दबदबे हिलो छिचोलेर मालीचउर पुग्दा सल्ला सुसाइरहेका थिए, स्वागतमा । सिरसिर चल्ने बताससँगै कान ठोक्किन आइपुग्ने सिरेटो । अनि आङ सिरिंग पार्दै वेलावेला चल्ने बतास । घाम भन्नु मात्रै थियो । फिटिक्कै थिएन न्यानो । बरु, धुम्म हुन्थ्यो घरिघरि । अघिल्लो रात परेको झरीले हिलाम्मे थियो घोडेटो । सल्लाघारीभित्रको हिलाम्मे ओरालो । त्यसमाथि घोडाको ओहोरदोहोरले जहाँ टेक्यो त्यहीँ चिप्लिँदो । झन्डै १० मिनेट लाग्यो छिचोल्न हिलाम्मे चिप्लो घोडेटो । अनि सल्लाघारीको बीचबाट देखियो नीलो, स्निग्ध, कञ्चन तलाउ ।
अलिक पर चउर थियो । त्यही चउरमा स्वागत गेट बन्दै थियो आगुन्तकका लागि । चउरको छेउमै थियो तलाउ । चउरबाट पारिपट्टि देखियो चंखेली हिमाल । एक रुपैयाँको नोटमा देखिने हिमाल त्यही चंखेली हो भन्थे भरतबन्धु । हो, त्यही चंखेली हिमाल छल्किरहेको थियो तलाउमा, पानी जसरी छल्किन्थ्यो । अनि पूर्वपट्टि लहरै टल्किएका हिमाल पनि त्यसरी नै छल्किरहेका थिए, उही तलाउमा ।
तलाउको वरिपरि सल्लाघारी छ । अनि लाग्छ, स्निग्ध, सुन्दर, शान्त, कञ्चन पानीको सुरक्षा जिम्मा ती सल्लाहरूको हो । घना जंगलको बीचमा असरल्ल फैलिएको छ तलाउ । त्यसरी लमतन्न तलाउमा पातपंतिगर कतै देखिन्न, कञ्चन पानीबाहेक । ‘स्नो ट्राउट’ धेरै सुनिएको माछाको प्रजाति । अन्यत्र कतै नपाइने माछा यही तलाउमा पाइन्छ । अनि ती वरिपरिको जंगलामा पाइन्छ, कस्तुरी, रतुवा । त्यसमा थप शोभा बढाएको छ डाँफेले । अर्थात् ३० चैतको त्यो मध्याह्नमा हामी रारा ताल पुग्दा यस्तै थियो दृश्य ।
तलाउको वरिपरि सल्लाघारी छ । अनि लाग्छ, स्निग्ध, सुन्दर, शान्त, कञ्चन पानीको सुरक्षा जिम्मा ती सल्लाहरूको हो । घना जंगलको बीचमा असरल्ल फैलिएको छ तलाउ । त्यसरी लमतन्न तलाउमा पातपंतिगर कतै देखिन्न, कञ्चन पानीबाहेक । ‘स्नो ट्राउट’ धेरै सुनिएको माछाको प्रजाति । अन्यत्र कतै नपाइने माछा यही तलाउमा पाइन्छ । अनि ती वरिपरिको जंगलमा पाइन्छ, कस्तुरी, रतुवा । त्यसमा थप शोभा बढाएको छ डाँफेले ।
०००
५४ वर्ष पहिला रारा ताल थिएन । आश्चर्य मान्नुपर्दैन, त्यतिवेलासम्म रारा दह भन्थे रारा, छाप्रु र मुर्माका स्थानीय । विसं. २०२० मा जब तत्कालीन राजा महेन्द्र रारा दहको भ्रमणमा पुगे अनि नाम फेरिदिए महेन्द्र ताल । हुन त, महेन्द्रले रारा हो कि अप्सरा हौ भनेर गीत नै लेखे राराको सौन्दर्यबाट मोहित भएर । त्यसपछि महेन्द्र तालले कहलियो रारा दह । २०६३ सम्म पनि रारा तालभन्दा बढी महेन्द्र तालले चर्चा पाएको थियो । राजा महेन्द्र पुग्दा छाप्रु र रारा गाउँ थिए तालको छेउमा । तालको उत्तरी किनारा छेउमा आर्मी ब्यारेक बसेको छ अहिले । त्यसको पूर्वपट्टि थियो रारा गाउँ । अलिक पश्चिमतिर थियो छाप्रु गाउँ । ती गाउँका ३६० घरपरिवारलाई ०३५ मा अन्तै सारियो । अनि त अहिलेको रारा ताल एक्लो, सुन्दर र स्निग्ध देखिएको हो ।
बालापनको त्यो गाउँको कथा सुनाउँदै अनुपविक्रम शाह भन्छन्– २०३५ सालमा बर्दियाको मोतिपुरमा बस्ती सारेको थियो सरकारले । खासमा तालको संरक्षणका लागि सरकारले त्यतिवेला राष्ट्रिय निकुञ्ज बनाउन बस्ती सारेको हो । औलोले थिलथिलो बनेको त्यो वेलाको तराईमा ती मुगाली बस्न सक्ने थिएनन् । मोतिपुरमा एक वर्ष पनि टिक्न नसकेका उनीहरू ०३६ मा सारिए बाँकेको चिसापानीमा । अर्थात्, बबई नदीको किनारसँगको जंगलको छेउमा । गाभर भनेर पनि चर्चामा छ त्यो बस्ती । त्यतिवेला सरकारले उनीहरूलाई चिसापानीमा अढाई बिघा खेत र चार कट्ठा घडेरी दिएको थियो । अनि ८ वर्ष त निःशुल्क खाद्यान्न दिएको स्मरण गर्छन् शाह । हुन त, रारा तालभन्दा ३ घन्टामाथिको मुर्मा गाउँलाई पनि सार्न खोजिएको थियो । उनीहरूको चर्को विरोधले त्यहीँ बसिरहेका छन् अहिलेसम्म । त्यो मुर्माबाट झन् मनमोहक देखिन्छ रारा । अनि पश्चिमतिर सैपाल हिमाल । पूर्वतिर सिस्ने र कान्जिरोवा हिमाल चित्ताकर्षक देखिन्छ । साहसिकहरू त मुर्माबाट प्याराग्लाइडिङ पनि गर्छन् र झर्छन् तालछेउमा । नयाँ वर्षको बिहानीसँगै बाबु सुनुवार पनि त्यसरी नै झरेका थिए ।
मेरो घर कर्णाली त उनकोचाहिँ सुर्खेत
अब भने हप्तैपिच्छे हुन्छ हाम्रो भेट ।
झल्को लाली ओठको
बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको ।
सुर्खेतको वीरेन्द्रनगर बजारबाट मास्तिर लागेपछि मिलन लामाको यही गीत बज्न थाल्यो गाडीमा । कहालीलाग्दो मोटरबाटोको कथा सुनिएकै थियो । त्योभन्दा बढी बाटो खुल्दा कर्णालीको समृद्धिको कथा बुन्दै थिए साथीहरू । हुन त वीरेन्द्रनगरमाथि गुराँसे पुगेपछि नै थाहा हुन्छ कर्णालीको मोटरबाटो कति डरलाग्दो छ भन्ने । गुराँसेबाट तल्लो डुंगेश्वर पुग्दासम्म पनि ठीकै लागेको थियो मोटरबाटो । वारिपारि रहरलाग्दा बस्ती । बस्तीका बीचमा देखिने खेतीपाती । अनि हरियो जंगल । जस्तापाताले छाएका नीला घर । त्यसै पनि दैलेख समृद्ध छ, माथिल्लो कर्णालीभन्दा ।
यही देखेर रामकृष्ण भन्दै थिए ‘मलाई कर्णाली आएजस्तै लागेको छैन, हाम्रो नुवाकोटभन्दा सुगम लाग्यो ।’ सायद उनले बुझेकै छैनन् तल्लो डुंगेश्वर पुगेपछि कर्णाली राजमार्गको दुर्दशा । अनि तल्लो डुंगेश्वरको लोहार खोला तरेपछि रामकृष्णले देख्न थाले बाटोको वास्तविकता । अझ राकम–कर्णाली कटेपछि त पहिरो देखाउँदै गाडी कहिले कसरी खस्थे भनेर गुरुजी देखाउन थाले । मास्तिरबाट पहिरो झरिरहेकै छ, त्यसमाथि बाटो साँघुरो, ओरालो । त्यसपछि त बाटोमा गाडी नै नअटाउने अनि कर्णाली नदीतिर झर्ने । यो बाटो त सुरुवात थियो कर्णाली यात्राको । अझै चार दिन छिचोल्नुछ यस्तो बाटो ।
सेरीघाटको पुल तरेपछिको मान्मातिर उकालो लाग्न पनि कम थिएन । डाँडामा टुप्लुक्क छन् घरहरू भीरमा फलेका फर्सीजस्तै । घरको छेउमै छन् बडेमानका ढुंगा । फुंग उडेको माटो । पानी नभएर सुख्खा देखिएको खेतबारी । खेतबारी पनि के भन्नु वर्षभरि पुग्ने अन्न फल्ने त सपना पनि छैन । कालिकोटको सदरमुकाम नै यस्तो देखेपछि कालिकोटको अरू गाउँको कथा त्यसै नाच्न थाल्यो आँखामा । १५ किमि कटेपछि देखिएको पिली बजारले झनै सात्तो खायो । हुन त माओवादीको युद्धका वेलामा पिली मोर्चाका रूपमा चर्चा थियो । र, माओवादीको अन्तिम मोर्चा पनि थियो पिली । पिली बजार भन्नु मात्रै थियो जम्माजम्मी १५-२० घर थिए होलान् । र, वारिपारि कहालीलाग्दो भीर । बाँदर लड्ने यो भीरमा चट्टान मात्रै देखिन्थ्यो । अनि डोरोजस्तो कर्णाली राजमार्ग भीरको बीचमा । तिला नदीको किनारको यो मोटरबाटो नाग्माघाट नपुग्दासम्म यस्तै थियो ।
नाग्माघाटबाट अलिक दायाँतिर एउटा पुल छ काठको । जुम्लीको कला त्यही पुलमा देखिन्छ । पुलको प्रत्येक काठेपोल कलाकृति गोरखाली इतिहासँग जोडिएको छ । तत्कालीन राजारानी र गोरखाली सैनिक कँुदिएका छन् पोलमा । हामीलाई त्यहाँ फोटो नखिची अघि बढ्दै मन लागेन । राति गाडीको बत्तीकै भरमा खिचियो पुलको फोटो ।
०००
‘हामी त्यसै आएनौँ, बलिराजाले बोलाए’ यही भाका गाइरहेका थिए प्रकाश र भरतबन्धु नाग्माघाटबाट मास्तिर लागेपछि । बलिराजा अर्थात् सिन्जा राज्यका राजा । सिन्जाका राजा मलै बम्म राजा निःसन्तान हुँदा नाताका ज्वाइँ बलिराज राजा भएको कथन थियो । सिन्जाको इतिहासले हाम्रो यात्रा जुम्लाबाट सिन्जातिर मोडिएको थियो । कालिकोट पुगेपछि हाम्रो यात्रा सिन्जातिर मोडिएको हो बीचबाटै । वीरेन्द्रनगरबाट हिँड्दा जुम्लाको योजना थियो । भरतबन्धुले होटेल बुक पनि गरेका थिए, तर प्रकाश र रामकृष्णले सिन्जातिर जोड गरे । नाग्माघाटबाट अलिक दायाँतिर एउटा पुल छ काठको । जुम्लीको कला त्यही पुलमा देखिन्छ । पुलको प्रत्येक काठेपोल कलाकृति गोरखाली इतिहाससँग जोडिएको छ । तत्कालीन राजारानी र गोरखाली सैनिक कुँदिएका छन् पोलमा । हामीलाई त्यहाँ फोटो नखिची अघि बढ्दै मन लागेन । राति गाडीको बत्तीकै भरमा खिचियो पुलको फोटो ।
११औँ शताब्दीतिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खस राज्य स्थापना गरेको किंवदन्ती छ । र, खारी प्रदेशबाट आएर शासन गरेको हुनाले यो क्षेत्रलाई खसान क्षेत्र भनियो भन्ने मत छ । सिन्जाको इतिहास पनि यसैसँग जोडिन्छ । सिन्जामा खसहरूको विशाल साम्राज्य थियो । सिन्जाका शासक जितारी चल्लले काठमाडौं उपत्यकामा हमलासमेत गरेका थिए । जतिवेला काठमाडौंमा अनन्त मल्ल शासन गर्दथे ।
जुम्लाको सिन्जाको कथा धार्मिक कथनसँग पनि जोडिन्छ । अर्थात्, शिवभक्त राजा जालन्धरले सिन्जा राज्य नामाकरण गरे भन्ने कथन पनि छ । राजा जालन्धरले आफ्नो नामको ‘जा’ र भगवान् शिवको ‘शि’ शब्द जोडेर सिन्जा राज्य स्थापना गरेको सन्दर्भसँग जोडिएको छ । सिन्जाको वास्तविकताका लागि त्यहाँका सिलालेख, दरबार, ऐतिहासिक स्थल, गुफा, कनकासुन्दरी मन्दिरको अध्ययन आवश्यक पर्छ ।
नेपाली भाषाको उत्पत्ति थलो पनि सिन्जा मान्ने गरेका छन् संस्कृतिविद्हरूले । अहिलेको नेपाली भाषा त्यतिवेलाको सिन्जामा बोलिने खस भाषाको विकसित रूप मानिन्छ । हुन त, राज्य विस्तारसँगै सिन्जाली बोली जुम्ली भाषाको रूपमा बाँडिदै बाइसे–चौबिसे राज्यमा विस्तार भयो । कुनैवेलाको सिन्जाली बोलीलाई पछि जुम्ली भाषा भनियो । कहिले पर्वते बोली भनियो अनि कहिले गोरखा भाषाका रूपमा पनि व्याख्या गरियो । अहिले नेपाली भाषाका रूपमा परिचित छ ।
०००
नाग्माघाट पुग्दा झिमिक्कै साँझ परिसकेको थियो । आजको गन्तव्य थियो जुम्लाको सिन्जा । नाग्माघाट बजार पूरै अन्धकार थियो । मान्मापछि कालिकोटको ठूलो बजार हो नाग्माघाट । ६ महिनादेखि लघुजलविद्युत् आयोजनाको बत्ती बन्द रै’छ । अचम्मको कथा छ त्यहाँको । आयोजनाको पावरहाउसमा बस्ने मजदुरले पारिश्रमिक मागेपछि दिएनछन् उपभोक्ता समितिले ।
अनि बत्ती नै बन्द भएको स्थानीय होटेल साहुले सुनाउँदै थिए हामीलाई । यहीँबाट छुट्टिन्छ जुम्ला र मुगु जाने मोटरबाटो । एक किमि लामो बजार छिचोलेपछि तिला नदीको पुल तरे जुम्लातिर लाग्छ दायाँबाट । सीधै कच्ची बाटो समाते लागिन्छ सिन्जा हुँदै मुगुतिर । साँझ ६ बजिसकेको थियो नाग्माघाटबाट सिन्जातिर लाग्दा । वास मागेकोचाहिँ गोठीज्युलामा । कच्ची बाटो त्यसमाथि झरीले हिलाम्मे । गाडी गतिमा दौडिएको थिएन । दिउँसो दैलेखको खुड्कीज्युलामा खाएको खानाले छोडिसकको थियो ।
साथमा फास्टुफुड पनि थिएन खानलाई । ३ घन्टा गाडीको यात्रा भइसक्यो । जति रात छिप्पिँदै गयो गोठीज्युला आउँदैन । पर कतै तीनवटा बत्ती देखिनेबित्तिकै त्यही हो गोठीज्युला भन्दै थियो साथी प्रकाश । त्यस्ता बत्ती कति आए गए । नदीपारि हुन्थे ती सबै बत्ती कहाँ भेटिनु गोठीज्युला । बाटोमा घर भेट्नै गाह्रो सोध्नलाई पनि । बल्ततल्ल भेटिएको एउटा घरमा देउडा सिकाउँदै थिए एक अधबैँसे एक हुल युवतीलाई । राति ९ बजेतिर देउडा सिकाइरहेका ती अधबैँसेले अझै १ घन्टा लाग्ने बताए । त्यसपछि झन् अत्यास ।
भोक । तिर्खा । न गाउँको नाम थाहा छ न घर भेटिन्छ । जंगलको बाटो मात्रै आउँछ अनि भीर पहराजस्तो मात्रै । १० बजे बल्ल एउटा घर भेटियो बोर्ड झुन्डाएको । तर, सुनसान । अनि झरेर हेरियो, गामगाड लेखिएको थियो । अधबैँसेले भनेको समयमा गोठीज्युला आउला भनेको गामगाड आयो । अगाडि बढ्नुको विकल्प थिएन । अनि रविनले भन्न थाले, ‘अब मुगु पसियो साथीहरू, राति नै रारा पुगिने भयो के गर्ने त्यो चिसोमा ?’ रविन एकपटक रारा घुमेर आएका थिए । अनि त हो झैँ लाग्यो ।नयाँ पत्रिकाबाट साभार
Credit : raranews.com
