नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्ला तहमा एकीकरण गर्दा संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फ खसेको मत, पार्टी सदस्य संख्या, ज्येष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्ड बनाएको छ ।
यसकै आधारमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका तल्ला कमिटीहरूबीच एकीकरण गरिने नेताहरूले बताएका छन् । ‘एउटा विधि, प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व तथा संख्यात्मक हिस्सेदारी टुंग्याउने गरी छलफल चलिरहेको छ,’ प्रदेश– १ कार्यदलका सदस्य भीम आचार्यले भने– ‘सकेसम्म मूल नेतृत्व पनि टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने केन्द्रीय सचिवालयमा सिफारिस गर्छौं ।’
कार्यदलहरूले जिल्ला र प्रदेशमा अध्यक्षलाई मूल नेतृत्व मानेर संख्यात्मक हिस्सेदारी हुने गरी एकता मोडालिटी तयार पारिरहेका छन् । अध्यक्ष केपी ओली र प्रचण्डले साउन मसान्तभित्र एकीकरण प्रतिवेदन बुझाउन दिएको निर्देशन अनुसार सात वटै प्रदेश र ७७ वटै जिल्लामा एकीकरणसम्बन्धी छलफल तीव्र भएका छन् ।
संख्या र नामावली टुंग्याएर प्रदेश र जिल्लाका अध्यक्ष र सचिवका दावेदारको नाम केन्द्रीय सचिवालयमा सिफारिस गर्ने तयारीमा छन् अधिकांश कार्यदल । नेकपाको विधान अनुसार दुवै तहमा अध्यक्ष र सचिव मात्र पदाधिकारी रहनेछन् भने केन्द्रले इन्चार्ज र सहइन्चार्ज खटाउने खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
