गैरबगान श्रमिकको १३,४५० र बगान श्रमिकको १०,७८१ रुपैयाँ
सरकारले साउनबाट लागू हुनेगरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरेको छ । बिहीबार निर्धारण गरिएको नयाँ परिश्रमिकअनुसार चिया उद्योगमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १३ हजार ४ सय ५० र बगानमा कार्यरत मजदुरको हकमा १० हजार ७ सय ८१ तोकिएको छ । नेपाल राजपत्रमा समेत प्रकाशन गरी चिया उद्योग र बगानमा काम गर्ने मजदुरको पारिश्रमिक निर्धारण गरिएको हो ।
साउनबाट लागू हुने नयाँ पारिश्रमिकअनुसार चिया बगानबाहेकका श्रमिक (चिया उद्योग क्षेत्र)का लागि यो पारिश्रमिक निर्धारण गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिब रामप्रसाद घमिरेले बताए । यसरी चिया उद्योगमा निर्धारण गरिएको पारिश्रमिकअनुसार आधारभूत ८ हजार ४ सय ५५, महँगी भत्ता ४ हजार ९ सय ९५ रुपैयाँ तोकिएको छ । यसैगरी सो क्षेत्रमा दैनिक ज्यालादारी गर्ने मजदुरका लागि आधारभूत पारिश्रमिक ३ सय २५ र महँगीभत्ता १ सय ९२ गरेर ५ सय १७ रुपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रतिघण्टा काम गर्ने श्रमिकको हकमा आधारभूत पारिश्रमिक ४३ र महँंगी भत्ता २ हजार ६ गरेर ६९ रुपैयाँ तोकिएको छ ।
सेवासुविधाका विषयमा लामो समयदेखि विवाद रहेको चिया बगानमा काम गर्ने श्रमिकका लागि भने न्यूनतम पारिश्रमिक १० हजार ७ सय ८१ रुपैयाँ तोकिएको छ । जसमा आधारभूत पारिश्रमिक ६ हजार ४ सय ६९ र महँगीभत्ता ४ हजार ३ सय १२ रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । बगानमा काम गर्ने श्रमिकको दैनिक आधारभूत परिश्रमिक २ सय ३१ रुपैयाँ र महँगीभत्ता १ सय ५४ गरी ३ सय ८५ रुपैयाँ ताकिएको छ । सोही क्षेत्रमा प्रतिघन्टाका दरले काम गर्ने श्रमिकको आभारभूत पारिश्रमिक ३१ र महँगीभत्ता २० गरेर ५१ रुपैयाँ निर्धारण गरिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा निया बगानका सरदार, नाइके र चौकिदारसमेतको दैनिक भत्ता ४२ रुपैयाँ तोकिएको छ । सो परिश्रमिकको अतिरिक्त श्रम ऐन २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानुनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा प्रदान गर्नु पर्ने राजपत्रमा उल्लेख छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले बिहीबार निर्धारण गरिएको पारिश्रमिक सबै रोजगारदाता एवं प्रतिष्ठानमा कार्यरत श्रमिकका लागि लागू गरिएकाले कार्यन्वयन भए नभएको अनुगमन गरिने बताए ।
Credit : raranews.com
