शनिबार प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि त्यहाँको सत्तारुढ दलभित्र असन्तुष्टि बढेको छ ।राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को सहयोगमा संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले शनिबार प्रदेशसभामा सम्बोधन गर्दा सत्तारुढ दल राजपा नेपालले नै विरोध गरेपछि फोरम नेपाल असन्तुष्ट देखिएको हो ।प्रधानमन्त्री ओलीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रमलाई फोरम नेपालले सफल बनाउन सरकार तथा पार्टी पंक्तिलाई निर्देशन नै दिएको थियो ।
सोही अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री ओलीको सम्बोधनलाई सफल बनाउन र सो कार्यक्रममा मन्त्री तथा प्रदेश सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका थिए ।
तर, कार्यक्रममा फोरम नेपालका मन्त्री तथा प्रदेशसभा सांसदहरुको उपस्थिति रहेपनि राजपा नेपालका अधिकांश नेता तथा मन्त्रीहरु अनुपस्थिति रहेर विरोध गरे । यही विषयले फोरम नेपालका नेताहरु राजपासँग असन्तुष्ट देखिन्छन् ।
फोरम नेपालको नेतृत्वमा सरकार भएको कारणले प्रधानमन्त्री ओलीको सम्बोधनमा कुनै प्रकारको व्यवधान तथा विरोध हुनु नहुने फोरम नेपालको चाहना थियो । तर, राजपा नेपालका केही मन्त्री र सांसद अनुपस्थित भए भने तीनजना सांसद उपेन्द्र महतो, विक्की यादव र गौरीनारायण साह प्रदेशसभामा प्रधानमन्त्री ओली सम्बोधन गर्न लाग्दा बहिष्कार गरेर बाहिरिएका थिए ।
‘प्रधानमन्त्री ओलीको सम्बोधनलाई विरोध गर्ने वा सफल पार्ने कुनै प्रकारको निर्देशन केन्द्रबाट गएको थिएन’, राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले भने, ‘प्रधानमन्त्री सम्बोधनको कार्यक्रम त्यहाँको प्रदेशसभा र सरकार थियो । त्यसमा हामीले केही भनि रहनुपर्ने थिएन । त्यहाँका साथीहरुले आ–आफ्नो तरिकाले कार्यक्रममा सहभागी हुनुभयो ।’
प्रधानमन्त्री ओलीलाई राजपा नेपालको मन्त्रीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मात्र एयरपोर्ट पुगेका थिए । र, उनी पनि प्रधानमन्त्री ओलीको सम्बोधनप्रति सन्तुष्ट छैनन् । उनले भने, ‘प्रधानमन्त्री प्रदेशसभामा गएर सम्बोधन गर्नु नै गलत हो, लोकतान्त्रिक पद्धति अनुसार हो कि होइन, त्यसको जस्टिफाइ गर्नुपर्ने देखिन्छ ।’
प्रदेश २ का जनताले गरेको अपेक्षा अनुसार प्रधानमन्त्री ओलीले सम्बोधन नगरेको मन्त्री सोनलको टिप्पणी थियो । ‘संविधान संशोधनको समस्या छ , आन्दोलनकारीहरु थुनामा छन्, कतिपयमाथि मुद्दा लागेको छ यी विषयहरुमा बोल्नु पथ्र्यो तर उहाँले त्यसबारेमा केही बोल्नु भएन’, उनले भने ।
सरकारका एकजना मन्त्रीले त्यस्तो भनिरहेको बेला मुख्यमन्त्री लालबाबु राउतले भने प्रधानमन्त्री ओलीको सम्बोधनको प्रशंशा गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीको सम्बोधन राम्रो थियो । उहाँले सबै कुरा समेटेर बोल्नुभयो ।’
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि मुख्यमन्त्री राउत संविधान संशोधन हुने कुरामा ढुक्क भएका छन् । उनले भनेका छन्, ‘संविधान संशोधनको विषयमा प्रधानमन्त्रीले जुन प्रतिवद्धता जनाउनुभएको छ, त्यसले संशोधन हुन्छ भने मलाई विश्वास लागेको छ ।’
लालबाबु राउतले यस्तो भनिरहँदा मधेश मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्णले भने प्रदेश २ मा प्रधामन्त्री ओलीको सम्बोधन संविधान विपरित रहेको दाबी गरे ।
‘मुख्यमन्त्री राउतले पनि प्रधानमन्त्री ओलीलाई प्रदेशसभामा सम्बोधन गर्न दिनुभन्दा पहिले त्यसमा बहस गर्नुपथ्र्यो, संसदमा छलफल गराउनु पथ्र्यो तर उनले त्यस्तो नगरी बिना औचित्य प्रधानमन्त्री ओलीबाट सम्बोधन गर्न लगाउनु भयो’, उनले भने ।
सरकारमा सहभागी दल राजपा नेपालले प्रधानमन्त्री ओलीको सम्बोधनलाई विरोध गरेकोबारे राखिएको जिज्ञासामा उनले सबै दल आ–आफ्नो ठाउँमा स्वातन्त्र भएको र यसमा आफ्नो कुनै टिप्पणी नरहने बताए । प्रधानमन्त्रीले मुख्यमन्त्रीसँग मागेका थिए समय प्रदेश २ को प्रदेशसभामा सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओलीले मुख्यमन्त्री राउतसँग समय माग गरेका थिए ।
ओलीकै चाहनाअनुसार मुख्यमन्त्रीले भदौ २ गतेका लागि सम्बोधनको चाँजोपाँजो मिलाएका हुन् ।बरमझियामा सहिद रामवृक्ष यादवको स्मृति सभामा ओली सहभागि हुने अवसर पारेर सम्बोधनको चाँजोपाँचो मिलाइएको हो ।
Credit : onlinepana.com
