प्रधानन्यायाधीश प्रकरणः ‘सत्तापक्ष प्रतिपक्ष आ–आफ्नै रणनीति बनाउन व्यस्त’

काङग्रेसले संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि प्रस्ताव भएका दीपकराज जोशीको विषयलाई लिएर विवाद गर्नुको साटो सहमतिबाट अघि बढ्नुपर्ने बताएको छ ।  नेपाली काङ्ग्रेसका नेता तथा प्रमुख सचेतक बालकृष्ण खाणले जोशीको विषयमा उठेका प्रश्नबारे छानविन र अभिलेख गर्ने निकाय संवैधानिक परिषद र संसदीय समितिको भएकाले पार्टीले त्यसमा कुनै हस्तक्षेप नगरेको र नगर्ने बताएका छन् ।

‘नेपाली काङग्रेस सहमतिबाटै अघि बढ्छ, जोशीको विषयमा पनि सहमतिमार्फत नै अघि बढ्नुपर्छ भन्ने काङग्रेसको भनाई हो’ प्रमुख सचेतक खाणले भने,‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच विवाद गर्नु उपयुक्त हुँदैन ।’

प्रस्तावित प्रधानन्यायाधीश जोशीको गत बिहीबार नै संसदीय सुनुवाई सकिएपनि निर्णय हुन सकेको छैन । जोशीले गरेका फैसला विवादित भएको तथा शैक्षिक योग्यताका प्रमाणपत्र समेत नक्कली भएकाले उनको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अस्वीकार गर्नुपर्ने सत्तापक्षका सांसदहरुको भनाई छ । तर, सत्तापक्षको यो भनाईमा प्रतिपक्ष सहमत छैन । प्रमुख प्रतिपक्ष जोशीको नाम सर्वसम्मत अनुमोदन गर्नुपर्ने पक्षमा उभिएपछि निर्णय गर्न कठिन भएको हो ।

यसअघि बुधबार निर्णय गर्न बसेको बैठकले कुनै निर्णय लिन नसकेपछि समितिको बैठक शुक्रबार बिहान १० बजेका लागि बोलाइएको छ । शुक्रबार सम्म प्रतिपक्षका सांसदले पार्टी नेतृत्वसँग छलफल गरेपछि मात्रै निर्णय गर्ने बताएपछि बैठक शुक्रबार राखिएको हो ।

समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सकभर सहमतिमै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । तर, सहमतिका नाममा समितिले सुनुवाई सकेको साता दिनसम्म पनि निर्णय सुनाउन नसकेपछि समितिमाथि नै प्रश्न उठाउन थालिएको छ ।

यसैबीच जोशीलाई अस्वीकार गर्नुपर्ने सत्तापक्षको प्रस्तावप्रति प्रतिपक्षले असहमति जनाउँदै बैठकनै बहिस्कार गरेको खण्डमा जोशीविरुद्ध महाअभियोग प्रस्ताव समेत दर्ता गर्ने तयारी सत्तापक्षले गरेको छ । सत्तापक्षका एक सांसद सुमनराज प्याकुरेलले यदि जोशीको नामबारे प्रतिपक्षले बखेडा निकाले महाअभियोगको प्रस्ताव दर्ता गर्न सकिने बताएका छन् ।

उता, प्रमुख प्रतिपक्षका तर्फबाट समितिका सदस्य रहेका ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रमा छलफलको माध्यमबाटै एकपक्षले अर्को पक्षलाई सहमतिमा लिन सकिने भन्दै सिद्धान्त मुख्य र व्यक्ति गौण विषय भएको बताए । ‘अहिलेको मुख्य विवाद सिद्धान्तको हो, व्यक्तिको होइन, त्यसैले मुलुकलाई स्थायित्व र कानुनी शासनको दिशामा अगाडी बढाउन अहिलेको आवश्यक्ता हो । त्यसका लागि न्यायपालिकालाई विवादित बनाउनुहुँदैन, कानुनी शासन स्थापित गराउनुपर्छ ।’

त्यसो त कतिपयले उनीमाथि प्रश्न उठेपछि राजीनामा दिएर बाटो खोलिदिन समेत सुझाव दिएका छन् । तर, जोशीले राजीनामा दिन मानिरहेका छैनन् । काङग्रेसले जोशीलाई राजीनामा दिन लगाएर मध्यमार्गी बाटो लिन्छ त भन्ने प्रश्नमा कार्की त्यसको निर्णय लिने अधिकार जोशीकै भएको बताए । भने, ‘त्यसमा हामीले यसो गर्नुस उसो गर्नुस भन्ने कुरा भएन त्यो उहाँ (जोशी) को कुरा हो ।’

यसैबीच बिहीबार जोशीले आफ्नो पक्षमा निर्णय गराउन सत्तापक्षका केही नेताहरुलाई भेटेका समचारहरु समेत सार्वजनिक भएका छन् ।

Credit : onlinepana.com

उपेन्द्र महतोको ‘भात बैठक’पछि दीपकराज जोशीलाई हर हालतमा ‘रोक्ने’ निर्णय

प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित दीपकराज जोशीका बारेमा शुरु भएको संसदीय सुनुवाई समितिको बैठक पुनः स्थगित भएको छ । दुई दिनदेखि स्थगित भएर बुधबार (साउन १६ गते)का लागि तय गरिएको बैठक पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रकट गर्दै स्थगित गरिएको हो । सुनुवाई समितिको अर्को बैठक आगामी शुक्रबार विहान १० बजेका लागि तया गरिएको छ ।

सुनुवाई समितिका पन्ध्र सदस्यमध्ये दुई तिहाई सदस्यहरूले नियुक्तिको प्रस्ताव अस्वीकार गर्न सक्ने कानूनी व्यवस्था छ । सोही कानूनी प्रावधानमा टेकेर जोशीको नाम अनुमोदन नगर्न सत्तारुढ नेकपाका प्रमुख नेताहरू केपी शर्मा ओली र प्रचण्डले निर्देशन दिएका छन् ।

कम्युनिष्ट सांसदहरूको मात्र दुई तिहाई सदस्य नपुग्ने भएकोले उपेन्द्र यादवलाई समेत विश्वासमा लिइएको छ । दीपकराज जोशीलाई प्रधानन्यायाधीश बन्न नदिन केही नवधनाड्य तथा कम्युनिष्ट नेताहरू योजनाबद्ध रूपमा लागिपरेको तथ्यहरू फेलापरेका छन् ।

यसका मूख्य डिजाइनरमा ब्यापारीहरू उपेन्द्र महतो र कैलाश सिरोहिया रहेका छन् । दीपकराज जोशी कम्युनिष्ट पृष्ठभूमिका व्यक्ति नभएकोले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड उनीप्रति शुरुदेखि नै सशंकित थिए । त्यसैले संसदीय सुनुवाईसँगै दीपकराज जोशीसँग ‘आफ्नो पक्षमा काम गर्ने’ प्रतिबद्धता प्रधानमन्त्री ओली र प्रचण्डले चाहेका थिए ।

त्यसनिम्ति उनीहरूले जोशीसँग ‘कुराकानी’ (‘कि बोर्गेनिङ’ ?) गर्नका लागि वर्षमान पुनलगायत केही नेताहरूलाई जोशीको निवासस्थानमै पठाएका थिए । र, स्वयम् ओली र प्रचण्डले पनि जोशीसँगै भेटेर ‘कमिटमेन्ट’ लिन खोजेका थिए । तर, जोशी उनीहरूको अपेक्षाअनुरुप प्रतिबद्धता प्रकट गर्न जोशी तयार भइरहेका थिएनन् ।

प्रचण्ड, केपी ओली र उपेन्द्र यादवका खास ‘दाता’का रूपमा समेत चिनिएका उपेन्द्र महतो र कैलाश सिरोहिया जसरी भए पनि दीपकराज जोशीलाई रोकेर चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश बनाउने प्रयासमा छन् । जोशीको कार्यकाल डेढ वर्षपछि सकिने र त्यतिबेला चोलेन्द्र शमशेरको नाम नियुक्तिका लागि प्रस्ताव गरिए पनि अन्य दुई जना न्यायाधीशहरूको नामसमेत प्रस्तावित गरिने छ ।

त्यतिबेला चोलेन्द्रबाहेक दुबैजना कम्युनिष्ट पार्टीनिकट व्यक्तिहरू हुनसक्ने र त्यस्तो अवस्थामा कम्युनिष्ट सरकारले ठ्याक्कै आफ्ना मान्छेलाई नियुक्त नगरेर चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीश बनाउन सक्ने सम्भावना नभएकोले महतो र सिरोहियाले अहिले नै राणालाई नियुक्ति गराउन चाहेका हुन् । गत सोमबार (साउन १४ गते) उपेन्द्र महतोले टंगालस्थित आफ्नो निवासमा आयोजित विशेष दिवाभोजमा पनि चोलेन्द्रलाई अहिले नै प्रधानन्यायाधीश बनाउन जोड गरेका थिए ।

महतोले यही प्रयोजनका निम्ति आयोजना गरेको दिवाभोजमा नेकपाका नेता प्रचण्ड, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, न्यायाधीश चोलेन्द्र शमशेर राणा र कैलाश सिरोहियालाई सहभागी गराइएको थियो । तर, अहिले नै चोलेन्द्रलाई प्रधानन्यायाधीश बनाउनुभन्दा ओमप्रकाश मिश्रलाई अहिले उक्त पदमा नियुक्ति गर्ने र आगामी पुस १५ गते मिश्रले अवकाश पाइसकेपछि चोलेन्द्रलाई सो स्थानमा नियुक्त गर्न सहज र स्वभाविक हुने निश्कर्षमा उक्त ‘दिवाभोज बैठक’ पुग्यो ।

सोही दिवाभोज बैठकको योजनाअनुसार कैलाश सिरोहियाको लगानी रहेको अखबारले जोशीविरुद्ध अनेक समाचार सम्प्रेषण गरेर वातावरण बनाउने र सुनुवाई समितिले सोही आधारमा जोशीको नियुक्तिलाई अनुमोदन नगर्ने तया भएको छ । ज्ञातव्य छ, उपेन्द्र महतो र कैलाश सिरोहिया कान्तिपुर टेलिभिजनका साझेदार हुन् । तत्कालिक प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त हुने स्थिति बनाएर राणाले ठूलो गुन लगाएकोले कैलाश र उपेन्द्र राणालाई प्रधानन्यायाधीश बनाउन ‘जे गर्न पनि’ तयार देखिएका छन् । यसैले यतिबेला उनीहरू जोशीको अनुमोदन हुन नदिन हर तरहले सक्रिय भएका छन् ।

उपेन्द्र महतोले दिवाभोज बैठक राख्नुअघि गत शनिबार र सोमबार प्रधानमन्त्री ओली र प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा दीपकराज जोशीसँग विशेष भेटवार्ता गरेका थिए । शनिबारको भेटमा ओली र प्रचण्डले जोशीबाट सहयोगको ‘कमिटमेन्ट’ लिने कुरामा जोड दिएका थिए । तर, सोमबार उपेन्द्र महतोको घरमा ‘भात खाइसकेपछि’ प्रचण्ड र ओली जोशीको नाम कुनै पनि हालतमा अनुमोदन नगर्ने निश्कर्षमा पुगे ।

सोमबार प्रधानमन्त्री निवासमा जोशीसँग भेटवार्ता हुँदा प्रचण्डले राजीनामा दिएर आफूहरूलाई सहयोग गरिदिन आग्रह गरेका थिए । जवाफमा जोशीले अफवाह फैलाउनतिर लाग्नुभन्दा आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको पुष्टि गर्नतिर लाग्न चुनौती दिएका थिए । जोशीले कानुनबमोजिम हुने काममा आफूबाट सहयोग हुने, तर राजीनामा नदिने स्पष्ट गरेका थिए । यस घटनापछि प्रचण्ड र केपी ओली जसरी भएपनि जोशीको नाम अनुमोदन हुन नदिन दृढतापूर्वक लागिपरेका छन् ।

उपेन्द्र महतोको ‘भात बैठक’पछि प्रचण्ड र केपी ओलीको सल्लाहबमोजिम सुनुवाई समितिका हरेक सदस्यको साथमा प्रहरी सुरक्षाकर्मी खटाइएको छ । सुनुवाई समितिकै कोही सदस्य बिक्न सक्ने र त्यस्तो अवस्थामा आफ्नो दुई तिहाई बहुमत पुग्न नसक्ने भएकोले सांसदहरूमाथि निगरानी राख्न प्रहरी खटाइएको हो । यस घटनाले कम्युनिष्ट नेताहरू धनाड्यको इशारा तथा योजनाअनुसार कसरी काम गर्छन् भन्ने स्पष्ट भएको छ । र, नेपालमा कुन स्तरको षडयन्त्र कसरी हुने गर्छ भन्ने पनि यस घटनाले देखाएको छ ।

Credit : onlinepana.com

गोविन्द केसीलाई किन भेटेको भन्दै प्रधानमन्त्री ओलीले हप्काएपछि नारायणकाजी श्रेष्ठको राजीनामा, भन्छन्– कसैसँग हात मिलाउन पनि ओली र दाहालसँग सोध्नुपर्ने ?

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का नेता नारायणकाजी श्रेष्ठले साउन ६ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर सत्याग्रहमा रहेका चिकित्सक डा. गोविन्द केसीसँग भेटवार्ता गरे । त्यसलगत्तै डा. केसी समर्थक केहीलाई आफ्नै निवासमा बोलाएर केसीका माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गरे ।

नेता श्रेष्ठ यसअघिका सत्याग्रहमा पनि डा. केसीकै पक्षमा उभिएका नेतामध्ये एक हुन् । तर उक्त भेटवार्ताले भने ने क पा भित्र तरंग ल्याइदिएको छ ।ने क पा का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नेता श्रेष्ठले डा. केसीलाई भेटेको केहीदिनभित्रै डा. केसीका माग पूरा गर्ने सम्झौता गरे पनि श्रेष्ठले भने उक्त भेटपछि पदबाट राजीनामा दिनुपरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग राखेर सत्याग्रहमा रहेका डा. गोविन्द केसी, उनको अभियानमा सहभागी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुलाई भेटेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नेता श्रेष्ठलाई बैठकमै हप्काएपछि पार्टीको प्रवक्ताबाट नेता श्रेष्ठले राजीनामा दिएका हुन् ।

श्रेष्ठ ने क पा को एकताका सुत्रधारसमेत हुन् । श्रेष्ठलाई पार्टीमा छलफल नगरी डा. केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेस नेताहरुसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको भन्दै अध्यक्षद्वयले हप्काएका थिए । तर ने क पा का महासचिव विष्णु पौडेल र संसदीय दलका उप नेता सुवास नेम्वाङले नै डा. केसीलाई जुस खुवाएर सत्याग्रह तोडाएका हुन् ।

“गत साउन ६ गते पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ डा. गोविन्द केसीको माग पूरा गर्नुपर्र्ने भन्दै भेट्न जानु भएको थियो । श्रेष्ठले केसीलाई भेटेको दोस्रो दिन नेकपाका नेताहरु बाुलवाटारमा केसीको मागको बारेमा छलफल गर्न जम्मा हुनुभएको थियो । त्यहाँ नै प्रचण्ड र ओलीले हामीलाई नसोधी डा. केसी, सुशीला कार्की, कृष्ण पहाडीलगायत कांग्रेसका नेतालाई भेट्न किन गएको ? भन्दै हप्काउनुभएको थियो । दुई अध्यक्षको कुरा सुनेपछि नारायणकाजी श्रेष्ठले पनि त्यसो भए तपाईँहरुको प्रवक्ता तपाईँहरु नै खानुहोस् भनेर बैठक छाडेर हिँड्नुभएको हो,” ने क पा उच्च स्रोतले भन्यो ।

स्रोतका अनुसार त्यहीदिन बेलुका अर्थात साउन ७ गते नै श्रेष्ठले राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामा भने स्वीकृत भएको छैन । पार्टीका नेताहरुले अहिलेसम्म यो विषय गोप्य राखेका थिए ।

“डा. केसीको माग पूरा गर्र्नुपर्छ, यो राष्ट्रिय एजेन्डा हो भन्दा ओली र प्रचण्डले (अ) वस्तुवादी, अलोकतान्त्रिक र अराजनीतिक माग भनेर भन्नुभयो,” श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, “कसैलाई हात मिलाउन पनि ओली र प्रचण्डसँग सोध्नुपर्ने भएपछि प्रवक्ता पद किन चाहियो ? भनेर राजीनामा दिएँ ।

मान्छे स्वतन्त्र हुन चाहन्छ कसैको दबाबमा बस्न चाहँदैन । कम्युनिष्ट पार्टीको सिद्धान्त पनि त्यो होइन । अब म राजीनामा फिर्ता लिने सोचमा छैन । केसी र सरकारबीचको ८ गतेको वार्ता मेरै पहलमा भएको थियो ।”

प्रवक्ता श्रेष्ठले बुधबार अपरान्ह छोटो कुरा गर्दै राजीनामा दिएको पुष्टि गरे । उनले भने, “म अहिले पनि पार्टीको काममा सक्रिय छु । तर प्रवक्ताबाट राजीनामा दिएको हुँ । तर मेरा बारेमा अनावश्यक हल्ला फैलाइएको छ । म राजीनामा फिर्ता लिने मुडमा छैन ।”

“कम्युनिष्टहरु एक हुनुपर्छ भन्ने मेरो एक सुत्रीय भनाइ हो । मलाई कस्तो भूमिका दिइयो भन्ने कुरा पार्टीले नै मुल्याङ्कन गर्ला । पार्टीको सचिवालय सदस्यको रुपमा रहेर अब काम गर्छु,” नेता श्रेष्ठको भनाइ छ ।ने क पाका एक नेताका अनुसार नेता विष्णु पौडेललाई महासचिव बनाइएपछि केही नेता अझैसम्म पनि असन्तुष्ट छन् । त्यसमध्ये श्रेष्ठ पनि एक हुन् ।

पार्टीलाई नसुधारे बाह्य शक्तिले फाइदा लिन्छ

सरकार र पार्टी सञ्चालनका क्रममा केही त्रुटि भएको भन्दै सुधार्नुपर्ने श्रेष्ठको धारणा छ ।“कम्युनिष्ट पार्टीमा सबै नेता र सबै कार्यकर्ता हुन् । एकलौटी तरिकाले जान खोजे पार्टीलाई फाइदा पुग्दैन,” उनले भने, “देशलाई पनि फाइदा पुग्दैन । हामीले बेलैमा पार्टीभित्र भएका कमी कमजोरीहरु सुधार्न नसके बाध्य शक्तिले फाइदा लिन सक्छन् ।”

सचिवालय भन्छ, श्रेष्ठको राजीनामा फिर्ता हुन्छ

नेकपाको विधानमा ९ सदस्यीय सचिवालय रहने व्यवस्था रहेको छ । पार्टी प्रवक्ता हुनको लागि सचिवालय सदस्य हुनुपर्ने हुन्छ । त्यसैले श्रेष्ठको राजीनामा फिर्ता हुने सचिवालयले बताएको छ । “नेकपामा ९ सदस्यीय सचिवालय सदस्य रहेको छ,” एक सचिवालय सदस्यले भने, “अन्य कोही व्यक्तिलाई प्रवक्ता बनाउनको लागि सचिवालय सस्दय बनाउनुपर्ने हुन्छ ।

त्यसको लागि विधान नै संशोधन गर्नुेपर्ने हुन्छ । भर्खरै एकता भएको पार्टीमा विधान संशोधन गर्दा नराम्रो सन्देश जानसक्छ त्यसैले नारायणकाजीको राजीनामा फिर्ता हुने सम्भावना रहेको छ ।”

Credit : onlinepana.com

सडक संघर्षमा कांग्रेस किन उत्रियाे ?

कांग्रेसले काठमाडौँसँगै देशका विभिन्न ठाउँमा सरकारको विरूद्धमा आन्दोलन गरेको छ । केपी ओली नेतृत्वको वामपन्थी सरकारले जनविरोधी काम गरेको आरोप लगाउँदै कांग्रेसले ७७ वटै जिल्ला सदरमुकाम तथा स्थानीय तहका वडा कार्यालयमा आन्दोलन गरेको हो ।

कांग्रेसका शीर्षस्थ नेताहरुले काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा सभा गरेको थियो । संघीय संसद तथा प्रदेशसभा संसदका सभामुख/उपसभामुख फरक–फरक पार्टीबाट हुनुपर्ने संबैधानिक प्रावधान रहेको छ ।

पूर्व एमाले र माओवादीले भागवन्डाका आधारमा संघीय संसद र ६ वटा प्रदेश सभाको सभामुख/उपसभामुख लिएका थिए । अहिले ति दुवै दल एकीकरण भई नेकपा बनेका छन् । कांग्रेसले संबैधानिक प्रावधानअनुसार सभामुख/उपसभामुख मध्ये एक पद विपक्षी दललाई दिनुपर्ने भन्दै आन्दोलन गरिरहेको छ ।

त्यस्तै, कांग्रेसले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरु वर्तमान ओली नेतृत्वको सरकारले नस्वीकार्ने घोषणा गरेपछि कांग्रेसले रूष्टता प्रकट गरेको हो ।

तत्कालीन देउवा सरकारले ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय र मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णय खारेज गरेर सरकार जनविरोधी बनेको भन्दै कांग्रेसले विरोध गरेको हाे ।

यस्ता छन् आरोप

-सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने

-संघीय व्यवस्थाको भावनाविपरीत अधिकारहरूको केन्द्रीकरण गरिएको

-शक्ति पृथकीकरणको सिद्धान्तको खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा सरकार प्रस्तुत भएको

-संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्ने

-सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने

-कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यावसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति

-कांग्रेसका सभापति प्रधानमन्त्री भएका वेला विधिसम्मत तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानुनी तरिकाबाट खारेज गरिएको

-तत्कालीन सरकारको ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय खारेज गरेको

-मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने निर्णय खारेज गरेको

-भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णय खारेज गरेको

-मूल्यवृद्धि अकासियो

-स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित पारियो

-निजी क्षेत्र तथा राष्ट्रिय जीवनका विभिन्न क्षेत्रहरूले कानुन मान्दै आफ्ना क्रियाकलापलाई अगाडि बढाउन समस्या भएको

-स्वतन्त्रतामाथि बन्देज

-बाढीपहिरोबाट पीडित जनताका आवश्यकता र समस्याप्रति उदासीन

Credit : onlinepana.com

गुलरिया नगरपालिकाका असिस्टेन्ट सव ईन्जिनियर अक्तियारको नियन्त्रणमा

गुलरिया नगरपालिकामा कार्यरत असिस्टेन्ट सव ईन्जिनियर रमेश कुमार गौतमलाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले मंगलवार नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसंग १० हजार रुपैया घुस लिएको रकम सहित गौतमलाई कार्यालय वाटै नियन्त्रणमा लिईएको हो ।ववई बहुमुखी क्याम्पस गुलरियाको शौचालय निर्माण कार्य सम्पन्न प्रतिवेदन तयार गर्न सेवाग्राहीसंग घुस रकम गरिरहेको भन्ने सुचनाका आधारमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरवाट गएको टोलीले घुस रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

गौतमलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भैरहेको अक्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दङ्गाल द्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

Credit : onlinepana.com

पूर्व एमाले र माओवादी केन्द्रबीच तीब्र मतभेद, नारायणकाजीले दिए राजिनामा

पार्टी एकता भएको छोटै समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच तीब्र मतभेद सुरु भएको छ । बैठकदेखि सार्वजनिक कार्यक्रममा एक अर्काको आलोचनादेखि विरोध असन्तुष्टि हुन लागेको छ । सरकार संचालनप्रति पनि पूर्व माओवादी केन्द्रका नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् ।

आन्तरिक किचलो व्यवस्थापन भन्दापनि फैलिँदै गइरहेको छ । यसैबीच पार्टी प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राजिनामा दिएका छन् । अध्यक्ष ओलीसँगको विवाद बढ्दै गएपछि श्रेष्ठले राजिनामा दिन बाध्य भएको बताइएको छ । उनले गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् ।

पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीविना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए ।

अर्का अध्यक्ष दाहालले पनि ‘पार्टीको जानकारीविना भेटेर गलत काम गरेको र उनको नाममा काँग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।

स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले सो जिम्मेवारी दिएका हुन् । तर, केही दिनयता घाँटीको समस्याका कारण घरमै आराम गरिरहेका प्रवक्ता श्रेष्ठ भने शीर्ष नेताहरूसँग सम्पर्कमा नरहेको सार्वजनिक भएको छ ।

Credit : onlinepana.com

नेपाली काँग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज देशभर र विदेशका ३० देशमा समेत विरोध प्रदर्शन गर्दै छ ।

कांग्रेसले आज देशका ७७ वटै जिल्ला सदरमुकाममा सरकारविरोधी प्रदर्शन गर्दैछ  । सरकार अधिनायकवादउन्मुख हुँदै गएको भन्दै सचेत गराउन विरोध प्रदर्शन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएक छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने भए पनि सत्तारूढ कम्युनिस्ट दलले एउटा अर्को दललाई दिन आनाकानी गरेको, महँगी र मूल्यवृद्धि रोक्न नसकेको, निषेधित क्षेत्र तोकेको, संवैधानिक अंगमा हस्तक्षेप गरेकोजस्ता सरकारका कार्यशैली अधिनायकवादउन्मुख रहेकाले खबरदारीसभा गर्न लागेको शर्माले जनाए ।

विदेशमा सोही दिन वा अगस्ट १ देखि ३ तारिखसम्म सरकारविरोधी प्रदर्शन र विरोध कार्यक्रम गर्ने तयारी छ । आफ्नो अनुकूलमा ती देशका नियम–कानुनभित्र बसेर विरोध प्रदर्शन गर्न १५ दिनअघि नै सबै जनसम्पर्क समितिलाई परिपत्र गरिएको नेपाली काँग्रेसले जनाएको छ  ।

कांग्रेसले गोविन्द केसीसँगका समझदारी कार्यान्वयन, महँगी नियन्त्रण, निषेधाज्ञाको विरोध, सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्थाको कार्यान्वयनलगायत विषय उठाउन निर्देश गरेको छ । विरोध प्रदर्शनपछि दूतावासमा ध्यानाकर्षणपत्र बुझाउने तयारी कांग्रेसको छ ।

कांग्रेसले एकैपटक गर्न लागेको विरोध प्रदर्शनमा केन्द्रीय कार्यालयले नेतालाई खटाएको छैन । तर, पनि नेताहरू आफूअनुकूलका जिल्लामा जाने तयारीमा छन् । नेता रामचन्द्र पौडेल तनहुँमा गरिने विरोधसभामा जाँदै छन् भने कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा झापाको चन्द्रगढीमा हुने विरोधसभामा सहभागी हुनेछन् ।

Credit : onlinepana.com

दसैँअगावै नेकपाको आधारभूत तहसम्म एकता, संसदीय सुनुवाइबारे पार्टीगत निर्णय छैन

नेपाल कम्युनिष्ट पार्टीका जनसंगठनको एकता यही साउनभित्र हुने भएको छ भने प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रिया लम्बिने देखिएको छ ।

पार्टी सचिवालयबाट विधान र नियमावली पारित हुनमा ढिलाइ भएका कारण एकता घोषणाका दिन सार्वजनिक गरिएको तीन महिनाको अवधिमा सबै तहको एकता प्रक्रिया पूरा नहुने भएको हो ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भई नेकपा घोषणा हुँदा तीन महिना (भदौ ३) भित्र आधारभूत तहसम्म एकता गरिसक्ने जनाएकामा पार्टीको विधान र नियमावली तय नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन ।

नेकपा स्थायी कमिटीको सुझावका आधारमा यही साउन १ गतेको सचिवालय बैठकले विधान र नियमावलीलाई सम्पादनसहित प्रकाशनको निर्णय गरेअनुसार विधान र नियमावली तल्ला कमिटीमा जान थालेका छन् ।

पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनमा यसअघिको जिम्मेवारीमा रहेका इञ्चार्ज, सहइञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्षहरु रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको थियो । विधान र नियमावालीको अभावमा ती कार्यदलले निर्णय गर्न सकेका थिएनन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुरा गर्दै मातहतको एकता प्रक्रिया तुरुन्त थाल्न विधान र नियमावली पठाइएको र पार्टीले चाँडै त्यससम्बन्धी समयबद्ध कार्यतालिका तय गर्ने जानकारी दिए । उनले भने, “सहमति र संगठनात्मक स्थितिका आधारमा कमिटीमा रहने सदस्यको नाम सिफारिश गर्न ती कार्यदललाई जिम्मेवारी दिएका छौँ । अब चाँडै कुन कमिटीको कहिलेसम्म एकता गरिसक्ने भन्ने मिती तय हुनेछ ।”

उनका अनुसार पार्टीको प्रदेश कमिटी सचिवालय र जिल्ला कमिटी प्रदेश कमिटीले चयन गर्नेछ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको औपचारिक चीन भ्रमण र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमतीको स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएपछि कार्यव्यस्तताले पार्टीको विधान र आन्तरिक विषयमा छलफल हुन ढिलाइ भएको थियो ।

जनसंगठनको एकता साउनभित्र

नेकपामा आबद्ध विभिन्न २२ जनसंगठनलाई यही साउन महिनाभित्र एकता गरिसक्न पार्टीले सम्बन्धित कार्यदललाई जिम्मेवारी दिएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार कार्यदलको सुझावका आधारमा साउनभित्र जनसंगठनको एकता पूरा हुनेछ ।

ती जनसंगठनको एकताका लागि गठित कार्यदलले सम्बन्धित दुवै कमिटीको केन्द्रीय कमिटीमा एक चरण छलफल गरी विधान, संगठनको नाम र सम्भावित संगठन संरचनाबारे राय, सुझाव लिइसकेका छन् । इञ्जिनियरिङ पेशाकर्मीको संगठनको एकता घोषणा गत शनिबार भइसकेको छ ।

सचिव श्रेष्ठले प्रदेश, जिल्ला र स्थानीय तहसम्मको एकताका लागि विधान र नियमावली जारी भएको मितीले तीन महिनाभित्र काम सक्ने गरी तयारी भएको बताउनुभयो । पार्टी एक भइसकेकाले संगठनात्मक पक्षको एकताका लागि केही समय लागेमा कुनै समस्या नपर्ने दाबी गर्दै श्रेष्ठले अधिकतमरुपमा दशैँअगावै एकतासम्बन्धी सबै कार्य पूरा हुने बताए ।

‘संसदीय सुनुवाइबारे पार्टीगत निर्णय छैन’

नेकपाका प्रवक्ता श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइका सम्बन्धमा पार्टीले कुनै निर्णय नगरेको र उक्त विषय संसदीय सुनुवाइ समितिको कार्यक्षेत्र भएको बताए ।

नेकपाले जोशीको नामलाई समितिबाट अनुमोदन नगराउने भनी सञ्चारमाध्यममा आएको सम्बन्धमा श्रेष्ठले भने, “समितिमा रहेका पार्टीका सदस्यलाई कुनै निर्देशन दिइन्नँ, उहाँहरुले आवश्यकता र औचित्यताका आधारमा विवेकका साथ निर्णय लिनुहुनेछ ।”

Credit : onlinepana.com

नेकपाका सांसद गंगा चौधरीको आरोप : डा केसी हत्यारा हुन्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सांसदले डा. गोविन्द केसीलाई हत्याराको आरोप लगाएकी छिन्। नेकपाका शीर्ष नेताले डा. केसीको माग सम्बोधन गरेर सरकारले विपक्षीहरुको षडयन्त्रलाई असफल पारेका बताइरहेका बेला सांसद गंगा चौधरीले भने हत्याराको आरोप लगाएकी हुन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले भनिन्– ‘डा. केसीको अनशनले गर्दा कति मान्छेको ज्यान गएको छ, दाङको लमहीमा हेपाटाइटिस बीको विरामी गोविन्द चौधरीको ज्यान गएको छ। यसको जिम्मेवारी कसले लिन्छ? डा. केसी कि नेपाली कांग्रेस?’ उनले डा केसी हत्यारा भएको आरोप लगाउँदै हत्यारालाई कारवाही गर्ने कि नगर्ने भन्ने प्रश्न गरिन।

१० वर्ष मेडिकल कलेज खोल्न नपाउने सहमतिमा विरोध जनाउँदै उनले फेरि विद्यार्थी विदेश पठाउने? भन्दै आक्रोश पोखिन। मेडिकल कलेज कहाँ खोल्ने भन्ने कुरा प्रदेशले निर्णय लिनुपर्ने भन्दै जहाँ खोल्न लायक त्यहाँ खोल्न पाउनुपर्छ भनिन्।

Credit : onlinepana.com

धनीका हातमा ‘गरिब परिचयपत्र’ धनीसमेत गरिबको सूचीमा !

धनगढी उपमहानगरपालिकामा ‘गरिब परिचयपत्र’ धनीका हातमा पुगेको छ । मुख्य बजार क्षेत्रमै २/३ तले घर भएका, दस बिघासम्म जग्गा र करोडौं लगानीमा इँटा उद्योग खोलेका उद्योगपतिसमेत गरिबको परिचयपत्र पाउने सूचीमा छन् ।

परिचयपत्र पाउनेमा नेता, कर्मचारी र जनप्रतिनिधिसमेत छन् । ‘गरिब परिचयपत्र आयो भनेर वडाभरि डम्फु पिटियो,’ धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष मुरारी अधिकारीले भने, ‘धनीको नाम गरिबको परिचयपत्रमा उल्लेख भएर आएको रहेछ । वितरण प्रक्रियामै तनाव होलाजस्तो छ ।’

उनको वडामा आगामी २० गतेपछि परिचयपत्र वितरणको कार्यक्रम छ । ‘परिचयपत्र रद्द वा स्थगन गर्नुपर्छ । वास्तविक गरिब परिवारले पाउने गरी वितरण व्यवस्था मिलाइयोस्,’ उनले भने । अधिकारीको वडामा गरिब परिचयपत्र पाउनेको सूचीमा ६० प्रतिशतभन्दा बढी गरिबीको रेखामाथिका नागरिक छन् ।

‘मेरो वडामा इँटा उद्योगी, १० बिघाका जग्गाधनी, २० वर्षसम्म अधिकृतस्तरको सरकारी जागिर खाएका र हाल पनि बहालमै रहेकाहरूको नाम अति गरिब परिचयपत्रमा आएको छ,’ वडाध्यक्ष अधिकारीले भने, ‘साँझ र बिहानको छाक कसरी टार्ने भन्ने समस्यामा गुज्रिरहेका गरिब परिवारको परिचयपत्र आएको छैन ।’यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

Credit : onlinepana.com