मलेसिया प्रस्थान गर्‍यो नेपाली क्रिकेट टोली

सन् २०२० मा अष्ट्रेलियामा हुने टी– २० विश्वकप क्रिकेटको पहिलो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार मलेसिया प्रस्थान गरेको छ ।

असोज १७ देखि २६ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भुटान, चीन, म्यानमा र थाइल्याण्ड सहभागी हुनेछन् । राउण्ड रोविनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएर्इ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएर्इ, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रस्थान गर्ने खेलाडीमा कप्तान पारस खड्का, अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेको नेपाली टोलीका टोली व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिएका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षकमा जगत टमाटा र फिजियोमा दिनेश भट्ट तथा व्यवस्थापकमा रमन छन् । छनोट प्रतियोगिताअन्तर्गत नेपालले असोज १७ मा म्यान्मा, २० मा मलेसिया, २१ मा थाइल्याण्ड, २३ मा भुटान, २४ मा चीन र २६ सिङ्गापुरसँग खेल्नेछ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.