Warning: Declaration of Facebook\InstantArticles\AMP\AMPArticle::render($doctype = '/home/sanilcom/news.sanil.com.np/wp-content/plugins/fb-instant-articles/vendor/facebook/facebook-instant-articles-sdk-extensions-in-php/src/Facebook/InstantArticles/AMP/AMPArticle.php on line 38
वन्यजन्तु सप्ताहमा चरा अवलोकन

प्रदेश ७

वन्यजन्तु सप्ताहमा चरा अवलोकन

By sonill

April 16, 2018

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरु भएको २३औँ वन्यजन्तु सप्ताहका क्रममा चरा अवलोकन कार्यक्रमको आयोजना गरिएको छ। चरा अवलोकनमा नेचर गाइड र निकुञ्जका प्राविधिकको सहभागिता रहेको थियो।

अवलोकनका क्रममा चराको बासस्थान, आहारा र अवस्थाबारे जानकारी दिइएको निकुञ्जका निमित्त मुख्य संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताए । निकुञ्ज क्षेत्रमा  आहारा, सुरक्षा र गुड लगाउनका लागि प्रयाप्त स्थान भएकाले चराको संख्या प्रतिवर्ष बढदो रूपमा रहेको उनले बताए।

अधिकृत घिमिरेका अनुसार निकुञ्जमा दुर्लभ प्रजातिका सारस, खरमजुर, सीम तित्रा र विश्वकै दुर्लभ मानिएको लेसर भुँडीफोर चरा यहाँ पाइने गरेको छ। निकुञ्जको रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा चराको चहलपहल बढी हुने गरेको छ।

निकुञ्जमा ५८ प्रजातिका तीन हजार ६ सय ४१ जलपक्षी रहेको केही महिनाअघि विशेषज्ञको टोलीले गरेको अध्ययनले देखाएको छ। नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये शुक्लाफाँटामा चार सय २४ प्रजातिका चराहरू पाइने गरेका छन्।

यसैगरी, सप्ताहका क्रममा बाह्र–सिंगाको अनुगमन गर्ने कार्यक्रमसमेत रहेको अधिकृत घिमिरेले जानकारी दिए। निकुन्जमा तीन हजार एक सय ७० वटा बाह्रसिंगा रहेको अनुमान छ। साथै, निकुञ्जले चोरीसिकारी नियन्त्रणसम्बन्धी अन्तरक्रिया गर्ने कार्यक्रम तय भएका छ।

‘मंगलबार चोरी सिकारी नियन्त्रण समितिका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत राखेका छौँ’ उनले भने। आरक्षबाट निकुञ्जमा परिणत निकुञ्जको क्षेत्रफल तीन सय पाँच वर्ग किलोमिटर रहेको छ।

महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुन आएका फाँटाहरू, धाप र सीमभूमि यस निकुन्जको प्रमुख विशेषता हो। निकुन्जका कारण नेपालको पश्चिमी तराईंमा पाइने वन्यजन्तु तथा चराचुरुंगीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ।