नेकपाका महासचिव विप्लवलाई पक्राउ गर्न अदालतको पूर्जी, के हो खास कारण ?

 जिल्ला प्रहरी कार्यालय कालिकोटले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका ७ जना नेताविरुद्ध संगठित अपराध तथा विस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा चलाएको छ ।

कार्यालयले आज जिल्ला अदालत कालिकोटमा मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माले नेकपाले हिजो गरेको बन्दका क्रममा कर्णाली राजमार्गको कालेखोला र सदरमुकाम मान्मको मालपोत र नापी कार्यालयको हातामा बम बिस्फोट गराएपछि विप्लवसहितका नेताहरुविरुद्ध अभियोग दर्ता गरेको बताउनुभयो ।

बम विस्फोटमा संलग्न रहेको भन्दै नेकपाका ७ नेताविरुद्ध आज जिल्ला अदालतमा संगठित अपराध तथा बिस्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरिएको हो । कर्णाली राजमार्गको कालेखोलामा विस्फोटमा संलग्न शान्नित्रिवेणी गाउँपालिका मुम्राका कासे दर्जीलाई पक्राउ गरिएको छ । उनले दिएको बयानका आधारमा नेकपाका ७ नेताविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मुद्दामा नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, पोलिटब्यूरो सदस्य भरतबहादुर बम रणवीर, पोलिटब्यूरो सदस्य तथा कर्णाली ब्यूरो इन्चार्ज एटम बिसी, केन्द्रीय सदस्य धीरेन्द्र उपाध्याय भृकुटी, जिल्ला सेक्रेटरी लोकजंग शाही समर, महिला नेतृ शान्ति विक क्रान्ति रहेका छन् ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शर्माका अनुसार कुकर बम विस्फोटमा संलग्न कासे दर्जीसहित नेकपाका ७ नेताविरुद्धको मुद्दामा जिल्ला अदालत कालिकोटले ७ दिन म्याद थप गरेको छ । अदालतले उनीहरुलाई पक्राउपूर्जी पनि जारी गरेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.