थपलियाको कृति ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ प्रकाशित

 

मार्क्सवादी लेखक तथा साहित्यकार खेम थपलियाको ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’ नामक समालोचनात्मक पुस्तक प्रकाशनमा आएको छ ।

नेपाली साहित्यमा मार्क्सवादी समालोचनासम्बन्धी अपेक्षाअनुरूप चर्चा हुन नसकिरहेका बेला मार्क्सवादी नाटककार तथा समालोचक खेम थपलियाको उक्त समालोचनात्मक कृति प्रकाशनमा आएको हो । नेपालमा यदाकदा मार्क्सवादी समालोचनासम्बन्धी बहस हुने गरेका छन् तर तिनलाई व्यवस्थित रूपमा समालोचकीय मानकका रूपमा विकास र विस्तार गर्ने काम सुस्त नै छ ।

मार्क्सवादी धारालाई जबर्जस्त त्यसको विपरीत धाराले थिच्न खोजिरहेको यतिबेला त्यसविरुद्ध प्रतिरोधात्मक भौतिकी तथा वैचारिकी ऊर्जासहित खेम थपलियाले कलम चलाउने प्रयास गरेका छन् । मार्क्सवादी समालोचनाको पछिल्लो लेखकीय ढाँचा र विषयको गाम्भीर्यसहित यसलाई मात्रा र गुण दुबै रूपमा माथि उठाउन थपलियाको यो प्रयास निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

सात वटा महत्त्वपूर्ण समालोचनात्मक आलेख समाविष्ट प्रस्तुत पुस्तक समकालीन नेपाली मार्क्सवादी समलोचनाको क्षेत्रको एउट दर्विलो हस्तक्षेप मान्न सकिन्छ । नेपालमा जनपक्षीय साहित्यिक–सांस्कृतिक प्रतिष्ठानहरूको विकास हुन सकिरहेको छैन । राज्यसत्ता जनपक्षीय साहित्यिक–सांस्कृतिक धारामैत्री बन्ने सम्भावना पनि कम छ ।

पुरातन चिन्तन र संस्कारको हालीमुहाली चलिरहेको यतिबेला प्रतिध्रुवीय साहित्यिक–सांस्कृतिक क्षेत्रलाई धारिलो प्रहार गर्न मार्क्सवादी समालोचनाको फाँट समृद्ध बनाउने उद्देश्यका साथ प्रस्तुत पुस्तकमा खेम थपलियाद्वारा प्रतिध्रुवीय धारा, संशोधनवाद–नवसंशोधनवाद, उत्तर–मार्क्सवादविरुद्ध तथा मालेमावादलाई सही तरिकाले पक्रेर तयार पारेका विचारोत्तेजक समालोचनात्मक आलेखहरू समाविष्ट छन् ।

थपलियाको प्रस्तुत समालोचनात्मक कृतिमा ‘मार्क्सवादी समालोचना : सिर्जना र सङ्घर्ष’, ‘भुइँचालो र साहित्यिक–सांस्कृतिक मनोदशा’, ‘कला–साहित्यमा दुई लाइन सङ्घर्ष’, ‘नयाँ यथार्थपरक नाटक : प्रवृत्ति र प्राप्ति’, ‘वर्गसङ्घर्षको जिउँदो अभिव्यक्ति : ती आँधीमय दिनहरू’, ‘क्रान्तिकारी गीत–सङ्गीत : सङ्क्षिप्त पर्यवेक्षण’ र ‘कालजयी कर्महरूमा बद्रीनारायण प्रधान : समीक्षात्मक अवलोकन’ जस्ता सात वटा समालोचनात्मक आलेख सङ्गृहीत छन् ।

२ सय ६४ पृष्ठको यस कृतिको मूल्य २ सय ५० रुपैयाँ राखिएको छ । पुस्तक अर्को मोर्चाले प्रकाशन गरेको हो ।

 

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.