दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (इपिएस)को कोटा आगामी वर्ष सन् २०१९ को लागि १० हजार २ सय तोकिएको छ ।
मंगलबार सोलस्थित दूतावासमा आयोजित ११ औं गणतन्त्र दिवसको शुभकामना आदनप्रदान कार्यक्रममा राजदूत अर्जुन जंगबहादुर सिंहले जानकारी दिएका हुन् । राजदूत सिंहले कोरियन सरकारले अघिल्लो वर्षभन्दा यसपालि नेपालको लागि इपिएस कोटा बढाएको बताए ।
यसैवर्ष नेपाल र कोरियाबीच इपिएस प्रणालीको पुनस् सम्भौता गरिने पनि उनको भनाइ थियो । सन् २००७ बाट सुरु भएको इपिएस प्रणालीबारे हरेक दुई वर्षमा पुनस् सम्झौता गरिँदै आएको छ ।
इपिएस प्रणालीमार्फत कोरियामा रहेका १५ देशका कामदारहरुमध्ये नेपाली इमान्दार र मिहेनती भएकाले नै कोटा बढाएको राजदूत सिंहले स्पष्ट पारे । कोरियामा हाल कानुनी र गैरकानुनी गरी करिब ३५ हजार नेपाली कामदार रहेको अनुमान छ ।
कार्यक्रममा गणतन्त्र देश कोरियामा रहेका नेपालीहरुले एकअर्कामा सद्भाव र सहकार्य गर्दै नेपालको अबको आर्थिक विकासमा टेवा पुर्याउन सके गणतन्त्र दिवसको सान्दर्भिकता हुने धारणा वक्ताहरुले राखे ।
कार्यक्रममा कोरियाका लागि पर्यटन प्रतिनिधि तथा एनआरएन कोरियाका संरक्षक केपी सिटौला, एनआरएन एसिया प्यासिपिक महिला संयोजक जुनु गुरुङ, एनआरएन कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत उपस्थित थिए ।
Credit : onlinepana.com
