देउवाले नेविसंघ अधिवेशन टार्ने षड्यन्त्र गरेको पौडेलको आरोप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघको १२औं अधिवेशन नहुने षड्यन्त्र भइरहेको बताएका छन्। उनले ३२ वर्षे उमेर हद विवाद, क्याम्पसहरुमा पाँचवटासम्म समानान्तर समिति र केही क्याम्पसमा अधिवेशन नै नभएकोजस्ता कारण झिकेर टार्ने खेल भइरहेको दाबी गरे। नेविसंघ विधानमा ३२ वर्ष कटेकाले उम्मेदवार हुन नपाउने उल्लेख छ।

‘उमेर हद लगाउने कुरा स्वीकार्य छैन,’ नेता पौडेलले भने, ‘कसलाई पन्छाउन उमेर हद लगाउने खेल भएको हो?’उमेर हद तथा एक व्यक्ति एक पदजस्ता नियम लगाएर यसअघि चन्द्र भण्डारी, रामशरण महतलाई नेतृत्वमा पुग्नबाट रोकिएको उदाहरण दिँदै उनले उमेर हद कार्यान्वयनमा नआउने संकेत गरे।

पार्टी निर्देशन समितिले विधानअनुसार नेविसंघको वर्तमान कार्य समितिको म्याद तीन महिना थपेको तीन दिनपछि मंगलबार राजधानीमा नेविसंघले गरेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अधिवेशन गर्छु, गर्छु भनेर टार्ने खेल भइरहेको बताए।

‘नेविसंघको अधिवेशन गर्छु भन्ने तर नगर्ने खेल भइराखेको छ। म चिन्तित छु। मैले नेविसंघ सभापति नैनसिंह महरलाई तपाईं किन अधिवेशन गर्दै हुनुहुन्न भनेर सोधेँ। उहाँले हुन्छ हुन्छ गर्छु गर्छु भन्नुहुन्छ तर मिति तोक्नुहुन्न,’ नेता पौडेलले भने, ‘सभापति महरले अधिवेशन गर्नुहुन्छ भन्ने मलाई विश्वास भएन।’

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समिति बनाएर अधिवेशन टार्ने खेल गरेको उनले आरोप लगाए।’सभापतिजीले आफ्ना मान्छे राखे, हाम्रा केही भाइहरु पनि राखेर निर्देशक समिति बनेछ,’ उनले भने, ‘त्यही समितिले खेल खेल्यो। तीन दिनभित्र कार्ययोजना बनाएर ल्याऊ भन्नुपर्ने ठाउँमा तीन महिना समय दियो। त्यत्रो दिन किन चाहियो? एक घण्टामा बन्छ कार्ययोजना। तीन महिना समय दिएर चलखेल भयो।’

पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा सभापति देउवाले निर्देशक समिति बनाएका थिए। उक्त समितिले नेविसंघ कार्यकाल तीन महिना थप्ने तथा अधिवेशन गर्ने कार्ययोजना माग गरेको थियो।

नेविसंघका सभापति इतरका समूहले आफूहरुसँग बहुमत पदाधिकारी तथा केन्द्रीय सदस्य रहेको दाबी गरे पनि उनीहरुले अधिवेशन तोक्न नसकेको टिप्पणी पौडेलले गरे।’बहुमत छ भन्छन्, अधिवेशन तोक्न सक्दैनन्। सबै क्याम्पसमा म अधिवेशन गराइदिन्छु भनेको हुँ। उहाँहरु पनि लट्पटिनुभएको छ,’ उनले भने।

नेविसंघको कार्यकाल दुई वर्ष हुन्छ। महर नेतृत्वको कार्यसमितिको कार्यकाल भदौ २ गते सकिएको भए पनि अधिवेशन गराउन तीन महिना यही कार्य समितिलाई निरन्तरता दिइएको छ।’अधिवेशन नभए नेविसंघ र पार्टीलाई घाटा हुन्छ। यो घाटाको जिम्मेवार निर्देशक समिति हुनेछ। सभापति महर हुनेछन्,’ पौडेलले भने। कार्यक्रममा नेविसंघ सभापति महरले आफू नेविसंघको महाधिबेशन गराउने तयारीमा लागिपरेको बताए।

‘सबैले सहयोग गर्नुहोस्, नेविसंघ महाधिवेशन मंसिरभित्रै हुन्छ। विधानअनुसार नै कार्यकाल थप गरिएको हो, कसैको निगाहले होइन,’ उनले भने, ‘पार्टीका सबै नेताले गुट-उपगुट छाडेर नेविसंघ महाधिवेशनमा केन्द्रित भइदिनुपर्छ।’केही क्याम्पसमा १७ वर्षदेखि नेविसंघ विवादित रहेको बताएका उनले ती क्याम्पस देखाएर महर असफल भयो भन्नेखालका विरोध सुनिने गरिएको बताए।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.