प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित ९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । कम्पनीको मिलेमतोमा नक्कली बिमा योजना जारी गरी ठगी भएको भन्दै महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गराएको हो ।
नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको अदालतकाे प्रशासन शाखाले जनाएकाे छ।
चैत २८ गते वल्र्ड वेज म्यानपावर कम्पनीको किटानी जाहेरीमा कम्पनीका करार कर्मचारी प्रकाश रेग्मीलाई वृत्तले पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले कम्पनीका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रकुमार खेतान, सदस्यहरू रतनलाल संघाई, गोपीकृष्ण सिकारिया, सुमन जोशी, चन्द्रप्रकाश खेतान, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई, कम्पनी सचिव राजनप्रसाद अधिकारीसहित तत्कालीन कम्पनीको वैदेशिक रोजगार शाखा अधिकृत दिलीपकुमार अधिकारी र कर्मचारी प्रकाश रेग्मीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएकाे हो ।
उनीहरूविरुद्ध प्रहरीले ७४ हजार ५ सय ५९ रुपैयाँ बिगोसहित ठगी मुद्दा दायर गरेको छ । नक्कली वैदेशिक रोजगार (म्यादी) जीवन बिमा जारी गरेको आरोपमा पक्राउ परेका प्रकाश रेग्मी धरौटीमा छुटेका छन् । गत आइतबार १ लाख धरौटीमा काठमाडौंमा जिल्ला अदालतले उनलाई रिहा गरेको हो ।
Credit : onlinepana.com
