फाँसिष्ट र निरंकुश शैलीमा दिन दाहाडै आफ्ना नेता , कार्यकर्ता र शुभचिन्तकमाथी सरकारले गरेको धरपकड ,गिरफ्तारी र वेपत्ता जस्ता गैरकानूनी क्रियाकलाप गरेको भन्दै २२ गते नेपाल बन्दको घोषणा गरेको छ ।
नेकपाका महासचिव विप्लवले वैशाख १४ गते एक वक्तव्य जारी गर्दै आफ्नो पार्टीका नेता कार्यकर्तामाथि वर्तमान सरकारद्वारा देशभरी गरिएको दमन, कार्यकर्ता बेपत्ता र गिरफ्तारीको विरुद्ध विभिन्न कार्यक्रम सहित नेपाल बन्दको घोषणा गरेका छन् ।
वक्तव्यमा भनिएको छ “वर्तमान केपी—पीके गठबन्धन सरकार दिनदिनै फासिस्ट बन्दै गइरहेको छ । आफूलाई कम्युनिस्ट भनेर जनतामा भ्रम छरिरहेको यो सरकारले जनताको संघर्षबाट प्राप्त सीमित अधिकारहरु पनि खोस्दै गइराखेको छ । विचार राख्ने, सभाजुलुस गर्ने अधिकारमाथि पनि प्रतिबन्ध लगाउँदै गएको छ, भनें भ्रष्ट्राचारी, कालोबजारी, राष्ट्रघातीहरुको संरक्षण गरिरहेको छ ।
भ्रष्टाचार, कालोबजारी, राष्ट्रघातको विरोध गर्ने जनता हाम्रो पार्टीका नेता र कार्यकर्ताहरुलाई घरमा बसिरहेको, सांगठनिक काममा लागेको बेला, भेला सम्मेलन गर्दा गिरफ्तार गरेर बेपत्तासम्म पार्ने काम यो सरकारले गरिराखेको आरोप सहित सरकारका यस्ता रवैयाको हाम्रो पार्टी घोर भत्र्सना गर्ने जनाएको छ ।
यस्तै केपी सरकार बनेदेखि हाम्रो पार्टी, जनवर्गीय संगठनमाथि व्यापक दमन गरिरहेको तर भ्रष्टाचारलाई कार्वाही गर्नुको साँटो उल्टै उनीहरुलाई संरक्षण गरिरहेको र देशमा राष्ट्रघात भैराखेको साथै गत बुधबार मात्र पनि कञ्चनपुरको बिचफाँटामा भारतीय एसएसबीले नेपाली जमिन अतिक्रमण गरिरहेको छ । त्यसप्रति सरकार मौन रहेको र केपी सरकार बनेदेखि संकटकाललाई बिर्साउँदै १२ जनाभन्दा बढि हाम्रा कार्यकर्तालाई बेपत्ता पारेको वक्तव्यमा उल्लेख गरेको छ ।
हाम्रो पार्टीका केन्द्रीय सदस्य किरण राई, युवा संगठनका अध्यक्ष बाबुराम राई, महिला संगठनका महासचिव धिरेन्द्रा उपाध्याय, जिल्लाका प्रमुखहरु, यहाँसम्म कि पढाइरहेका शिक्षकहरुलाई समेत गिरफ्तार गरेर मुद्दा लगाएको छ । राज्यको यी हर्कतहरुका विरुद्ध हाम्रा लागि प्रतिरोध अनिवार्य हुन गएको छ । त्यसैले यही वैशाख २२ गते नेपाल बन्दको आयोजना गरिएको छ ।
विगतमा जस्तै यस पटकको बन्दमा पनि सबै न्याय प्रेमी, देशभक्त, प्रगतिशिल र वामपन्थी शक्तिहरुमा सहयोग, समर्थन, ऐक्यबद्धताको अपेक्षा राख्दछौं ।” विज्ञत्तीमा भनिएको छ ।
Credit : janasanchar.com
