जुम्ला जिल्ला अन्तगत पर्ने पातारासी गाउँपालिका–१ गडीगाउँमा रु ४२ करोडमा चुकेनी साना जलविद्युत् आयोजना निर्माण हुदै छ। यसअघि ५०० किलोवाट जलविद्युत् निकाल्ने डिजाइन स्टिमेट गरिएको उक्त जलविद्युत् आयोजना अब भने एक मेगावाट निकाल्ने
तयारी गरिएको हो । यसका लागि भदौ महिनाको पहिलो सातासम्म टेण्डर हुने आयोजना निर्माण समितिका अध्यक्ष गोरबहादुर बुढाले रारा न्युजलाई जानकारी दिनु भयो ।
आयोजना निर्माणार्थ नेपाल सरकार वैकल्पिक ऊर्जा प्रर्वद्र्धन केन्द्रबाट रु २५ करोड ९९ लाख तीन हजार ५४९ बजेट छुट्यिएको छ। एशियाली विकास बैंकको अनुदान सहयोगमा नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरमार्फत यो आयोजना निर्माण हुन थालेको परियोजना इन्जिनियर सिंहले जानकारी दिनु भयो । इञ्जिनियर सिंहले विद्युत् गृहका लागि रु २६ करोड
र ट्रान्समिसन लाइनका लागि रु १० करोड लागत बजेट रहेको समेत जानकारी दिनु भयो । केही प्रतिशत समुदायको योगदान रहने बताउँदै उनले अपुग रकम एडिपीको सहयोगमा बैकमार्फत ऋण लिइने पनी जानकारी दिएका छन्।
विसं २०६९ देखि पहल थालिएको उक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले केहि रकम अनुदान दिने भएको छ। यो आयोजना निर्माण भएसँगै सिंगो जुम्ला उज्यालो हुने आयोजना निर्माण समितीका अध्यक्ष बुढाको बिश्वास छ । चुकेनी विद्युत् निर्माण भएमा पातारासी
गाउँपालिकाका तीन हजार ३२० घरधुरीका करीब १६ हजार जनताले प्रत्यक्ष लाभ पाउने बताइएको छ । उक्त लाइन सदरमुकाम जुम्ला खलंगासम्म ल्याउने तयारी भइरहेको आयोजना निर्माण समितिका अध्यक्ष बुढाले जानकारी दिनुभयो ।
Credit : raranews.com
