नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई धोका दिएको बताएका छन् । उनले प्रचण्डले सुरिलो धुन बजाएर कार्यकर्तालाई ढाँटेको आरोप समेत लगाए ।
बुधबार राजधानीमा पार्टी स्थापना दिवसलाई सम्बोधन गदै संयोजक भट्टराईले प्रचण्डले नै माओवादी जनयुद्धलाई धोका दिएको बताएका हुन् ।“मैले माओवादी पार्टीबाट राजीनामा दिएको भोलिपल्ट प्रचण्डजीलाई माओवादी आन्दोलनलाइ विर्सजन गरेर समाजवादी धारमा जाउँ भनेको थिएँ,” भट्टराईले भने, “उहाँले मान्नुभएन ।
प्रचण्डजीले माओवादी आन्दोलनलाई एमालेको पाउमा लगेर बिर्सजन गरिदिनुभयो । फोहोरमा मिसाइदिनुभयो । उहाँले सुरिलो बाँसुरी बजाएर कार्यकर्तालाई ढाँट्नुभयो । तपाईंहरु आफै भनिुदिनुहोस जनयुद्ध र माओवादी आन्दोलनलाई कसले धोका दियो, बाबुरामले या प्रचण्डले ?”
नेता भट्टराईले तत्कालिन एमाले र माओवादीबीचको एकता सत्ता र स्वार्थको लागि भएको भन्दै केही वर्षमै अन्त्य हुने दाबी समेत गरे ।
“एमाले र माओवादी केन्द्रबीचको एकता सत्ता र स्वार्थको लागि मात्र भएको हो । यसको कुनै भविष्य छैन । डाइनोसर जस्तो छ नेकपा । नेकपाले कम्युनिष्टको खोल ओढेर जनतालाई ढाँट्ने र छल्ने मात्र काम गर्छ, त्यसको असली रुप जनताले केही वर्षमै थाहा पाउनेछन् ।
युवाहरुले सचेत गराउनुहोला । हिजो केपी शर्मा ओलीलाई तराई झर्न गाह्रो थियो । मधेसका जनतालाई ढाँट्ने दलहरु पनि सत्ता बाहिर रहन सकेनन्,” उनको भनाइ थियो ।
उनले आफूहरुले नेपालमा वैकल्पिक शक्ति निर्माण नगरेसम्म विश्राम नलिने जिकिर समेत गरे । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विश्वले ज्ञानको खोजी गरिहेको बताउँदै नेपालबाट आफूहरुले दिने दाबी पनि गरे ।उनले मुलुकको विकास र समृद्धि चाहनेहरु नयाँ शक्तिमा आउन आग्रह समेत गरे ।
“माओवादीभित्र परिवर्तन चाहने साथीहरु हुनुहुन्थो प्रचण्डले झुकाउनुभो । सुरुमा नयाँ शक्तिमा आउनुभएका साथीहरु पनि प्रचण्डकहाँ जानुभयो । म नेकपा, कांग्रेसलगायतका दलमा रहेका र परिवर्तन चाहने साथीहरुलाई नयाँ शक्तिमा आउन आग्रह गर्छु । छोडेर गएका साथीहरु अहिले पनि सम्पर्कमा हुनुहुन्छ, मलाई विश्वास छ ती साथीहरु आउनुहुन्छ,” बाबुरामले भने ।
संयोजक भट्टराईले युवालाई अहिलेको मुख्य समस्या भ्रष्टाचार रोक्न, शिक्षामा भएको सिन्डिकेट अन्त्य गर्न र रुढीवादी परम्परा हटाउन विशेष पहल गर्न आग्रह गरे । उनले जात धर्मले मुलुकको विकासमा अवरोध पुग्ने बताए । “नेकपासँग हाम्रो कुनै पनि समृद्धिको कुरा मिल्दैन, उनीहरुले जनतालाई ढाँट्ने काम गरिरहेका छन् । समाजवाद र पुँजीवाद ल्याउनका लागि सबैले सीप सिक्नुपर्छ,” उनले भने ।
Credit : onlinepana.com
