दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे भिलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै ३४ वर्षिय डी भिलियर्सले आफू थाकेकाले सन्यास लिएको बताएका हुन् ।
‘१ सय १४ टेस्ट, २ सय २८ एकदिवसीय र ७८ टी–ट्वान्टी म्याच खेलिसकेपछि अब अरू आउनु पर्छ । मैले मेरो पालो सकें, साँच्चै भन्ने हो भने म थाकें,’ भिडियोमा उनले भनेका छन्– ‘यो कठिन निर्णय हो र मैले यसबारे धेरै समय गहिरो गरी सोचें अनि म राम्रो खेलिरहेकै बेला सन्यास लिन चाहन्छु, भारत र अष्ट्रेलियासँगको गज्जबको जितपछि अहिले म बाहिरिने सही समय हो ।’
जारी इन्डियन प्रिमियर लिग (आर्इपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरबाट खेलेका डी भिलियर्सलाई दक्षिण अफ्रिकी क्रिकेट व्यवस्थापनले कठिन श्रृंखलामा मात्र खेलेर अरू बेला आराम गर्ने प्रस्ताव गरेको थियो तर उनले त्यो प्रस्ताव स्वीकारेनन् । ‘मैले कहाँ, कोसँग, कहिले र कुन फर्म्याटमा दक्षिण अफ्रिकाका लागि खेल्ने भनेर छान्नु सही हुँदैन’– डे भिलियर्सले भनेका छन् ।
Credit : newskoseli.com
