नाम मिल्दा ‘निर्दोष’ फसे जेलमा…

पत्रपत्रिकाबाट

रक्तचन्दन तस्करीमा संलग्न अभियुक्तसँग नाम मिल्दा मेचीनगर, झापाका एक व्यक्ति जेल परेका छन् ।

जिल्ला अदालतले सोमबार जेल सजायको फैसला सुनाएपछि मेचीनगर– ६ का ३५ वर्षीय श्याम थापा जेल चलान भएको उनको परिवारले जनाएको छ । थापा निर्दोष रहेको दावी परिवारजनले गरेका छन् ।

अदालतले उनलाई ६ महिना कैद र २६ लाख ९९ हजार जरिवाना तोकेको छ । रक्तचन्दन तस्करीबारे जानकारी नै नभएको व्यक्तिलाई हचुवाका भरमा पक्राउ गरी जेल पठाइएको गुनासो उनका दाजु केदारले गरे ।

रक्तचन्दन तस्करीको घटनामा मेचीनगर– १० निवासरी श्याम थापालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो । केदारका अनुसार घटना हुँदा उनका भाइ वैदेशिक रोजगारीका लागि कतारमा थिए ।

विदेशबाट फर्किएपछि ट्याम्पो चलाएर जीविका चलाउँदै आएका उनलाई चैत ३० गते काँकडभिट्टा बजार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो । रक्तचन्दन तस्करीमा संलग्न थापा भने वैदेशिक रोजगारीमा रहेको स्थानीयले बताएकाे खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।