ठेकेदार कम्पनीलाई खानेपानी मन्त्रीको चेतावनी : ‘मेलम्चीको काम समयमै नसकिए कठोर निर्णय’

 

निर्धारित समयभित्रै मेलम्ची खानेपानी आयोजना सम्पन्न नगरे ठेकेदार कम्पनीमाथि ‘कठोर निर्णय लिने’ चेतावनी खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दिएकी छन् ।

आयोजनाको निरीक्षण गर्न मेलम्ची परियोजनाको साइटमा पुगेकी मन्त्री मगरले आयोजनाको ठेक्का लिएको ठेकेदार कम्पनी (सीएमसी) को हेडक्वार्टरबाट आएका प्रतिनिधिसँगको बैठकमै समयमा काम नसकिए ठेकेदार कम्पनीमाथि कठोर कदम चाल्ने चेतावनी दिएकी हुन् ।

‘नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको छ, तपाईंहरुलाई दिनुपर्ने भुक्तानी समयमा दिइएको छ, सरकारका तर्फबाट सम्झौतामा भएका बुँदाहरु हुबहु पालना गरिएको छ,’ सीएमसी कम्पनीको इटालीस्थित हेडक्वार्टरबाट आएका प्रतिनिधि र मेलम्चीको जिम्मा लिएका ठेकेदारहरुलाई सँगै राखेर मन्त्री मगरले भनिन्– ‘तपाईंहरुले नेपाल सरकारसँग जुन सम्झौता गर्नुभएको छ, त्यहीअनुसार समयमा काम सक्नुपर्छ ।’

ठेकेदार कम्पनीकै मुख्यालयका उच्च प्रतिनिधिसँग यसअघि भएको छलफलमा दसैंअघि मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याइपुर्‍याउने सहमति भएको थियो । मेलम्ची आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना र हरेक नेपालीको भविष्यसँग जोडिएको कार्य भएकाले सम्झौता (एमओयू) पूर्ण रुपमा पालना हुनुपर्ने मन्त्री मगरले बताइन् ।

‘तपाईंहरुको पुरानो व्यवस्थापनले धेरै काम बिगार्‍यो, हामीले खबरदारी गर्‍यौं र नयाँ व्यवस्थापन आएपछि काममा प्रगति भएको छ,’ मन्त्री मगरले भनिन्– ‘तर, दसैंसम्म काम सकिन्छ भन्नेमा हामी पूर्णतः विश्वस्त हुन सकेका छैनौं, जसरी पनि अब तोकिएको समयमै काम सकिनुपर्छ, अन्यथा नेपाल सरकारले विकल्प सोच्छ ।’

मन्त्री मगर सोमबारको बैठकमा निकै कडा रुपमा प्रस्तुत भएकी थिइन् । ठेकेदारले पैसा लिएर पनि समयमै निर्माण सामग्री नल्याएको, काममा ढिलासुस्ती गरेको, काम नगरी उल्टो क्षतिपूर्ति दावी गरेको इत्यादि कारणले आयोजनाको अवधि लम्बिएको जानकारी मन्त्री मगरले सीएमसी कम्पनीको हेडक्वार्टरका प्रतिनिधिलाई गराइन् ।

सुन्दरीजलदेखि काठमाडौंभर पानी वितरण गर्ने तयारी भने करिव–करिव पूरा भैसकेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले वाग्मती नदीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा गरेर पाइप पखाल्ने र महाँकालस्थित थोक वितरण केन्द्रअन्तर्गतका पाइपलाइनमा पठाउने कार्य सुरु गरेको छ । यसबाट मेलम्चीको पानी सुन्दरीजलमा आउनासाथ सोझै काठमाडौंका घर–घरमा पठाउन सकिने सुनिश्चितता भएको छ ।

बैठकमा मन्त्री मगर, खानेपानी मन्त्रालयका अधिकारी, सीएमसी कम्पनीका हेडक्वार्टर प्रतिनिधि, ठेकेदार कम्पनीका व्यवस्थापक, मेलम्ची खानेपानी बोर्डका पदाधिकारीहरुलगायत उपस्थित थिए ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.