‘युट्युब’ कै भरमा जीविका चलाउँदैछन् कलाकारहरु ! यस्तो छ है ‘युट्युब’ को नालीबेली…

एक समय थियो– चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक–सर्जकले निश्चित रोयल्टी पाउँथे । कम्पनीले नाफा कमाउँथे । तर, अहिले जमाना फेरिएको छ । श्रब्य क्यासेट, सीडी, सीरआरबीटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक ‘युट्युब’ मा केन्द्रित हुन पुगेको छ ।

प्रविधिको फड्कोले सङ्गीत बजारको स्वरुप बदलेको हो । श्रब्य क्यासेट त इतिहास भइसक्यो । सीडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

२०५८ मा १ लाखभन्दा बढी बिकेको गीतिएल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक–गायक विष्णु खत्रीको अहिले आफ्नै ‘युट्युब च्यानल’ छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना ‘युट्युब’ बाटै सार्वजनिक गर्दै आएका छन् । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ,’ खत्रीले भने– ‘अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवर्द्धनमा छु ।’ राम्रो सिर्जना र विषयवस्तु ‘युट्युब’ मा दिन सके लगानी खेर नजाने खत्रीको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ ‘युट्युब’ मा ८७ लाखभन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा ‘युट्युब’ मा सर्वाधिक हेरिनेमध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ,’ सपूतले भने– ‘हालसम्म मेरा सिर्जनाले ४ करोडभन्दा बढी दर्शक पाएका छन् ।’ राम्रो सामग्री दिन सकियो भने ‘युट्युब’ बाट कमाइ लिन सकिने सपूतको भनाइ छ ।

जागिर खाँदा आउने जति पैसा अहिले ‘युट्युब’ बाटै नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा चाहिँ आउने अवस्था नरहेको सपूतले सुनाए । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी भित्रने गरेको सपूतको अनुभव छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो, त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउँछन् । ‘युट्युबाट करिव मासिक ५० हजार जति कमाउछु,’ थापाले भने– ‘कहिले बढी पनि आउँछ, कहिले कम ।’ थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत ‘युट्युब’ मा ३३ लाखले हेरे । दसैंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत ‘युट्युब’ बाटै सार्वजनिक गर्ने तयारीमा छन् उनी ।

आफ्नो युट्युब च्यानलमा समूह सदस्य (सब्स्क्राइबर) पुगेबापत थापाले हालै मात्र ‘युट्युब’ बाट १ लाख पुरस्कार समेत पाएका छन् । गीत हेर्ने, लाइक र टिप्पणी आदान–प्रदान तथा ‘सब्स्क्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको ‘युट्युब’ मा राम्रो अभिलेख रहने गरेको छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकारहरु बताउँछन् । गीतको बीचमा ‘युट्युब’ ले अन्तर्राष्ट्रिय ब्रान्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा ‘युट्युब’ को प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र ‘युट्युब’ च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । सुरुमा ‘युट्युब’ एकाउन्ट परीक्षणमा रहने गरेको छ र ‘मनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ । ‘युट्युब’ ले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल ‘युट्यब’ को प्राथमिकतामा पर्न सकेको छैन ।

‘युट्युब’ मा विकृतिहरु पनि रहेको बताउँछन् लोकगायक खत्री । अनुमति नलिर्इ अर्कैको सिर्जनालाई आफ्नो ‘युट्युब’ मा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उनको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ,’ उनले भने– ‘फाइदा अर्कैले लिइरहेको हुन्छ, नियमन निकायले विकृति रोक्नुपर्छ ।’

‘युट्युब’ कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउँछन् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापा । ‘राम्रो दर्शक पाउँदा पैसा पनि छ,’ थापाले भने– ‘यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।’

‘युट्युब’ बाट चर्चा बटुलेका कलकार देश–विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो । कम्पनीमार्फत ‘युट्युब’ मा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आ–आफ्नै एकाउन्ट खोल्न थालेका छन् ।

लगानी जुटाएर गीतको श्रब्य–दृश्य तयार पार्ने र त्यसलाई आफ्नै ‘युट्युब’ बाट प्रवर्द्धन गर्ने क्रम अहिले बढ्दो छ । ‘युट्युब’ ले ‘मेकानिकल रोयल्टी’ भनेर कम्पनीलाई पैसा उपलब्ध गराउँछ तर आफ्नै व्यक्तिगत एकाउन्ट भएका कलाकारलाई भने खातामा पैसा जम्मा गरिदिन्छ ।

‘रोयल्टी सङ्कलन समाज, नेपाल’ र ‘गुगल’ बीच भएको सम्झौतापछि नेपालमा ‘युट्युब’ सम्बन्धी च्यानल व्यावसायिक बन्न थालेका हुन् ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.