आफ्नी श्रीमती घुमाएको भन्दै दक्षिण कोरियाली नागरिकद्वारा पूर्व जर्मन चान्सलरमाथि मुद्दा दर्ता, क्षतिपूर्तिस्वरूप ९४ हजार अमेरिकी डलर माग

आफ्नी श्रीमती घुमाएको अभियोगमा पूर्व जर्मन चान्सलर जेर्हार्ड स्क्रोइडरमाथि एक दक्षिण कोरियाली व्यक्तिले मुद्दा हालेका छन् । स्क्रोइडरले दक्षिण कोरियाली दोभासे किम सो इयोनसँग आगामी जनवरीमा विवाह गर्ने घोषणा गरेका छन् । इयोन स्क्रोइडरकी पाँचौँ श्रीमती हुनेछिन् ।

तर, योनहाप न्युज एजेन्सीका अनुसार यी दुईबीच अवैधानिक सम्बन्ध रहेको आरोपमा किमका पूर्वश्रीमान्ले मुद्दा हालेका हुन् । किमले उनीसँगको विवाह सम्बन्ध नटुंगिँदै स्क्रोइडरसँग प्रेम सम्बन्ध अघि बढाएको ती युवकको दाबी छ ।

दक्षिण कोरियामा सन् २०१५ सम्म विवाहोत्तर सम्बन्धलाई गैरकानुनी मानिन्थ्यो ।त्यही प्रावधानमा टेकेर किमका पूर्वश्रीमान्ले मुद्दा दायर गरेका छन् । उनले क्षतिपूर्तिस्वरूप एक सय मिलियन वन (९४ हजार अमेरिकी डलर) माग गरेको योनहापको समाचारमा उल्लेख छ ।  यी व्यक्तिले सियोल फेमिली कोर्टमा मुद्दा दायर गरेका हुन् ।

किम र स्क्रोइडर दुवैले आफ्ना पुराना पार्टनरसँग सम्बन्धविच्छेद नगरी डेटिङ सुरु गरेको उनको दाबी छ । ‘हाम्रो विवाह अन्त्यमा टुंगियो र यसो हुनुमा आरोपित जिम्मेवार छन्,’ उनले फाइल गरेको रिपोर्टमा उल्लेख छ ।पूर्व चान्सलर स्क्रोइडर अहिले रुसी तेल कम्पनी रोसनेफ्टको अध्यक्ष छन् । उनी नोर्ड स्ट्रिम पाइपलाइनका पनि अध्यक्ष हुन् ।

७४ वर्षीय स्क्रोइडर सन् १९९८ देखि २००५ सम्म जर्मनीका चान्सलर थिए । किम उनीभन्दा २६ वर्षले कान्छी छिन् । उनले दुई वर्षअघिदेखि स्क्रोइडरको भेटवार्ताका क्रममा दोभासेको काम व्यवस्थापन गर्दै आएकी थिइन् र उनीहरू त्यसैक्रममा नजिक भएका थिए । स्क्रोइडरले पछिल्लोपटक सन् २०१६ मा पत्रकार तथा राजनीतिज्ञ डोरिस कोप्फसँग सम्बन्धविच्छेद गरेका थिए । कोप्फले आफ्नो सम्बन्धविच्छेदको एक कारण किम रहेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेकी थिइन् ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.