कुनै दिन म पावेल बन्न चाहन्थें

अखिल क्रान्तिकारीको उपाध्यक्ष । क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व छनौट गर्दा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जित हासिल गरेको पात्र ।
कर्णाली प्रदेशको कालिकोटको डिल्लीकोटको सिमखेत जन्मेकी सिंह एसएलसी नदिदै जनयुद्धको होमिइन् । देश जनयुद्धको रापमा थियो । समानताको, समृद्धिको न्यायको नारा गाँउ गाउँमा गुन्जन थालेको समय थियो, त्यो । अझ सहरबाट कोसौ टाढा अनकण्टार गाउँहरुको कुरा वेग्लै थियो । त्यहाँ कि माओवादी थिए, कि तिनको रजगज ।
जनयुद्धको आँधीमयसमयमा पंन्चाले आँधीमय समयसंगै आफुलाई हिँडाइन् । आफुलाई त्यो आँधिवेहेरीको सहयात्री बनाइन् । र, सामेल भइन् परिवर्तनको स्वप्निल बाटोमा ।

उनलाई अझैंपनि सम्झना ताजै छ पहिलोपटक माओवादी जनयुद्धमा समाहित भएको दिन । माओवादी जनयुद्धको आधार इलाका कालिकोट । आधार इलाकामा सबैभन्दा बढी कार्यक्रम र गतिविधि हुनु स्वभाविकै थियो । उनका बुबा गाउँकै विद्यालयको शिक्षक । खान लाउन पुग्ने परिवार । त्यही भएरै माओवादीहरु सेल्टरको लागि उनको घर आउँथे ।
उनको युवा मस्तिष्कमा पनि माओवादीले भन्ने गरेको समानताका, न्यायका कुरा खेल्न थालेका थिए । उनको घरमा सेल्टर लिन आउने माओवादीले समानता, न्याय, महिला अधिकारका कुरा, दलित अधिकारका कुरा गरेको चाख मानेर सुन्थिन । मनमनै कल्पना गर्थिन–के यस्तो असमानताको पहाड भत्कला त एकदिन ?

उनको मनमा खेलि रहन्थ्यो –के भत्काउन सक्ला त जनयुद्धले महिलाले पाउने दुखका दिन ?
उनी घरमा आएका माओवादीका नेताहरुको कुरा सुन्थिन । उनलाई सबैभन्दा मन परेको कुरा समानताको हो । सिंह भन्छिन् ‘म सानो थिएँ । तर माओवादीले गरेका समानताका कुरा महिलाका अधिकारका कुराले माओवादी प्यारा लाग्थे ।’
हो, उनी माओवादीका तिनै कुराले नजिक भएकी थिइन् शुरुमा । बालमस्तिष्कमा विचार, कार्यनीति भन्दा पनि समानताका कुराहरु मन परेको हो–उनी भन्छिन् ।

त्यो दिन–गाउँ भन्दा एक घण्टा टाढाको गाउँमा सांस्कृतिक कार्यक्रम थियो । घरमा केही साथीहरु आएर सांस्कृतिक कार्यक्रम हेर्न जाने योजना बताए । पन्चा नजाने भनेर बसिन् ।
ती साथीहरु गएर पनचाको आमाको कान फुके र आमालाई भने कि पन्चालाई कार्यक्रम हेर्न जान भनिदिनुस् । आमाले पनि साथीहरु आएका छन् जाउ, साँझ छिटो आउनु भनेर पठाइन् ।
आमालाई के थाहा त्यही दिन छोरी आफुलाई छोडेर माओवादी हेलिएलिन् भनेर । उनकी आमाले सय मनमा एक मन पनि कल्पना गरेकी थिइनन् कि पन्चा आफुलाई छोडेर माओवादीमा भर्ति होलिन् । तर भयो त्यही नै ।
पन्चा भन्छिन् ‘दिन भरि सांस्कृतिक कार्यक्रम हेरेर घर फर्कदै थियौं, माओवादीहरुले सबै अभियानमा जाने भनेर रोके । मलाई के गरुँ के गरुँ भयो । उनीहरुले भनेको मानेर सरासर अभियानमा हिँडे ।’

भन्छिन् ‘म उनीहरुका कुराले पहिला देखिनै प्रभावित थिए । त्यही भएर मलाई कुनै समस्या भएन । साँझ त्यो गाउँबाट हिँड्यौ । जतिजति साँझ भयो–त्यति त्यति आमाको सम्झना आयो । मेरो आमा के गदै होलिन ? के सोचिरहेकी होलिन ?’
भनिन्–‘साँझ हिँडेर सेल्टरमा पुग्यौंै । थाक (थकाई) लागेको थियो । कति बेला सुतें थाहा नै भएन । माओवादी भएको पहिलो दिन थाकमै बित्यो ।’
आमाको चाहना थियो–छोरी पढेर नर्स बनोस् । बुबाको चाहना थियो–छोरी पढेर शिक्षिका बनोस् । तर उनले यो भन्दा फरक बाटो समातिन् । न त नर्सको न त शिक्षकको नै । बरु उनले समातिन् समाज परिवर्तनको बाटो उनकै विचारमा । शिक्षा र स्वास्थ्यमा भएको नराम्रो कुराहरु हटाउने आन्दोलनमा सक्रिय भइन् ।
उनी आन्दोलनमा हिँडेपछि उनको आमाको भने अवस्था बिग्रंदै गयो । कार्यक्रममै जान्न भनेकी छोरीलाई माओवादीको सांस्कृतिक कार्यक्रम हेर्न पठाएकी थिइन् उनैले । त्यहीँबाट छोरी माओवादी बनिन् । मेरो कारण छोरी माओवादी बनिन्, कता कहिले मर्ने हो भनेर चिन्ताले सुक्दै गइन् उनकी आमा ।

आमाको लागि सन्तान सबै बराबर हुन् । तर पन्चा विशेष थिइन् । उनी उनको आमा बुबाको चार सन्तान पछि कि छोरी । उनी भन्दा माथिका चारै दाईहरु सानै उमेरमा वितेका थिए । उनका आमा बुबाको लागि उनी विशेष नै थिइन् । सिंह भन्छिन् ‘मेरी आमाले धेरै सन्तान वियोग भोगेकाले होला मेरा बारेमा धेरै चिन्ता गर्नुहुन्थ्यो । त्यति नै माया गर्नुहुन्थ्यो । मैले आमा छोडेको दिन र माओवादी भएको दिन एउटै हो २०५८ को जेठमा ।’
उनी २०६२ मा कालिकोट फर्किइन् । कालिकोट उनको गृह जिल्ला थियो तर उनले बढी जुल्लामा काम गरिन् ।
संगै पार्टीमा लागेका साथीहरुले छिटो पार्टी सदस्यता पाए तर उनलाई भने ढिला सदस्यता दिए । उनले चासो राखिन् पछि । जवाफ पाइन्–बाबु कांग्रेस भएकाले भाग्छ भनेर ढिलो सदस्यता दिएका रहेछन् ।

सम्झिन्छिन् –‘मेरो बुबा शिक्षक थिए, माओवादी मेरो घरमा आएर बस्थे । उनीहरुलाई थाहा थियो –मेरो बुबा कांग्रेस समर्थक हुन् भनेर, त्यही भएर मलाई भाग्छ होला भनेर बढी शंका गरेका रहेछन् । तर म भागिन संगठनमा जमेर काम गरें ।’
उनले दुई बर्ष जुम्लामा विद्यार्थीको अध्यक्ष भएर अनेरास्ववीयु क्रान्तिकारीको नेतृत्व गरिन् ।
उनको जीवनमा परिवर्तन ल्यायो मेक्सिम गोर्कीको आमा उपन्यासले । उनले आफुुलाई आमा उपन्यासको पात्र पावेलसँग धेरै पटक तुलना गरिन् । उनमा एक पटक त पावेल बन्ने भूतले समात्यो । उनको दिमाग नै पावेलले भरियो । उनी भन्छिन् ‘मेरो दिमागमा पावेल धेरै लामो समयसम्म बस्यो । शायद मैले पहिलो पटक पढेको क्रान्तिकारी उपन्यास भएर हो कि अथवा पावेलको भूमिका नै त्यस्तो भएकाले हो थाहा भएन, तर म आफु पावेल बन्ने चाहनामा डुबिरहें ।’

उनी अध्यक्ष हुदा पनि बैठकका निर्णयहरु लिन विभिन्न ठाउँ जान्थिन । जनयुद्धमा एक ठाउँबाट अर्को ठाउँ जान सहज थिएन । उनी जुम्लाको अध्यक्ष हुँदा देशका विभिन्न ठाउँमा सहयोगी साथी लिएर पार्टी र संगठनका निर्णयहरु र सर्कुलर लिन जान्थिन । यसको लागि उनी सल्यानका डाँडादेखि तराईका भूभागसम्म पुग्थिन ।
उनले संगठित गरेका कैयौं विद्यार्थी नेताहरु शहीद भए । कयौ अहिले पनि संगठनको विभिन्न तहमा काम गरिरहेका छन् । उनी आजपनि आफु हिँडेको बाटोप्रति गर्व गर्छिन ।
त्यो दिन सांस्कृतिक कार्यक्रम हेर्न नगएको भए आज माओवादी हुदैन थिइन् होला । तर उनको जीवनको नयाँ गोरेटो तय भएको त्यही दिनले आज अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष छन् ।

तर उनले जनयुद्धको समयमा नै एकपटक पत्रकार बन्ने सोच बनाइन् । उनी विद्यार्थी संगठनबाट विदा पनि भइन र पत्रकारिता गर्न तयार भइन् । तर पार्टी नेतृत्वले मानेन । त्यो समयमा भेरी कर्णालीका चर्चित नेता खड्ग बहादुर विकले उनलाई पुन ः विद्यार्थी संगठनमा काम गर्न भने । उनले पनि मानिन् । एकसमय उनले पत्रकार हुने निर्णय गरेकी थिइन् र त्यो निर्णय लागु भएको भए उनी अहिले पत्रकारिता गर्दै कुनै नेताको अन्र्तवार्ता लिइरहेकी हुन्थिन । तर उनको भूमिका अहिले नेताको छ । विद्यार्थीको नेतृत्वमा छिन् र विभिन्न संचार माध्यममा अन्र्तवार्ता दिंदै हिँड्छिन् ।

जनयुद्धमा उनले ठूला नेता नभेटेपनि अहिले भने दैनिक जसो भेट हुन्छ । संगठनको बारेमा बहस छलफल गर्न । कुनै समय नेताहरु अलौकिक जस्तो लाग्थे उनलाई । उमेरपनि सानो थियो । नेता भेट्न सकिने अवस्था पनि थिएन । नेतृत्व पनि जिल्ला तहमा गर्थिन् । अहिले जस्तो केन्द्रमा थिइनन् । माओवादीका ठूला नेताहरु उनको लागि कथाका पात्र जस्तो लाग्थे त्यो समयमा ।
माओवादीको सेफल्याण्डिङलाई नेतृत्वको महानता भन्छिन । उनको विचारमा यदि माओवादीले लडिरहेको भए जित्थ्यो अथवा लिट्टे जस्तो भएर सकिन्थ्यो । यो बारेमा अहिले पनि बहस छ । उनको विचारमा माओवादी नेतृत्वले सिङगो आन्दोलनलाई सेफल्याण्डिङ गरेको हो । हामी मलाया, पेरु हुनबाट बचेका छौं । अब आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने अवस्थामा छौं । जनताका जनजीविकाका सवालहरु हल गर्ने ठाउँमा पुगेका छौं । यो हल हुनुपर्छ ।

उनको बुझाई छ, आन्दोलनमा रुपान्तरण भएको छ । तर उनलाई लागिरहन्छ– बलिदानको मूल्याङकन हुनुपर्छ । दश बर्षमा जति बलिदान गरेका छौं यसको सहि सदुपयोग हुनुपर्छ । त्यो ठाउँमा पुगेका छौं ।
शहीदहरुको सपना पूरा भएको छैन । घाइतेको अवस्था अहिले पनि सहज छैन । औषधी उपचारको अभाव जारी छ । यो हल हुनुपर्छ । वेपत्ताको अवस्था सार्वजनिक भएको छैन । कैयांै जनयुद्ध लडेका साथीहरु विदेशमा श्रम बेचिरहेका छन् । उहाँहरुको जीवनमा नेपालमा नै परिवर्तन ल्याउने अवस्था ल्याउनुपर्छ ।

इतिहासमा सधैं विभाजन हुँदै आएका नेपाली कम्युनिस्टहरु अहिले आएर एक भएका छन् । यो सन्देश देश र विदेशमा राम्रो गएको छ । अब सन्देशले मात्र हुँदैन । आधारभूत जनताको जीवनमा कम्युनिस्ट सरकार भएको देखिनुपर्छ । यही नै हाम्रो आन्दोलनको सार्थकता हुनेछ । जुन वर्ग, जुन समुह र जुन क्षेत्रलाई अधिकार दिने समृद्धि दिने भनेका थियाैं, अब त्यो वर्ग, क्षेत्र, लिङ्ग समूहका मानिसलाई ढाँट्नु हुँदैन । उनको जीवनस्तर साँच्चिकै परिवर्तन हुनुपर्छ । यो भयो भने मैले गरेको त्याग तपस्या हिजो घर छोडेको कुरा पूरा भएको मान्नेछु ।
शिक्षा स्वास्थ्यमा जनताको सहज पहुँच होस् भन्ने चाहना छ ।
उनले कुराको बिट मादै भनिन् ‘जनयुद्धले यहाँसम्म ल्याएको छ । अझैंपनि पार्टी संगठन र जनताप्रति इमानन्दार भएर काम गर्ने छु ।’

जनतापाटीबाट साभार प्रस्तुति–कृष्ण गिरी

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.