एकै परिवारका चार जनाले सेती नदीमा हाम फाले

डोटीमा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा डोटीको आदर्श गाँउपालिका–४ का बम बहादुर बोहराकी श्रीमती सहित दुई छोरा र एक छोरी हुन् ।

हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।

बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले जानकारी दिए ।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाडको सीमाक्षेत्रमा पर्छ । घटनास्थल बोहराको घरदेखि ४ घण्टाको पैदल दुरीमा छ ।

घटना साउन १ गते साँझ भएको भए पनि प्रहरीलाई ढिला गरी साउन ३ गते बेलुकी मात्र जानकारी भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

भारतमा काम गर्ने धौलीका श्रीमान् घर आएको १५ दिन मात्र भएको थियो । शनिबार बिहानमात्र धौलीका श्रीमानसहितको टोली जिल्ला प्रहरी कार्यालय पुगेपछि घटनाका बारेमा जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.