पहिरोमा पुरिँदा जाजरकोटमा एकै परिवारका दुईको मृत्यु तीन जना घाइते

अविरल बर्षापछि माथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका-६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका एकै घरका दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया ललि बुढा र उनकै नातिनी ९ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमुली ६१ वर्षीय घरमुली भक्तबहादुर बुढा, उनकै नाती १३ वर्षीय पारस बुढा र ७ वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य र खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायव उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।

मृतकको पोष्टमार्टम र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउदै गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट शुक्रवार गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे एक बजे मात्र मृतकको उद्धार गरेको थियो । घाईतेलाई शनिबार बिहान सम्म सदरमुकाम आउने सम्भावना रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

घाईतेलाई डोकोमा बोकेर यातायात चल्ने ठाउँ सम्म ल्याईने र यातायातको पहुँचमा पुगेपछि गाडीमा ल्याउने तयारी भएको बस्नेतले बताए । जाजरकोट सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्दछ । टेलिफोनले काम समेत नगर्ने भएकाले थप विवरण आउन सकेको छैन । घर माथीबाट आएको पहिरोले आधा घर पुरेको प्रहरीले बताएको छ । कुखुरा, गोरु, वाख्रा समेत मरेको प्रहरीले बताएको छ ।

जुनिचाँदे गाउँपालिका का अधिकांश ठाउँमा फोनले काम नगर्दा यहाँका स्थानीयहरु हैरान भएका छन् । यो घटना घटेको १४ घण्टा पछि मात्र प्रहरी घटना स्थल पुगेको थियो । फोन नलाग्ने भएकाले विहान २ घण्टा हिडेर डाँडामा आई प्रहरीलाई सम्पर्क गरिएको स्थानीय कालीवहादुर वुढाले बताए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.