काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने भएपछि राज्य संयन्त्र त्यसको तयारीमा लागेका छ ।
वैशाख २८ गते दिल्ली हुँदै विहारको राजधानी पटना र त्यहाँबाट हेलिकप्टरमा जनकपुर आउने नरेन्द्र मोदीको स्वागतका लागि प्रदेश २ को सरकार पनि पुरै तयारीमा लागेको छ । त्यसको तयारीका लागि विभिन्न समितिसमेत बनाएको छ ।
मूल तयारी समिति, मञ्च व्यवस्थापन समिति, अर्थ समिति, सुरक्षा व्यवस्था समिति, जनपरिचालन समिति, सरसफाई व्यवस्थापन समितिलगायत विभिन्न समिति बनाएर भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी भइरहेको छ ।
नेपालस्थित भारतीय दूतावास स्रोतका अनुसार पटनाबाट बिहान नौ बजे जनकपुर आएपछि मोदीले जानकी मन्दिरमा विशेष पूजा गर्नेछन् ।
त्यसपछि प्रदेश सरकारले आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रमका लागि बाह्रबिघामा जानेछन् । गृहमन्त्री रामबहादुर थापाका अनुसार त्यसदिन प्रधानमन्त्री केपी ओली पनि जनकपुर जानेछन् ।
अभिनन्दनपछि सानो मन्तव्यपछि सीधै हेलिकप्टरबाट मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जानेछन् ।
मुक्तिनाथको दर्शनपछि मात्र काठमाडौं आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
मोदीको भ्रमणले जनकपुरमा प्रभाव
प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणलाई ऐतिहासिक भ्रमणका रूपमा लिएको छ । सो भ्रमणले जनकपुर अर्थात् प्रदेश २ लाई चारवटा फाइदा हुने बताइएको छ ।
पूर्वराजदूत एवम् मधेस मामलाका जानकार विजयकान्त कर्ण भन्छन्, ‘पहिलो कुरा त प्रदेश २ प्रति विश्वको ध्यान केन्द्रित हुन्छ । दोस्रो कुरा, जनकपुर पर्यटकीय तथा धार्मिक स्थल हो भनेर विश्वमा परिचित हुनेछ । तेस्रो कुरा, मधेस आन्दोलनका कारण चर्चामा रहेको प्रदेश नं. २ ले सङ्घीयताका लागि दिएको योगदान पनि विश्वसामु परिचित हुनेछ । चौथो कुरा, विकासका सम्भावनाका बाटो पनि खुला हुनेछ ।’
प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्ने मिति तय गरेपछि नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी त्यसको जानकारी गराउन वैशाख ९ गते जनकपुर पुगेका थिए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई भ्रमणको बारेमा पुरीले ब्रिफिङ गर्दा पूर्वराजदूत कर्ण पनि उपस्थित थिए ।
प्रधानमन्त्री मोदीको भ्रमणले प्रदेश २ को सरकार निकै खुशी रहेको बताउँदै कर्णले यसले प्रदेशको हरेक क्षेत्रमा प्रभाव पार्ने उनले बताए ।
राजदूत पुरीले भ्रमणको बारेमा जानकारी गराउँदा मुख्यमन्त्री राउतले खुशी व्यक्त गर्दै भनेका थिए, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्नु भनेको प्रदेश सरकारका लागि धेरै खुशीको कुरा हो । उहाँको स्वागतका लागि सरकारले आफ्नो क्षमता अनुसार कुनै कसर बाँकी राख्ने छैन र यो ऐतिहासिक भ्रमण हुनेछ ।’
सो अवसरमा मुख्यमन्त्री राउतले जानकी मन्दिरका साथै प्रदेश २ मा अन्य ऐतिहासिक ठाउँहरू पनि हेर्न लायक भएको बताए । यदि प्रधामन्त्री मोदीले अवलोकन गर्ने इच्छा देखाउन चाहनुभयो भने त्यसको पनि व्यवस्था गर्ने प्रस्ताव गरेका थिए ।
त्यसका जवाफमा पुरीले अहिलेलाई दुईवटा कार्यक्रम मात्र रहेको र प्रधानमन्त्री मोदीले कुनै इच्छा देखाएमा जानकारी गराउने कुरा राखेका थिए ।
मोदीबाट घोषणा हुने सम्भावना
मोदी भ्रमणको तयारी चलिरहँदा केही ठूलै परियोजना वा कार्यक्रम घोषणा गर्ने कुनै औपचारिक जानकारी नआएको प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले जानकारी गराए । उनले भने, ‘प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा कुनै लेनदेनका कुरा हुँदैन । अतिथि देवो भवः । हाम्रा लागि उहाँ अतिथि हुनुहुन्छ । हामीले सक्दो स्वागत गर्छौं । उच्च सम्मान गर्छौं ।’
नागरिक अभिनन्दनपछि दुई नम्बर प्रदेशका जनतालाई सम्बोधन गर्नका लागि मोदीलाई सरकारको तर्फबाट आग्रह हुनेछ । सो आग्रहका क्रममा प्रदेशका लागि केही घोषणा गर्न सक्छन् तर त्यसको कुनै योजना वा जानकारी कसैलाई छैन ।
जनकपुरमा रहेका प्रध्यापक डा. सुरेन्द्र लाभले भने, ‘नरेन्द्र मोदीको विगतको क्यारेक्टरको आधारमा कुरा गर्ने भने उहाँले आफ्नो भाषणको क्रममा केही न केही घोषणा गर्नुहुनेछ भनी अनुमान मात्र लगाउन सकिन्छ । उहाँ ‘सरप्राइज’ दिनमा माहिर हुनुहुन्छ । तर विकासका लागि केही दिनुहुन्छ, गर्नुहुन्छ भनी कुनै कुरा औपचारिक रूपमा सुनिएको छैन । अनुमान मात्र लगाउन सकिन्छ ।’
प्रध्यापक लाभका अनुसार विकासका लागि कुनै परियोजना अथवा केही घोषणा नगरे पनि प्रदेश दुईलाई राजनीतिक, समाजिक, धार्मिक रूपमा फाइदा अवश्य हुन्छ । जनकपुर अर्थात प्रदेश २ लाई नचिनेका विश्वले पनि जान्नेछ । हिन्दु धर्मका हिसाबले भारतीय पर्यटकको आकर्षण जनकपुर प्रति बढ्नेछ ।
जनकपुर हेर्नका लागि विश्वका पर्यटकहरूको ध्यानाकर्षण हुनेछ ।
विहार हुँदै जनकपुर आउनुको स्वार्थ
भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट सीधै काठमाडौं आएर जनकपुर पनि जान सक्थे । तर, उनले रणनीतिक रूपमा विहारको बाटो रोजेका हुन् । उनले मधेस र विहारको सम्बन्धलाई जोड्नका लागि यस्तो गरेको जानकारहरू बताउँछन् ।
अबको एक वर्षपछि भारतमा चुनाव हुँदैछ अर्थात सन् २०१९ मा हुने चुनावका लागि मोदीको तयारी अहिलेदेखि देखिएको बताइन्छ । नेपालको सीमामा रहेको विहार चुनावका लागि नेपाल ठूलो फ्याक्टर हो । खासगरी मधेस भारतीय चुनावका बेला ठूलो फ्याक्टर बनेको हुन्छ । त्यसलाई मध्यनजर गरेर मोदीले यो कनेक्सन जोड्न लागेका हुन् ।
मोदी विहार हुँदै सीधै दुई नम्बर प्रदेश २ प्रवेश गरेमा विहार र प्रदेश दुईको कनेक्सन जोडिनेछ । जुन मोदीका लागि निकै महत्वपूर्ण उपलब्धि हो ।
प्रध्यापक लाल भन्छन्, ‘मोदी हिन्दु धर्मप्रति आस्था राख्ने प्रधानमन्त्री हुनुहुन्छ । जनकपुर हिन्दुका लागि आस्थाको केन्द्र हो र विहारमा पनि हिन्दुधर्मप्रति आस्था राख्नेहरू छन् । त्यही भएर त्यसलाई जोड्नका लागि मोदीको जनकपुर भ्रमण महत्वपूर्ण हुनेछ ।’
सन् २०१४ सार्क सम्मेलनमा भाग लिन आउँदा मोदीले जनकपुरको भ्रमण गर्ने इच्छा देखाएका थिए । त्यतिबेला पनि उनले पटनाबाट सडकको बाटो हुँदै जनकपुर आउने तयारीमा थिए ।
पटनादेखि जनकपुरसम्मको सडक पनि त्यही अनुसारको मर्मत पनि भएको थियो ।
तर अन्तिममा आएर सुरक्षाको कारण देखाउँदै जनकपुर भ्रमणस्थगित गरिएको थियो ।
यस पटक नेपाल भ्रमणको तयारी गर्दा उनले पहिलो प्राथमिकतामा जनकपुरमा राखेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको बेला मोदीले नेपालको भ्रमण गर्दा जनकपुर अवश्यक जाने जिकिर त्यही गरेका थिए ।
त्यसको जवाफमा ओलीले यस पटक जनकपुरको भ्रमण कुनै पनि हालतमा गराउने प्रतिबद्धता जनाएका थिए ।
तयारी
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि भारती सुरक्षा अधिकारीहरू जनकपुरमा बसिरहेका छन् । सुरक्षाको अवस्थाको अध्ययन गरी दैनिक रूपमा त्यसको विश्लेषण गरी त्यसका रिपोर्ट दिल्ली पठाइरहेका छन् ।
जनकपुर भ्रमणको तयारीमा मोदी, सुरु भयो दूतावासको दौडधूप
गृहमन्त्री रामबहादुर थापा बादल सुरक्षा बारे जानकारी लिनका लागि आज जनकपुर पुगेका छन् । भोलि अर्थात बुधबार भारतका सुरक्षा अधिकारी तथा नेपालका सुरक्षा अधिकारीबीच जनकपुरमा छलफल हुने बताइएको छ ।
पटनाबाट मोदीले तीनवटा हेलिकप्टर लिएर जनकपुर आउनेछ भने उनले आफ्नै विशेष कार जनकपुरमा प्रयोग गर्ने बताइएको छ ।
Credit : raranews.com
