कांग्रेस सभापति देउवाका कारण हच्किए प्रधानमन्त्री ! बस्नै सकेन बैठक

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगन भएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएपछि प्रधानमन्त्रीले बैठक स्थगन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न ४ बजेका लागि बैठक बोलाएका थिए । तर, देउवाले आफू बुधबारै दिउँसो १ बजे सिंगापुर जाने भन्दै बैठकमा सहभागी हुन नसक्ने जानकारी गराए । देउवाले सहयोगीमार्फत बैठकमा आउन नसक्ने जानकारी गराएपछि प्रधानमन्त्रीले बैठक स्थगन गरेका हुन् ।

देउवाले दिउँसो १ बजे विदेश जाने भनेपछि उनको समय अनुकूल हुने गरी प्रधानमन्त्रीले बुधबार बिहानका लागि बैठक राख्न खोजेका थिए ।

यसअघि परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि असन्तुष्ट बनेका देउवाले बिहानको बैठकमा पनि सहभागी हुन नसक्ने संकेत दिएपछि परिषद् बैठक अनिश्चितकालका लागि सारिएको हो । देउवा एक सातापछि मात्र स्वदेश फर्किनेछन् ।

प्रमुख विपक्षी कांग्रेसले सत्तारूढ दलले दुई तिहाइको दम्भ प्रदर्शन गरेको भन्दै न्यायालयमाथि हस्तक्षेप गर्ने योजनाअनुसार जोशीलाई संसदीय सुनुवाइबाट अस्वीकृत गरिएको आरोप लगाएको छ । जोशीको नाम अनुमोदन नगर्नेतर्फ नेकपा सांसदहरू गएपछि देउवाले त्यसो नगर्न प्रधानमन्त्री ओलीलाई सचेत गराएका थिए ।

प्रमुख विपक्षीको सुझावविपरीत संसदीय समितिबाट जोशीलाई अस्वीकार गरेको भन्दै देउवा आक्रोशित छन् । त्यसैले नयाँ प्रधानन्यायाधीश सिफारिसको छलफल गर्न प्रधानमन्त्रीले बोलाएको बैठकमा नजान उनले आफ्नो विदेश यात्रालाई कारण देखाएका हुन् ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र उपसभामुख सदस्य हुन्छन् । परिषद्ले सुरुमा सर्वसम्मतिको प्रयास गर्नेछ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.