न सपना देखेर खालि हात काठमाडौँ पसेको थिएँ । काठमाडौँ सहर मजस्ता धेरै नेपालीको सपनाको सहर थियो । संविधानसभाको निर्वाचन हुने निश्चित हुँदै थियो । राजनीतिक दलहरू धेरै वर्षपछि गाउँ फर्केका थिए । संयुक्त सरकार थियो ।
मैले यो समयमा वैरागलाग्दो गरी पार गरेँ । दुःखका माझ् गुज्रिएँ । त्यसबीचमा मैले साँझ् बास बस्ने सामान्य कोठा र खानलाई एकसरो भाँडाको व्यवस्था गरेँ । मेरो यो छ–आठ वर्षको कमाइ मात्र यति थियो ।

चौर खुल्ला । बास पालको छ । कोठाको सम्झ्ना आयो । निकै दुःख गरेर जम्मा गरेका कोठामा भएका सरसामानको एक–एक गरी याद आयो । बिपत्ति आयो कस्लाई दोष दिने ? उद्धार र राहत नपाउँदा सरकारलाई दोष नदिए कसलाई दिने ?
बेला बेलामा जाने भू–कम्पका कम्पनहरूले झ्स्काउँछन् । रात चिसो छ । पानी आउलाजस्तो गर्छ । विदेशी उद्धारकर्ताहरू काठमाडौँ आएका छन् । नेपाली युवाहरू उद्धार गर्नुको साटो घर जाने टिकट नपाएको भन्दै आन्दोलन गरिरहेका खबर सुनिन्छन् ।
–––
सरकारले पीडितलाई एक गाँस भात र बस्नलाई त्रिपालको व्यवस्था गर्न सकेको छैन । धेरैजसो साथीहरूले काठमाडौँ छोडिसकेको खबर छ । चिनेजानेका आफन्तहरूबाट माहामारी फैलने डर भएको सुन्नमा आउँछ । श्रीमती आत्तिएकी छन् ।
मलाई किन हो किन काठमाडौँको औधी माया लागेको छ । काठमाडौँले मलाई धेरै कुरा दियो दुःखमा हुँदा । तर, आज काठमाडौँ ठूलो दुःखमा छ । मसँग केही पनि छैन सहयोग गर्ने यतिबेला ।

मलाई यो सहर छोड्न दबाब छ सबैतिरबाट । आज मेरो जीवनमा जे–जे उपलब्ध छन् सब काठमाडौँले दिएको हो । आमा र जन्मभूमिले जन्माए–हुर्काए । तर, बढाउने र पढाउने काम काठमाडौँको हो । आज महाबिपत्ति आएको बेला म कसरी काठमाडौँलाई छोडेर बाटो लागूँ ? गन्तव्य देख्दिनँ कतै ।

लेख रारा न्युज डटकमका सम्पादक हुन

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.