राजनीतिक स्थायित्वका लागि वाम एकता

दुई वाम दलबीचको एकता प्रक्रिया लम्बिँदै जाँदा एकतामा अनेक आशङ्का उब्जिए पनि वाम विश्लेषकले भने राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि वाम एकता अनिवार्य रहेको बताउनुभएको छ ।

गएको असोज १७ गते पार्टी एकता गर्ने गरी वाम गठबन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच सातबुँदे सहमति भएको थियो । त्यसपछि यही वैशाख ९ गते भव्य कार्यक्रमसहित पार्टी एकता घोषणा गर्ने तयारी भए पनि त्यो मिति पर सरेको छ । अब पार्टी एकताको घोषणा वैशाख २२ गते कार्ल माक्र्स जन्मेको दिन गर्ने तयारी दुवै दलले थालेका छन् ।

दुई दलको एकता यसअघि प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि चैत २१ गते नै गर्ने तयारी गरिएको थियो तर त्यस बेला पनि एकता प्रक्रियाको गृहकार्य पूरा हुन नसकेपछि एकता घोषणा हुन नसकेको बताइयो । त्यसपछि कार्यदलले सिफारिस गरेअनुरूप कम्युनिस्ट पार्टी स्थापना भएको दिन वैशाख ९ गते (अप्रिल २२) गर्ने तयारी दुवै दलको थियो ।

अब कार्ल माक्र्सको जन्मदिन वैशाख २२ गते पार्टी एकता घोषणा उपयुक्त हुनसक्ने आकलन वाम नेताहरूको छ । त्यस दिन माक्र्स जन्मेको दुई सय वर्ष पुग्ने र सो दिन पार्टी एकता घोषणाको उपयुक्त समय हुने कार्यदलका सदस्य तथा एमाले नेता वेदुराम भुसाल बताउनुहुन्छ ।

कार्यदलले आगामी पार्टीको चुनाव चिह्न र माओवादीद्वारा प्रस्तावित ‘जनयुद्ध’ शब्दमा सहमति नजुटाई नै प्रतिवेदन दियो । सो विवादित विषय मिलाउन कार्यदलले निकै गृहकार्य गरेको थियो । कार्यदल बैठकले मिलाउन नसकेपछि एमाले महासचिव तथा कार्यदलका सदस्य ईश्वर पोखरेल र संयोजक थापालाई सहमति गर्ने अख्तियारी दिएको थियो ।

एक सातासम्म दुईजना नेताले गृहकार्य गर्दासमेत सहमति जुट्न नसकेपछि विवादका विषय जस्ताको तस्तै पार्टी एकता संयोजन समिति अर्थात् दुई अध्यक्षको नेतृत्वको समितिमा पठाउने निक्र्योलमा कार्यदल पुग्यो । त्यहीअनुरूप अहिले दुई दलका अध्यक्ष सहमतिको प्रयासमा लाग्नुभएको छ ।

समृद्धिका लागि एकता

वाम विश्लेषक मुमाराम खनाल दुई पार्टीको एकता मुलुकका लागि आवश्यक भएकाले ढिलोचाँडो पार्टी एकता हुनेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ । मुलुकको समृद्धि हासिल गर्न राजनीतिक स्थायित्व अनिवार्यजस्तै रहेको बताउँदै उहाँले अहिलेको राजनीतिक परिवेशले त्यसको झलक दिइरहेको छ भन्नुभयो ।

“वाम एकता नहोस् भन्न चाहने पनि तमाम होलान् तर मुलुकको आर्थिक विकास र समृद्धिका लागि दुई दलको एकता अनिवार्य छ, दुई अध्यक्षहरू आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । “नेपाली वामपन्थी नेताहरू बढी व्यक्तिवादी छन्, यो सबैलाई थाहा छ तर उनीहरूले चाहेमा मुलुक बनाउन पनि सक्छन्”, विश्लेषक खनालले भन्नुभयो, “प्रतिशतमा समानताको कुरा माओवादीको बार्गेनिङ मात्र हो, अन्ततः ६०–४० मा कुरा मिल्ने म देख्छु । ”

अर्का वाम विश्लेषक श्याम श्रेष्ठले पार्टी एकता मुलुकको आवश्यकता भए पनि नेताहरूको व्यवस्थापनले एकतामा आशङ्का उब्जाएको बताउनुभयो । “पहिलो पार्टीको सैद्धान्तिक र वैचारिक विषयलाई टुङ्गो लगाएर एकता प्रक्रिया अगाडि बढ्नुपथ्र्यो, त्यो नमिलाएर जाँदा अहिले समस्या देखिएको हो”, श्रेष्ठले भन्नुभयो, “पार्टी एकीकरण गर्ने हो कि एकअर्कामा विलीन गर्ने हो ?”

एकताको सवाल महŒवपूर्ण रहेको भन्दै विश्लेषक श्रेष्ठले भन्नुभयो, “अब बन्ने नयाँ पार्टीको केन्द्रीय कमिटीमा ५०–५० प्रतिशतको हैसियत नहुने हो भने माओवादीको एउटा पनि एजेन्डा पारित हुने अवस्था रहँदैन, त्यही डरले अध्यक्ष प्रचण्डले ५० प्रतिशतको कुरा उठाउनुभएको हो । ” श्रेष्ठले ठूलो दल एमाले हो, त्यसैले उसले छाती ठूलो पार्न सक्नुपर्छ भन्नुभयो ।

वाम विश्लेषक तथा पूर्व एमाले नेता मोदनाथ प्रश्रितले पार्टी एकता घोषणा वैशाख मसान्तभित्रै हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । प्रमुख दुई नेताको सही व्यवस्थापन हुन सके बाँकी विषय गौण हुन् भन्दै उहाँले त्यसकै लागि अहिले एकतामा ढिलाइ भइरहेको टिप्पणी गर्नुभयो ।

“वाम एकता अहिलेको मुलुकका लागि बाध्यता हो, कुन दललाई फाइदा वा घाटाको विषय होइन”, विश्लेषक प्रश्रितले भन्नुभयो, “६०–४० को हैसियतमा दुवै दलको एकता हुनुपर्छ, त्यसरी नै दुवै दलको सम्मान हुन्छ, अनावश्यक बार्गेनिङमा लाग्नु हुँदैन । ” उहाँले वाम एकता नभएमा मुलुक पुनः राजनीतिक अस्थिरतामा धकेलिने र मुलुकको आर्थिक समृद्धि सपना मात्र हुने बताउनुभयो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.