एक मात्र स्वास्नी घर भित्र्याउने व्यक्ति नामर्द अर्थात् अपूरुष

भर्खरै क्यानडा बसाँई सरेकी साथीलाई मेरो पहिलो प्रश्न थियो, ‘तिमीलाई क्यानडा कस्तो लाग्यो?’ उनले सबैभन्दा राम्रो त्यहाँका मानिस ‘स्वतन्त्र’ भएको बताइन्। तर, क्यानडेली समाजको एउटा विषय उनलाई विशेष र अनौठो लागेछ।

उनकै छिमेकी एक महिला आफ्नो सातौं श्रीमानसँग बस्दिरहिछन्। साथमा यसअघिका दुई श्रीमानबाट जन्मिएका दुई सन्तान पनि सँगै रहेछन्।

मैले यो कुरा सुन्नासाथ प्रतिक्रिया जनाए–ती महिला नेपालकी हुन्थिन् भने यिनको नाम ‘सात पोइले’ राखिन्थ्यो। जतिजति पोइ अर्थात् श्रीमान थपिन्छन्, पोइको संख्या गन्दै त्यसमा ‘पोइले’ झुण्याइएर महिलाको कुरा काटिन्थ्यो।

म जन्मिएको काँठ समाजमा कमसेकम यस्तै भनिनेथ्यो।

टेलिफोनको अन्त्यमा उनले भनिन्, ‘मेरो समाज र तिम्रो समाज अलि फरक छ। यहाँ महिलालाई त्यति अपमान गरिन्न जति नेपालमा गरिन्छ। अनि पुरूषलाई पनि त्यति महान ठानिन्नँ जति उनीहरू हुँदैनन्। सातवटा श्रीमान हुँदैमा यहाँ उनको नाम सातपोइले राखिन्न र सात जनासँग बिहे गरेकै आधारमा उनलाई अपमान पनि गरिन्न। त्यसलाई व्यक्तिको निजी विषय ठानिन्छ।’

म काँठमा हुर्के बढेँ त्यसकारण काँठतिरको संस्कार राम्रोसँग जान्दछु। काँठतिर कुनै केटा मानिसले बहुविवाह गरे भने एउटै जोडीको पुरूषले गाली र अपमान भोग्नु पर्दैन। तर, त्यही जोडीमध्येको महिलाले आरोपित हुनुपर्छ मानौं कि उक्त महिलाकै कारण पुरूषले बहुविवाह गर्‍यो। हाम्रो समाजले त ठाँटैले भनिदियो, पुरुषलाई उक्साइदियो,‘मर्द कि दश वटी।’

यसको आशय हो जति धेरै स्वास्नी भयो, पुरूष उति बहादुर, क्षमतावान! यस उखानको अझ सिधा अर्थ हो– एक मात्र स्वास्नी घर भित्र्याउने व्यक्ति नामर्द अर्थात् अपूरुष।

अलि फरक तर मिल्दो प्रसंग–नायिका प्रियंका कार्की र नायक आयुषमान देशराज एक अर्कासँग गहिरो प्रेममा छन्। उनीहरूको परिवारले यो सम्वन्धलाई निकै सहज र स्वभाविक रूपमा स्वीकार गरिसकेको छ। तर, यता हाम्रो समाज र हाम्रो मिडिया उनीहरूको कुरा काटेर थाकेको छैन।

कुरा पनि कसरी काट्ने भने आयुषमानसँग प्रेममा पर्नुअघि प्रियंकाले आयुषमानलाई भाइ भनेर सम्बोधन गर्थिन रे। अनि भाइ नाता लगाएको मान्छेलाई उनले कसरी प्रेमी बनाइन रे? यस्ता प्रश्न गर्दै कुरा काट्नेलाई प्रियंकाले दिनुपर्ने जवाफ हो – हरेक प्रेमीहरू जीवनमा आउँदा प्रेमी बनेर आउँदैनन्, पहिला साथी र सहयोगी बनेर आउन सक्छन्। उमेरमा सानो छ भने भाइ र ठूलो छ भने दाइ नै बनेर आउन पनि सक्छन्। समयको सेरोफेरोमा रहँदाबस्दा पो प्रेमीप्रेमीका पनि बन्न सक्छन्।

सामाजिक सञ्जालमा प्रियंकालाई कतिले गाली गरेको देखेको छु। उनी आफैंले एक दिन वाक्क भएर फेसबुकमा लेखिन्, ‘मैले के त्यस्तो गल्ती गरेँ, जसका लागि मलाई यति तल्लोस्तरको गाली गरिन्छ?’

प्रियंका नेपाली समाजकी एक नायिका र एक प्रतिनिधि पात्र हुन्। नेपाली समाजमा महिला पात्र सहजै आरोपित हुन्छन्। अनाहकमा गाली खान्छन्। मेरो डर र आशय यही हो कहीँ हामी अरूलाई गाली मात्र गरिरहने संस्कार निर्माण त गर्दैछैनौ?

त्यसमाथि पनि महिलालाई हाम्रो समाजले कतिसम्म दुत्कार्न सकेको? लान्छना लगाउन सकेको?

दुर्गा प्रसाई प्रकरणमा जोडिएर मन्त्री पदबाटै राजीनामा दिने अवस्था आइपरेका मन्त्री शेरबहादुर तामाङलाई नै हेर्नुहोस्। अनि हचुवाकै भरमा हाम्रा दिदीबहिनीलाई ‘यौनदासी’ को आरोप लगाउनुले हाम्रो समाजले महिलाप्रतिको धारणा प्रष्टिन्छ। महिला, केटी, नारी या जातिलाई केवल यौनेच्छाको साधन बुझेपछि मुखबाट यस्तै धारणा र भावना फुत्कन्छन्।

रमाइलो त अझ केसम्म छ भने शब्दकोष हेर्‍यो भने महिलाद्वेषी अनेकन गाली छन्। धन्न पुरूषका नाममा धेरै कम गाली पढ्न पाइन्छ।

विपश्यना ध्यान सिक्दा गौतमबुद्धबारे एउटा रमाइलो कथा सुन्न पाइन्छ। एक पटक गौतम बुद्धसँग एक वृद्ध मानिस खुब रिसाउँछन्। रिसको झोकमा अनेकन गाली गर्छन्। सुन्न हुने गाली, सुन्न नहुने गाली, भन्न हुने गाली, भन्न नहुने गाली जे गाली पनि गर्छन्।

गौतमबुद्धले यति गाली सुनेपछि ती भारद्धाज ब्राम्हणलाई प्रश्न गर्छन्, ‘ए ब्राम्हण एउटा कुरा भन्नुहोस् त, यदि तपाईँको घरमा कसैले केही उपहार लिएर आयो तर, तपाईँले त्यो उपहार स्वीकार गर्नुभएन भने त्यो उपहार कोसँग रहन्छ?’

भारद्धाज ब्राम्हणले रिसमै जवाफ फर्काए–जसले ल्यायो उसैसँग रहन्छ। बुद्धले तत्कालै भने, ‘उसो भए तपाईँले मेरा लागि ल्याउनु भएका सबै गाली मैले लिएको छैन। ल भन्नुस् त, यो सारा गाली अब कोसँग रह्यो?’

गाली गर्न हामीलाई पनि आउँछ। हामीलाई छुद्र र तल्लोस्तरका लान्छना लगाउन नआउने पनि होइन। तर, गरेको गाली आफैंलाई फर्केला भन्ने डर लाग्छ।

हामीसँग ठूला कलकारखाना छैन, ठूला उद्योग र ठूला परियोजना छैनन्। रोजगारी छैन। तर दुःखको साथ भन्नुपर्छ हामीसँग गतिलो संस्कार पनि छैन।

हाम्रोमा ‘आमाचकारी’ गाली बहुप्रचलित छ। गल्ती गर्दा त गाली छँदैछ, नगर्दाको अवस्थामा पनि गाली तयार छ। छोरीहरू तरूनी हुनेवित्तिकै परिवार र समाजलाई ती बोझ बन्ने अवस्थाले यस्ता भएको हो।

अर्काकी छोरी चेलीलाई साँझ बिहान र अप्ठ्यारो अवस्थामा बलत्कार गर्ने कुण्ठाग्रस्त समाजका सदस्यले मौकामा आफ्नै छोरीचेली बलात्कार गर्छन्।

कुण्ठाले कुहिएको समाजको समुल परिवर्तन नगरेसम्म महिलालाई भोग्ने साधनका रूपमा यो या त्यो व्यक्तिले चित्रित गरिरहनेछन्। त्यसैले परिवर्तनको पहिलो सर्त हो– स्वतन्त्रता।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.