संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गर्दै सत्तासाझेदार दलहरूलाई हेपेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष यादवले नीति तथा कार्यक्रममा आफूहरूसँग प्रधानमन्त्री ओलीले परामर्श नगरेको बताए । ‘हामीले सरकारलाई हरेक स्थानमा सहयोग गरेका छौँ’, उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम बनाउने बेला एकपटक पनि सोधिएन ।’
अध्यक्ष यादवले भने, ‘हामीले सरकार बनाउने बेला केपी ओलीको पक्षमा मतदा गरेका थियौँ, राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि सहयोग गरियो । तर, अहिले कुनै पनि महत्वपूर्ण निर्णय लिँदा परामर्श नै गरिँदैन ।’
सरकारमा सहभागिताका विषयमा अध्यक्ष यादवले भने, ‘प्रधानमन्त्री ओलीका कारण ढिलाइ भएको हो । हामीबाट कुनै समस्या छैन ।’ राजपा नेपाललाई सरकारमा लैजानेबारेमा सोधिएको प्रश्नको जवाफमा यादवले भने, ‘कसले रोकेको छ र ? लगे भइहाल्यो नि !’
Credit : onlinepana.com
