राष्ट्रवादको भर्‍याङ चढेर सत्तामा पुगेका वाम गठबन्धन कता हराए सीमा अतिक्रमण हुँदा ?

बिचफाँटा । हिजो काँग्रेस सरकारमा हुँदा चर्को राष्ट्रवादीको नारा लगाई यस क्षेत्रबाट चुनाव जितेका  वामगठबन्धनका मन्त्री र सांसदहरु सीमानामा भारतले अतिक्रमण गर्दा कता हराए अब जनताले जवाफ खोज्नु पर्ने नेपाली काँग्रेसका नेता तथा पुर्व सांसद दिवानसिह बिष्टले बताएका छन् ।

बिहिबार कञ्चनपुरको पुनर्वास स्थित बिचफाँटामा भारतीय एसएसबीले भत्काएको तारवारको अनुगमनमा पुगेका नेता बिष्टले नेपाली काँग्रेसद्वारा आयोजित कोण सभालाई सम्बोधन गर्दै सीमामा भारतीय एसएसबीले ज्यादती गर्दा सम्म सरकार र मन्त्री सांसद मौन रहनु लज्जास्पद भएको बताए ।

ठूलो संख्यामा कार्यकर्तासहित भारतीय एसएसबीले हस्तक्षेप गरेको सीमा क्षेत्रको स्थलगत अबलोकन पश्चात् नेपाली काँग्रेसद्वारा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बिष्टले भने ‘गत वर्ष आनन्दबजारमा एसएसबीको ज्यादती र गोली प्रहारबाट सहिद भएका गोबिन्द गौतमलाई २४ घन्टा भित्र सहिद घोषणा गरि सरकारको गृहमन्त्रीलाई आनन्दबजार र सहिदको घरमा पठाउँदा समेत सरकारले केही गरेन भन्नेहरु आज सरकारमा छन् तर बिचफाँटामा एसएसबीको आतंकबाट राष्ट्रको स्वाभिमानमा चोट पुगेको आज ८ दिन भए पनि केन्द्र, प्रदेशका सरकारका मन्त्री तथा सभाषदहरु स्थलगत निरिक्षणमा आउनु त परै जाओस् एउटा बिज्ञप्तीसम्म निकालेर भारतीय उक्त कदमको निन्दा गरेका छैनन् ।’

बिचफाँटामा आयोजित सभामा बोल्दै उनले भने ‘हिजो राष्ट्रवादका उखान र भाषण गर्ने वामपंथीको केवल सत्तामा पुग्न जनतालाई ढाँट्ने जुक्ति मात्रै सावित भयो ।’

कोण सभामा बोल्दै काँग्रेस नेता बिष्टले भने ‘हामी हाम्रा दुई छिमेकी राष्ट्रसंग राम्रो सम्बन्ध बनाउन चाहन्छौं तर सीमा अतिक्रमण र ज्यादतीका विरुद्ध अब काँग्रेस चुप लागेर बस्ने छैन ।’

उनले भने, ‘प्रदेश राजधानी भन्दा पुग नपुग २५ किमिको दुरीमा रहेको बिचफाँटामा एसएसबीले हस्तक्षेप गरेको आठ दिनसम्म पनि मुख्यमन्त्री चुप किन छन् ? यसै क्षेत्रबाट निर्वाचन जितेकि मन्त्री किन चुप छन अब जनताले जवाफ माग्नु पर्दछ ।’

नेता बिष्टले अगाडि थपे, ‘नेपाली काँग्रेस जनता लडाउन चहान्न सीमा रक्षाका लागि सरकार लड्नु पर्छ । अब काँग्रेस सरकारलाई सचेत बनाउने महाअभियानमा होमिने छ ।’

उनले भने, ‘नेपाली स्वाभिमानमा आँच पुग्ने गरि एसएसबीले गरेको हस्तक्षेपका विरुद्धमा सरकारमा बस्नेहरुको बिज्ञप्तीसम्म नआउनु दुःखद र निन्दनीय छ ।’

बिहिबार पुनर्वासको बिचफाँटामा आयोजित  कोणसभामा बोल्दै नेता बिष्टले भने ‘यतिका दिन हुँदा पनि सरकारका मन्त्री आउनु त परै जाओस उच्च पदस्थ कर्मचारीलाई समेत अनुगमन र निरीक्षणमा नपठाउनु बिडम्बना हो ।’

सीमामा भएको भारतीय हस्तक्षेपका विरुद्ध काँग्रेसले बिहीवार आयोजना गरेको कोणसभामा कञ्चनपुर काँग्रेस नेता गोपाल गुरुङ, तोयप्रसाद शर्मा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.