भूकम्पले धरहरा ढालेको ठीक तीन वर्ष पुगेको दिन बुधबार धरहराको फेदनजिकै मञ्च झकिझकाउ थियो । झकिझकाउ मञ्चमा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे– ‘मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा ।’
२०७३ फागुन ४ गते पनि ओलीले सोही स्थानमा उभिएर यस्तै घोषणा गरेका थिए– ‘म भन्छु, हरेक नेपालीले बनाउँछ, एक-एक नेपालीले बनाउँछ, मै बनाउँछु धरहरा ।’
ओलीले उही स्थानमा, उस्तै गरी भाषण गर्दा समय भने २ वर्ष ३ महिना बितिसकेको छ । तर, यस बीचमा न ढलेको धरहरा बनाउन एउटा इँटा लगाइएको छ न त कसले बनाउने भन्ने टुंगो नै लागेको छ ।
त्यही पनि ओलीले चाहिँ २ वर्ष ३ महिना अघिको बाचा बिर्से झैं गरी बुधबार फेरि भन्न भ्याइहाले– ‘इँटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर ? म आउन तयार छु ।’
जसरी ओलीको बोली फेरिएको छैन, भूकम्पले लडाएको धरहराको स्वरुप ३ वर्ष बितिसक्दा समेत फेरिन नसकेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
