मंगलबारदेखि परेको अबिरल बर्षाका कारण पहिरो जाँदा जलजला गाउँपालिका–८ नाङ्लिबाङमा एक जनाको मृत्यु भएको छ । पहिरो जाँदा घर पुरिएर नाङ्लिबाङका १७ वर्षीय बिकास परियारको मृत्यु भएको हो ।
बुधबार बिहान एक बजे एक्कासि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले ८ घर पुरेको छ भने १० वटा घर पहिरोको उच्च जोखिममा रहेको वडा अध्यक्ष हरिबिकास जिसीले जानकारी दिए ।
मालढुंगा–बेनी खण्डका बिभिन्न स्थानमा पहिरो जाँदा सडक पुर्ण रुपमा अवरुद्ध भएकाले प्रहरी घटना स्थलमा पुग्न नसकेको बताइएको छ । नेपाली सेना, प्रहरीको सहयोगमा पहिरोले अवरुद्ध सडकलाई खोल्न लागेको वडा अध्यक्ष जिसीले जानकारी दिए ।
जलजला गाउँपालिका–७ धाईरिङको तल्लो खण्डमा पहिरोले घर पुर्दा हिमलाल आचार्यको घर पुरिएको छ । पहिरो जाने समयमा भाग्न खोज्दा घरधनी आचार्य, उनकी श्रीमती र भान्जी घाइते भएका छन् । आचार्यको मेरुदण्ड भाँचिएको बताइएको छ ।
बाटो अबरुद्ध भएपछि घाइतेको उपचारका लागि अस्पताल पु-याउन कठिन भएको स्थानीयबासीले बताएका छन् । घाइतेलाई बोक्नका लागि स्ट्रेचर समेत नहुँदा झनै समस्या भएको छ ।लस्ती खोलामा आएको बाढीले खेतीयोग्य जमिन समेत भाँसिएको छ भने लस्ती बजारमा समेत बाढी पसेको बताइएको छ ।
Credit : onlinepana.com
