क्यालिफोर्नियामा सल्केकाे डढेलोले ४० हजार विस्थापित, अग्नि नियन्त्रकसहित ५ काे मृत्यु

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ।

डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२ जना हराइरहेका छन्। ज्यान गुमाएका पाँचमध्ये दुईजना बालबालिका र उनीहरूका जिजु हजुरआमा पनि रहेको खबरहरू छन्।

उक्त डढेलोमा बिहीवार दुईजना अग्निनियन्त्रकहरू मारिएका छन् । न्याशनल गार्डसहित हजारौँ आपत्‌कालीन कर्मचारी उक्त क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्।

डढेलोका कारण पाँच सयभन्दा बढी घरमा क्षति पुगेको छ। अलास्का र टेक्ससबीच उत्तर अमेरिकामा १ सयभन्दा बढी डढेलो लागेका खबरहरू छन्।

शास्टा काउण्टीमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ त्यसले रुखहरू ढालिदिएको र गाडीहरूलाई हुत्त्याइदिएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन्।

हजारौँ घरलाई जोखिम

‘कार फायर’ भनिएको आगोका लप्काहरूले कम्तीमा पाँच सय संरचना भत्काइसकेको छ र हजारौँ घरलाई जोखिममा पारेको छ।

उक्त डढेलो अहिले १ सय ९४ वर्ग किलोमिटरमा फैलिएको छ, जुन सान फ्रान्सिस्को शहरभन्दा ठूलो क्षेत्रफल हो।

शेरी ब्लेडसोइले आफ्नी ७० वर्षीया हजुरआमा मेलोडी ब्लेडसोइ र दुई सन्तान पाँच वर्षीया इमिली रोबर्टस् र चार वर्षीय जेम्स रोबर्टस् डढेलोका कारण मारिएको पुष्टि गरेकी हुन्।

एनबीसी समाचारका अनुसार रेडिङ नगरस्थित आफ्नो घर छोडेर जाने क्रममा उनीहरूलाई डढेलोले बाटोमै भेटेको थियो।

मेलोडीका श्रीमान् एडले यसअघि आफू किनमेल गर्न गएका बेला कसरी श्रीमतीले डढेलो घर नजिकै आउन लागेको भनि छिट्टै फर्किन भनेका थिए भनी व्याख्या गरेका थिए।

उनी ‍फर्कँदा घर भत्किए सकेको थियो र त्यहाँ प्रहरीले टेपको घेरा लगाइसकेको थियो।

उक्त क्षेत्रमा ३४ सय अग्नि नियन्त्रक खटिएका छन्। तर स्थानीय अग्नि विभागले यो साताभरि सुक्खा मौसमको अनुमान गरिएको र त्यसले डढेलोलाई थप खराब बनाउने बताएको छ। बिबिसी  ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.