विगतमा गरिएका सुन तस्करीको पोल खुल्ने डरले नेपाल प्रहरीका पूर्वडीआर्इजी गोविन्द निरौलाले गोरेलाई भगाएको गृहका सहसचिव पौडेलको संयोजकत्वमा गठित समितिको अनुसन्धानको निष्कर्ष छ ।
२० पुस, ०७३ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाटै बरामद भएको ३३ किलो सुन तस्करीमा निरौलाको संलग्नता आशंका गरिएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का तत्कालीन डीआइजी नवराज सिलवालको टोलीले उक्त सुन बरामद गरेको थियो भने त्यतिबेला निरौला विमानस्थलको सुरक्षा गार्ड प्रमुख थिए ।
घटनामा संलग्न भएको भन्दै सुरक्षा गार्ड उपप्रमुख एसएसपी श्याम खत्रीलाई सीआइबीको टोलीले समाते पनि निरौला भने जोगिएका थिए । सीआइबीले त्यसबेला गरेको अनुसन्धानले पनि उक्त सुन गोरेकै रहेको देखाएको थियो । सीआइबीले गोरेलाई फरार सूचीमा राखेको थियो । उक्त तस्करी काण्डमा गोरे अझै सीआइबीको फरार सूचीमा छन् ।
गृह स्रोतका अनुसार उक्त सुन विमानस्थलका तत्कालीन डीआइजी निरौला, एसएसपी खत्री, एसपी विकासराज खनाल र डीएसपी सञ्जय राउतको सेटिङमा तस्करी गरिएको थियो । निरौला र खत्रीसँगै एसपी खनाल र डीएसपी राउत पनि विमानस्थलमै कार्यरत थिए । गोरे पक्राउ परे त्यस बेलाको पोल खुल्ने र सबैजना फसिने डरले साढे ३३ किलो सुन काण्डमा पनि सूचना चुहाएर गोरेलाई भगाएको गृह स्रोतको दाबी छ ।
के हो गोल्डेन गेट ३३ केजी सुन प्रकरण ?
२० पुस ०७३ मा विमानस्थलको गोल्डेन गेटबाट पार गराउँदै गरेको अवस्थामा ३३ केजी सुन बरामद भयो । एयर अरेबियाको जहाज प्रयोग गरी उक्त सुन दुबईबाट ल्याइएको थियो । सुन बोकेर आएका थिए, गोपालबहादुर शाही । प्रहरीले शाहीलाई पनि पक्राउ गर्यो ।
उनकै बयानका आधारमा विमानस्थल सुरक्षा गार्ड एसएसपी खत्रीसहित दीलबन्धु थापा, सन्तोष काफ्ले, रामहरि कार्की, श्रीनारायण यादव, राजकुमार ढकाल, श्यामकृष्ण श्रेष्ठ, राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ, मनोज श्रेष्ठ पक्राउ परे ।
तर, सुन तस्करका नाइके फरार रहे । सिआइबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त सुनको मुख्य लगानीकर्ता गोरे थिए । तस्करीको योजना भने हरिशरण खड्का, रोशनगुप्तलाल भुसाल, रञ्जन पन्त, राजनप्रसाद पन्त र अर्जुनप्रसाद खरेलले बनाएका थिए ।
यीमध्ये प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । दुबईमै बस्दै आएका पाँचविरुद्ध प्रहरीले रेडकर्नर नोटिस जारी गर्यो । तर, गोरेलाई भने त्यसवेला रेडकर्नर नोटिस जारी नगरिएको खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
