प्रमुख विपक्षी नेपाली कांग्रेसले बहिस्कारको चेतावनी दिएपछि संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे सोमबार कुनै निर्णय गर्न सकेन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु सोमबार दीपकराज जोशीलाई प्रधानन्यायाधीश सिफारिस नगर्ने निर्णयमा पुगेका थिए । त्यसको सुइँको पाएपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरुले बैठक बहिस्कारको चेतावनी दिए ।
‘पार्टीको धारणा बनेको छैन भनेर कांग्रेसका साथीहरु बैठक नै बस्न मान्नुभएन’ नेकपाका एक सांसदले भने, ‘हामीले निर्णय गर्ने तर, कांग्रेसले बहिस्कार गर्ने अवस्था नआओस् भनेर सहमतिमै बैठक सारिएको हो ।’
सोमबार कुनै निर्णय नगर्ने सहमतिपछि कांग्रेस सांसदहरु बैठकमा आए तर बैठक १६ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित भयो ।
जोशीलाई सिफारिस नगर्ने पक्षमा नेकपा
सत्तारुढ नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउने नबनाउनेबारे लामो समय अनिर्णित रह्यो ।
शीर्षनेताहरुबाट सिग्नल नआएको भन्दै सुनुवाईपछि पनि समितिको बैठक दुईपटक सारियो । आइतबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले जोशीको शैक्षिक प्रमाणपत्रमा प्रश्न उठ्नुका साथै फैसलाहरु पनि विवादित रहेको कारण देखाउँदै उनलाई प्रधानन्यायाधीश सिफारिस नगर्न निर्देशन दियो ।
‘यदि पर्याप्त कारण र आधार छ भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्न सक्छ है भन्ने सन्देश दिन खोजिएको हो’ नेकपाका एक नेताले भने ।
त्यसअघि नेकपाका नेताहरुले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।
सुनुवाई समितिमा नेकपाका ९ सांसद छन् । सत्तारुढ संघीय समाजवादी फोरमका एक सदस्य छन्, उनले समर्थन गरेको अवस्थामा दुई तिहाई बहुमत पुग्छ ।
तनहुँका गोपाल पराजुली र काठमाडौंका दीपकराज जोशी, तर एसएलसी वीरगन्जको एउटै विद्यालयबाट
-उमेर र शैक्षिक प्रमाणपत्रको विवादमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले असामयिक अवकाश लिनुप-यो । तर, पराजुलीको बिदाइसँगै कायममुकायम जिम्मेवारी लिएका र प्रधानन्यायाधीशमा प्रस्तावितसमेत भएका दीपकराज जोशीसमेत शैक्षिक प्रमाणपत्र विवादमा परेका छन् ।
-पराजुली तनहुँका हुन् भने जोशी काठमाडौंका । आश्चर्य ! दुवैले वीरगन्जको नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा पास गरेको प्रमाणपत्र पेस गरेका छन् । अझ दुवैले एउटै साल अर्थात् २०२९ मा तृतीय श्रेणीमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । तर, आश्चर्य, एउटै विद्यालयका र एउटै ब्याचका पराजुलीको सिम्बोल नं. ११७ छ भने जोशीको ३६६७ छ ।
-जोशीले नेपाल ल क्याम्पसबाट आइएल पास गरेको प्रमाणपत्र पेस गरेका छन् । तर, सो प्रमाणपत्रमा उनले प्रवेशिका परीक्षा नेपाल राष्ट्रिय विद्यापीठबाट होइन, विजय मेमोरियल स्कुलबाट पास गरेको उल्लेख छ । विजय मेमोरियलको सिम्बोल नं. पनि ३६६७ नै उल्लेख छ । त्यसैले जीवनको सबैभन्दा महत्वपूर्ण परिस्थितिमा जोशी आफ्नै प्रमाणपत्रको जालोमा फसेका छन् ।
दिनभरि दीपकराजको दौडधुप
सर्वोच्चका वरिष्ठतम न्यायाधीश भएको र कामु प्रधानन्यायाधीश भइसकेका जोशी आफू सहजै सिफारिस हुनेमा ढुक्क देखिन्थे । उनी सुनुवाईमा पनि त्यही रुपमा प्रस्तुत भएका थिए ।
तर, सुनुवाई भएको लामो समयसम्म निर्णय नभइरहेको अवस्थामा सत्तारुढ दलले नै अस्वीकारको निर्णय लिएको सुनेपछि कामु प्रधानन्यायाधीश जोशीको सक्रियता सोमबार दिनभरि बढ्यो ।
उनले सत्तारुढ नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने प्रयास पनि गरे । त्यसका लागि उनले सत्तारुढ दलकै नेताको साथ खोजेका थिए ।
तर, सोमबार प्रधानमन्त्रीसँग भेट सम्भव भएन । कामु प्रधानन्यायाधीश जोशीनिकट स्रोतले ओलीसँग टेलिफोनमा सम्वाद भएको र भोलि विहान प्रधानमन्त्रीलाई भेट्ने तय भएको दाबी गरेको छ । प्रम सचिवालयले भने यसबारे अनविज्ञता प्रकट गरेको छ ।
सुनुवाई समितिको सोमबारको बैठकअघि जोशीले शैक्षिक प्रमाणपत्र पनि सञ्चार माध्यमहरुलाई उपलब्ध गराएका छन् । प्रमाणपत्र विवादलाई देखाएर अस्वीकृत गर्न खोजेको भन्दै उनले प्रमाणपत्र नक्कली नभएको सन्देश दिन खोजेका थिए ।
दुई दिनदेखि सर्वोच्च गएका छैनन् जोशी, घरबाटै तोक्दै छन् पेसी,
प्रधानन्यायाधीशका रूपमा आफु अनुमोदन हुने अनिश्चित भएपछि कामु प्रधानन्यायाधीश जोशी सर्वोच्च अदालत गएका छैनन् । आइतबारदेखि अदालत नगई बालुवाटारस्थित निवासबाट पेसी तोकिरहेका छन् ।
संसदीय सुनुवाइ समितिका दुईतिहाइ सदस्यले तपाईंलाई अस्वीकृत गर्ने निश्चित भएको छ, तपाईं अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले सोमबार साँझ भने, ‘जस्तो निर्णय आए पनि स्विकार्न तयार छु ।’ उनले राजीनामा दिनेबारे भने अहिले नै निर्णय गर्न नसक्नेसमेत बताए । तपार्इंको विकल्पमा को प्रधानन्यायाधीश होला भन्ने विषयमा उनले जवाफ दिन चाहेनन् ।
जोशीको विकल्पमा मिश्र, त्यसपछि १० वर्षलाई बन्नेछ यस्तो वरीयता
संसदीय सुनुवाइ समितिमा भएको विवादमा नाटकीय परिवर्तन आए जोशी प्रधानन्यायाधीश हुने सम्भावना अझै पनि छ । तर, समितिले उनलाई अस्वीकृत गरेमा वा त्योभन्दा अघि राजीनामा दिएमा नयाँ प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले सिफारिस गर्नुपर्नेछ ।
यसका लागि सर्वोच्चका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र बलियो दाबेदार हुनेछन् । मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा पाँच महिनाको हुनेछ । १८ पुसमा अवकाश पाउने मिश्रपछि अर्का न्यायाधीश चोलेन्द्रशमशेरका लागि बाटो खुल्नेछ ।
तर, जोशी अनुमोदन भएमा मिश्र प्रधानन्यायाधीश हुने सम्भावना स्वतः समाप्त हुनेछ । किनकि उमेरका कारण जोशीले २४ असोज ०७६ सम्म प्रधानन्यायाधीश हुन पाउँछन् । तर, त्यसअघि नै मिश्रले १८ पुस ०७५ मा अवकाश पाइसकेका हुनेछन् ।
जोशी प्रधानन्यायाधीश भएमा चोलेन्द्रशमशेर राणाले २४ असोज ०७६ मा मात्र प्रधानन्यायाधीशको पालो पाउन सक्छन् । तर, अहिले नै जोशीको सट्टा मिश्र आएमा आगामी पुसमै चोलेन्द्रशमशेरको पालो आउँछ ।
तर, अहिले जोशी प्रकरणमा कुनै ‘बोल्ड डिसिजन’ भएमा उदाहरण अरू न्यायाधीशमाथि पनि दोहोरिन सक्छ । आगामी पुसमा अवसर पाए चार वर्ष र असोज ०७६ मा अवसर पाए तीन वर्ष चोलेन्द्रशमशेर प्रधानन्यायाधीश हुनेछन् ।
किनकि, २८ मंसिर ०७९ मा मात्र उनी ६५ वर्ष पुग्नेछन् । चोलेन्द्रपछि वरीयताअनुसार हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान प्रधानन्यायाधीश बन्ने लाइनमा छन् ।
Credit : janasanchar.com