उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले सरकारले हरेक नेपालीलाई जलविद्युतको शेयर पर्याप्त रुपमा उपलब्ध गराउने जानकारी दिएका छन् । दोलखा जिल्लावासीलाई शेयर वितरण सम्बन्धी शुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पुनले जनताको पानी जनताको लगानी” भन्ने नारा अनुसार नै सरकारले हरेक नागरिकलाई पुग्यो भन्दा पनि धेरै भयो भन्ने हिसाबले जलविधुतको शेयर उपलब्ध गराउने बताए ।
मन्त्री पुनले डुब्ने भन्दा पनि राम्रो कम्पनीको शेयर जनताका लागि व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका छन् । बहुचर्चित माथिल्लो तामाकोशी जलविधुत आयोजनाले उर्जा अभाव तत्काललाई टार्ने मन्त्री पुनको भनाई रहेको छ । मन्त्री पुनले देश समृद्धिको यात्रामा रहेकाले समृद्धिको आधार जलविधुतलाई लिएको उल्लेख गर्दै शेयर अभियानलाई–गाउँ–गाउँमा पु¥याउन जनप्रतिनिधिलाई आग्रह पनी पनि गरेका छन् ।
माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा आजदेखि दोलखाबासिका लागि शेयर आवेदन खुल्ला गरिएको छ । तामाकोशी आयोजनामा आजदेखि भदौ १४ गतेसम्मका लागि शेयर आवेदन खुल्ला गरिएको हो । माथिल्लो तामाकोशी आयोजनामा दोलखाबासिका लागि कुल १ अर्व ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काषण भएको छ ।
आयोजनामा सबै दोलखाबासिले न्युनतम ३० देखि ३ सय कित्ता सम्म सेयर हाल्न पाउने छन् । शेयर बाँडफाँडका लागि दोलखाबासीलाई ३ वर्गमा छुट्याईएको छ । जिल्लाको साविक लामावगर र गौरीशंकर गाविसलाई क वर्ग कायम गरिएको छ भने साविक ओराङ, बुलुङ, खारे, लादुक, लामिडाँडा, सुनखानी, सुन्द्रावती, सुस्पाक्षमावती, नाम्दु, गैरीमुदी, भिरकोट, जफे, मालु, शहरे र भीमेश्वर नगरपालिकाको साविक वडा नम्वर १, २, ३, ४ र ७ लाई ख वर्ग तोकिएको छ ।
भीमेश्वर नगरपालिकाको साविक ५, ६, ८, ९, १०, ११, १२ र १३ नम्वर वडा र जिरी नगरपालिका सहित जिल्लाका बाँकी सबै गाविस ग वर्गमा परेका छन् । ‘क’ बर्गमा पर्ने बासिन्दाका लागि हरियो, ‘ख’ बर्गमा पर्ने दोलखावासीका लागि निलो र ‘ग’ बर्गमा पर्नेहरुका लागि कालो रङ्गको शेयर आवेदन फाराम तयार पारिएको छ।
Credit : raranews.com
