सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपाली सेनाको पक्षमा संसदमा जोडदार आवाज उठाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएका हुन् ।
सांसद एवं माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कुनै पनि विदेशी पाहुनालाई सुरक्षा दिन नेपाल सक्षम रहेको स्पष्ट पार्दै मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको भन्दै आपत्ति जनाइन।
‘अहिले ठूलो संख्यामा भारतीय सुरक्षा कमाण्डो ल्याउने र पहिलो घेरामा उनीहरु हुनुले हाम्रो देशको सुरक्षामा प्रश्न खडा गर्न खोजेको हो कि ? नेपाली सेनाको क्षमता र भूमिका न्यूनीकरण गरेको हो कि ?’ उनले प्रधानमन्त्रीलाई प्रश्न गरिन।
पहिलो घेरामा भारतीय सुरक्षाकर्मी रहँदा मन्त्रीहरु नै जान नसक्ने अवस्था आएको गुनासो उनले गरिन। कुनै पनि देशको पाहुना बोलाउँदा सुरक्षा दिन नेपाल सक्षम रहेको भन्दै उनले पुन प्रश्न गरिन, पाहुनालाई सुरक्षा दिन सक्दैन भने किन बोलाउने ? भुसालले सीमा समस्या, विराटनगर फिल्ड अफिस हटाउने जस्ता मुद्दा सम्बोधन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
उनले भ्रमणको तिथिमिति घोषणालगायतमा परराष्ट्र मन्त्रालय पछि परेको र दिल्लीबाटै घोषित मितिमा भ्रमण आदान प्रदान हुनु आपत्तिजनक रहेको भन्दै असन्तुष्टि जनाइन् ।
Credit : onlinepana.com
