छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै अनसन बसेकी गंगामायाको बैंक अकाउन्टमा सरकारले १ करोड २० लाख रूपैयाँ राखिदिएको छ।
२०७१ सालमा उनलाई अनसन तोडाउने बेला नै सरकारले १ करोड दिने वाचा गरेको थियो। उक्त पैसा आइतबार सरकारले कृषि विकास बैंकमा खाता खोलेर राखिदिएको कानून मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिए।
०७१ सालदेखि अहिलेसम्मको ब्याज २० लाख रूपैयाँ पनि त्यही खातामा हालिदिएको उनले बताए।
१४ वर्षयता छोराका हत्यारालाई कारबाहीको माग राख्दै उनी लडिरहेकी छन्। गंगामायाले पछिल्लोपटक जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि आमरण अनसन सुरू गरेकी हुन्।
उनको छोराको हत्या अभियोग लागेका छविलाल पौडेलले पुर्पक्षका लागि थुनामा बस्न भन्दै अदालतमा आत्मसमर्पण गरेको केही दिनमै उनले अनसन स्थगित गरेकी छन्।
लामो समय न्यायका लागि लड्दा लड्दै आफ्नो घरबार ध्वस्त भएको भन्दै गंगामायाले बस्नका लागि बन्दोबस्त गरिदिन माग गरेकी थिइन्।
सरकारले पहिलैको वाचा अनुसार १ करोड रूपैयाँ ब्याजसहित दिने भनेको थियो।
छोराको हत्यारालाई कारबाही गर्न माग गर्दै आमरण अनसन गरिरहेकै बेला तीन वर्षअघि उनका पति नन्दप्रसादको ज्यान गएको थियो। गंगामायाले छोराका हत्यारालाई कारबाही नगरेसम्म पतिको दाहसंस्कार नगर्ने अडान लिएपछि नन्दप्रसादको शव अझैसम्म शिक्षण अस्पतालमा राखिएको छ।
तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरणमा परी २०६१ साल जेठ २४ गते गंगामायाका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्या भएको थियो।
Credit : onlinepana.com
