आन्तरिक विवादमा सरकार नेतृत्व र प्रमुख प्रतिपक्ष

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेका छन् । दुबै पार्टीभित्र भएको आन्तरिक विवादले कसलाई कहाँ पुर्‍याउने भन्ने बहस चल्न शुरु भएको छ । नेकपा र कांग्रेसभित्र कार्यकर्ता व्यवस्थापनदेखि गुट उपगुटले पार्टीलाई बिस्तारै कमजोर बनाउँदै लगेको छ ।

पूर्वएमाले र माओवादीबीच एकता भएर बनेको नेकपा पार्टी एकताको चरण पूरा नहुँदै विवादमा फस्दा कांग्रेसमा सभापतिलाई शक्तिशाली बनाउने कि अहिलेकै अधिकार पनि कटौती गर्ने भन्ने बहसले नेपाली राजनीतिभित्र तरंग पैदा गरेको छ ।

दुईतिहाइ बहुमतसहित सत्ताको बागडोर सम्हालिरहेको नेकपामा पछिल्ला केही दिनदेखि विवाद चर्किएको छ । प्रदेशको नेतृत्व चयनमा एकलौटी गरिएको भन्दै बरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रुपमै असन्तुष्टि पोख्दा नेकपाभित्र ठूलै हलचल पैदा भएको छ । तर माधव नेपाल लगायत नेताहरुको असन्तुष्टिलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने हल्का ढंगले सोच्दा उनिहरुमा झनै असन्तुष्टिको चाङ लागेको छ ।

एक नेताले भने, ‘नेपालले आफ्नो असन्तुष्टि लिखित रूपमै पनि पार्टीलाई बुझाएका छन् ।’ तर नेपालको असन्तुष्टि सम्बोधनसहित तल्ला कमिटी, भ्रातृ संगठनको एकता प्रक्रिया टुंग्याउनका लागि भन्दै आइतबार बोलाइएको सचिवालय बैठक अध्यक्षद्वयको ब्यस्तताका कारण भन्दै बस्न सकेन् । नेपाल पक्ष पछिल्लो समय विधान विपरित गरिएको निर्णय सच्याउन स्थायी कमिटीको बैठक बोलाउनु पर्ने पक्षमै छ । तर पार्टीले भने नेपाल पक्षधरको कुरा भने हावामा उडाइरहेको नेकपाका एक नेताले घटना र बिचारलाई बताए । ति नेताले भने, ‘बेलैमा नसोचे अध्यक्ष ओलीले पछुताउनुपर्नेछ ।’

उता, नेपाली कांग्रेसभित्र पनि आन्तरिक किचलो उस्तै छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताको रस्साकस्सी नै छ । उनिहरुको आपसी विवाद र रस्साकस्सीकै कारण जनजीविकाका मुद्दामा सरकारलाई -याख-याख्ती पार्नुपर्ने प्रतिपक्षी दायित्वमा कांग्रेस निरन्तर चुकिरहेको छ । सरकारको हरेक काम कारबाहीमा खबरदारी गर्नुपर्ने कांग्रेस बेतुकको भुमिका निर्बाह गरिरहेको छ भने आफ्नै पार्टीभित्रको विवाद र रस्साकस्सीले सरकारलाई खबरदारी गर्न चुकेको छ ।

पार्टीलाई संघीय संरचनाअनुसार लैजाँदा सभापतिलाई थप शक्तिशाली बनाउने कि अहिलेकै अधिकार पनि कटौती गर्ने भन्ने विषयमा कांग्रेस समूहगत रुपमै विभाजित हुँदा सरकारको काम कारवाहीको विरोधलाई जनभावनाको प्रतिनिधित्व गर्ने सवालमा उसको भूमिका निस्प्रभावी छ ।
सभापतिको अधिकार खुम्च्याउँदा पार्टी सञ्चालनमा समस्या परेको भन्दै संस्थापन पक्ष बढाउनु पर्ने र पौडल समूह थप पेलिन सक्ने आशंकामा बढाउन नहुने पक्षमा छ ।

पार्टीको विवाद समाधान र सरकारको निगरानीभन्दा कांग्रेसको शीर्ष नेता आसन्न महाधिवेशनमा केन्द्रित हुन थालेका छन् । समयमा सही निर्णय लिन नसक्ने भएकै कारण कांग्रेसले आफ्नो ट्रयाक छाड्दै गएको आभाष नेता तथा कार्यकर्तालाई भएको छ । कसरी आफू शक्तिमै रहिरहने भन्ने देउवाको रणनीति र कसरी शक्तिमा पुग्ने भन्ने रामचन्द्र पौडेल लगायतका नेताका कारण कांग्रेस कमजोर बन्दै गएको छ ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दुवै आन्तरिक किचलोमा रहँदा उनीहरुबीच दुई वटा समानता भने छ । पहिलो–संस्थापन पक्षले एकलौटी गरेको इतर समूहको गुनासो । र, दोस्रो–नेतृत्वले विधान, विधि र प्रक्रिया बाहिर गएर पार्टी सञ्चालन गरेको आरोप । नेकपामा त्यसको नेतृत्व माधव नेपालले गर्दा कांग्रेसमा रामचन्द्र पौडेलले गरिरहेका छन् ।

सत्तारुढ नेकपा र प्रतिपक्षी दल कांग्रेसले जनताको भावना अनुरुपको काम नगरी सधैं शक्ति, आन्तरिक किचलो र गुट उपगुटमै केन्द्रीत भइरहने हो भने जनताले आगामी दिनमा कसरी विश्वास गर्लान् ? पक्कै पनि यो प्रश्न नेकपा र कांग्रेसलाई सोझिने पक्का छ । नेकपा सरकारमा आएलगत्तै भएका बलत्कार, अपहरण, मंहगीजस्ता घटनाहरु दिनप्रतिदिन बढ्दो छ तर प्रतिपक्षी दल कांग्रेस भने खबरदारी गर्नुको सटट आन्तरिक किचलोमा उत्रिएको छ । यसले स्वयम कांग्रेस र सत्तारुढ दललाई फाइदा भने पु-याउँदैन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.