विरोधीलाई प्रधानमन्त्रीको जवाफः ‘हामी अनुशरण गर्न सक्छौं, अनुकरण गर्न सक्दैनौं ’

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कुनै पनि किसिमको तानाशाही बन्न नसक्ने बताएका छन् । प्रतिनिधिसभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खासगरी सरकारप्रति प्रतिपक्षले उठाउँदै आएको प्रश्नको जवाफ दिने क्रममा सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमा आगामी बिहिबारबाट काठमाडौमा हुने विमस्टेक सम्मेलनको तयारीबारे धारणा राखेका थिए । त्यसपछि उनले सरकार, संघीय व्यवस्था, कर न्यायलयलगायतमा उठेका प्रश्नको जवाफ दिए ।

‘म लिक्वान बन्दिन’

‘कतिपय साथीहरुले अधिनायकवादको कुरा गर्नुभयो । यो व्यवस्था कसैले किस्तीमा हालेर दिएको होइन । हामीले नै लडेर ल्याएका हौ । तानाशाही व्यवस्थामा कालकोठरी विताएकाले मात्रै होइन, अरुले पनि अधिनायकवादको कुरा गरेको सुनिन्छ । मैले लोकतन्त्रप्रति सारा जिन्दगी समर्पण गरेको हुनाले अलि बढी आशक्ति हुनसक्छ लोकतन्त्रप्रति । विकासका लागि म लिक्वान यु जति कठोर हुन सक्दिन’ सम्बोधनका क्रममा प्रधानमन्त्री अ‍ोलीले भने ।

लोकतन्त्रको बाटोबाटै विकास हासिल गर्न सकिने भन्दै उनले आफु कसैको अनुशरण गर्ने तर अनुकरण नगर्ने बताए ।  ‘हामी अनुशरण गर्न सक्छौ तर अनुकरण गर्न सक्दैनौ, कुनै प्रकारको डिक्टेटर हुन सक्दैनौ’ प्रमुख प्रतिपक्षीप्रति संकेत गर्दै प्रधानमन्त्रीले भने, ‘कुनै दलले जे गरेपनि लोकतन्त्र हुने अरुले केही गरेपनि नहुने ? यस्ता कुरा आउटडेटेड भए । एउटा मिडियाले पास मात्रैको प्रमाणपत्र दियो । राम्रै गरेछ । तर,म कसैको प्रमाणपत्र लिन आवश्यक ठान्दिन ।’

इतिहास नबिर्सन आग्रह 

प्रधानमन्त्रीले इतिहास नबिर्सन प्रतिपक्षलाई आग्रह गरे । भने ‘इतिहास हेरौ । त्यसका डोवमा हामीले बगाएका रगत पसिनाको तुलना गरौ । कुनै एस्क्युज खोज्दिन । व्यवहारमा स्वस्थ प्रतिश्पर्धा उपयुक्त हुन्छ ।’ प्रधानमन्त्री ओलीले मुलुकी ऐनका विषयमा आएका प्रतिकृयाहरुको पनि चर्चा गरे । ‘आजकाल खुब सुनिन्छ ।

मुलुकी ऐन, फौजदारी संहिताका बारेमा । चलनचल्तीमा भन्ने गरिएको छ–दुई तिहाइको दम्भ । यो त गत बर्ष भदौमा यहि सदनबाट पास भएर राष्ट्रपतिबाट लालमोहर लागेको र त्यसैवेला ७५ भदौ १ बाट लागू हुन्छ भनिएको हो । कोहिले यो जारी भएकोमा गर्व गरेका वक्तव्यहरु पनि पढेको छु । अनि त्रुटि भएको पनि । यस्ता विषयलाई किन राजनीतिको मुद्दा बनाउने । त्रुटि भए सच्याउन सकिन्छ । गरौं । हामीले नै गरेको हो भने एकातिर पिठ्यौ थपथपाउने अनि अर्कोतिर मुट्ठी बजाउने ?

पोहोर मरिन् सासु अहिले आए आँशु 

पोहोर बन्यो ऐन । तर, पोहोर मरिन् सासु अहिले आए आँशु जस्तै भयो । यो के भएको हो ? सच्याउनु छ भने सच्याउ । म कसैलाई आरोप लगाउँदिन । सच्याउने यो सदनको अधिकार र कर्तव्य पनि हो ।

सभामुख महोदय, सुन्छु कहिलेकाही ओलीको राष्ट्रवाद विसर्जन भयो, सकियो भन्ने शब्दहरु सुनिन्छ । यो सरकार र हाम्रो पार्टी छिमेक सम्बन्ध र राष्ट्रियताको मामालामा पहिला जहाँ थियो, अहिले पनि त्यहि छ । कतै नढल्कदा विसजर्नवाद भनेको हो भने शब्द अलि मिलेन । आरोप लगाउँदा विचार गरौ भन्ने गरेको छु । पछि नातिनातिनाले सोध्दा आफैंलाई अप्ठयारो होला ।

छिमेकीसँग भएका सहमति तीव्र कार्यन्वयनको चरणमा

प्रधानमन्त्री ओलीले छिमेकीसँग भएका सहमतिहरु तीव्र कार्यन्वयनको चरणमा रहेको दावी गरे । ‘छिमेकीसँग गरेका सहमति तीव्र कार्यन्वयन भएका छन् । सन् १९५० को सन्धी नामै उच्चारण गर्न ठानिदैन थियो । तर तिनीहरुलाई नयाँ ढंगले अध्यावधिक गरिएको छ । चार  वटा एयर इन्ट्रि थप भएका छन् ।

डुवानको समस्यामा हामी को थियौं, बाँध बाध्दा त्यहाँ ? अहिले टोली गएर समस्या समाधानको बाटोतर्फ गएको छ । अनि केही पनि भएन ? मैले जुन विषय छिटै सम्पन्न हुन्छन् भनेको थिए, भएको छ । रसुवागढी रेलमार्ग, विराटनगरको क्याम्प उठेको छ । भारत र नेपालका बीचमा वीरगन्ज काठमाडमा रेलवेको सर्भेको काम अघि बढ्न लागेको साथीहरुलाई थाहै होला’ सम्बोधनका क्रममा उनले यातायातबारे सेप्टेम्बरमा पहिलो बार्ता नेपालमै हुदैछ भनेर जानकारी दिए ।

उनले टर्कीमा भन्सार महसुल सुन्यमा झारेको पनि बताए ।  जसले ६ अर्व नाफा भएको भन्दै कुनै मुलुकसँगको व्यापार नाफा भएको भए त्यहि एउटा देशसँग भएको बताए ।

जेष्ठ नागरिक भत्ताको पिर नगर्नुस्

सम्बोधनका क्रममा प्रधानमन्त्री ओली अगाडी फर्किएर बजेटबारे पनि चर्चा गरे । उनले जेष्ठ नागरिकको भत्ता नबढाएको भन्नेलाई जावफ दिए । ‘अहिले निकै टिप्पणी गरेर सरकारलाई गाली गर्ने विषय बजेटलाई बनाइएको छ ।

‘जेष्ठ नागरिक भत्ताको चिन्ता लिने साथीहरुलाई म भन्छु– पिर नगर्नुस् । गोपालप्रसाद रिमालको कविताजस्तो त्यो आउँदैछ । किन ढिला भयो अघि भने होला सायद । श्रोत सुनिश्चित नभएको खर्चहरु हाम्रो आम्दानी भन्दा बढी, सरकार नचल्ने अवस्था भएको सन्दर्भमा मैले धेरै भनिसके ।

गोरु गाढाको पनि कर तिरेको थिए 

अर्को कर प्रणाली सरकारका विरुद्ध प्रयोग गर्ने हतियार बनाइएको ओलीले बताए । ‘केपी ओली हैन, करप्रसाद ओली भनेर हौवा चलाइएको छ । केहीले प्राकृति श्रोत र वित्तिय आयोग नबनेर पनि भनेका छन् । सरकारले विकास र सुशासनको कमिट्मेन्ट बोकेको छ । परिणामबाट त्यो पुरा हुन्छ’  ओलीले भने । उनले संसदबाट जनतालाई भ्रम पर्ने कुराहरु गर्नु बान्छनिय नहुने पनि बताए ।

‘पहिला गोरु गाडामा पनि करको स्टिकर लाग्थ्यो । पञ्चायतकालमै कर तिरेको हो मैले । रेडियोको कर तिर्नुपथ्र्याे । तर अहिले साइकल पसलमा कर लगाइयो भनेर भनेको सुन्छु । मरेका कुखुराको कर तिर्नुपरेको छ ? नगरपालिकाका अधिकारी कुखुराले अण्डा पार्यो पारेन भनेर खोरखोर पुगेका छन् ? होला नयाँ अभ्यास गर्दा केहीकेहीमा कमजोरी पनि भयो होला । तर, हल्ला चलाएजस्तो होइन । अनुचित कर लगाउनु हुँदैन । तर कर तिर्ने बानी लगाउनुपर्छ ।  मैले कुखुराको अण्डामा कर लाग्यो भन्ने सुने ।

अण्डाको व्यवसाय गर्छ भने कर लाग्छ । हजार गाई पाल्नुस कर लाग्दैन चिज बनाउनुस र बेच्नुस कर लाग्छ । वित्तिय अयोगले कर निर्धारण र तोक्ने हाइन । त्यसले व्यवस्थापन बाँडफाँड गर्ने हो’ प्रधानमन्त्री ओलीले प्रष्ट्याए ।

संसदीय सुनुवाई समिति गठन नभई आयोग बन्न नसक्ने र  आयोग गठनमा किन ढिला भयो भन्ने सवैलाई थाहा भएको उनले बताए ।

प्रदेशसभामा सम्बोधनबारे 

प्रधानमन्त्री ओलीले आफुले प्रदेशसभालाई सम्बोधन गरेकोमा कोकोहोलो मच्चिएको बताए । ‘म प्रदेश नघुम्नु ? प्रदेश र केन्द्रबीच समझदारको विकास नगर्नु भनेर चेतावनीको भाषामा पनि केहीले भन्नुभयो । म संसदको प्रतिनिधि हो । सदनले छानेको हैसियतमा र सदनको काननु र नीति उद्देश्यअनुरुप हामीले सम्वाद गर्नुपर्दैन ?

केन्द्र, प्रदेशबीच एकता असमझदारीको अन्त्य गर्नुपर्दैन ? एउटा देशको प्रधानमन्त्री अर्को देशको संसदमा गएर सम्बेधन गर्छ । यसै संसदमा पनि गरेका छन् । त्यसका औचित्य छन् । अनि प्रधानमन्त्रीले आफ्ना देशभित्रका गाउँ नगर, महानगर वा प्रदेशमा गएर सम्बोधन गर्दा खासगरी २ नम्बरमा गएर सम्बोधन गर्दा निकै कोकोहोलो मच्चियो ।

समाज अशिक्षा, गरिबी र पछ्यौटेपनाका लक्षण छन् । तराई मरुभुमिकरण बन्दैछ । त्यसलाई कसरी सजीव, कसरी आधुनिकिरण गर्ने विषयमा मैले नभन्ने ? सम्बाद गर्न नहुने ? अचम्म लाग्छ त्यसकारण यस्ता कुराका पछाडी हामी बहकिनुहुँदैन जस्तो लाग्छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध

प्रधानमन्त्री ओलीले कार्यपालिका र व्यवस्थापिकाबीचको अन्तरसम्बन्धबारे पनि चर्चा गरे । ‘व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाबीचको अन्र्तसम्बन्धबारे विद्वान मित्र भएको स्थानमा मैले धेरै भनिरहनु पर्दैन । सुनुवाई समिति संसद रवर स्ट्यामप होइन ।

न्यायपरिषदले योग्यता पुगेका व्यक्तिको लिष्ट पठायो । तर, संविधानले सुनुवाइ समिति जसलाई कसको सुनुवाई र सिफारिस गर्ने भन्ने व्यवस्था गरेको छ । त्यसैअनुसार समितिले निर्णय गर्यो ।  संसदले गरेका निर्णय, म त्यस समितिमा नहुन सक्छु । तर, त्यसले गरेका निर्णयको खिल्ली उडाउँदा के हुन्छ ?’ उनले प्रश्न गरे ।

बलात्कार र हत्याबारे 

प्रधामन्त्रीले कन्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या तथा अन्य घटानाप्रति सरकारले सुक्ष्म अनुसन्धान गरिरहेको र दोषीलई कुनै हालतमा नछोड्ने दावी गरे । ‘कतिपय अप्रिय घटना घटेका छन् मुलुकमा । अपराध गर्ने मानसिकतातर्फ समाजलाई उत्तेजित गर्ने प्रयास भएका छन् । तर, अपराध कर्महरुको सबैभन्दा घिनलाग्दो प्रयास महिला हिंसा भएका छन् ।

अझ स–साना बालिकामाथि हुने बलात्कार र घटना । कञ्चनपुरको घटनाले दुखी तुल्याएको छ । पहिला प्रहरीको भुमिकाप्रति शंका उठेपछि छानविन समिति पठायौ । त्यसले पनि चित्तबुझ्दो काम नगरेको पाइएपछि नयाँ प्रहरी प्रमुख, सिडियो र डिएसपी पठाएपछि पनि नभएपछि उच्चस्तरको छानविन समिति बनायौ ।

प्रमाण नष्ट होला भनेर एसपीलाई निलम्बननै गरियो र अरुलाई पठाएर छानविन हँुदैछ । सरकारले पीडित बालिकाको परिवारलाई दश लाख दिने घोषणा गर्यो । कुनैपनि अपराधमा कहिलेपनि हामी उदार हुन सक्दैनौ, होलो खुकुलो हुदैनौ । सक्रियताका साथ कडा कारवाही र सर्तकताका साथ सजग रहन्छौ । सरकार सजग रहेको छ’ प्रधानमन्त्रीको प्रतिबद्धता थियो ।

Credit : onlinepana.com

कांग्रेसबाट जीतेका मेयर उपमेयरले भने, ‘ सरकारले कर बढाएर ढाड भाच्यो हामी बढाउन्नौ ‘

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ ।

कांग्रेसले आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको मर्यादाक्रम पदीय गरिमाअनुरुप नरहेको भन्दै कांग्रेसले उक्त मर्यादाक्रममा तत्काल पुनरावलोकन गरी निर्वाचित प्रतिनिधिको मर्यादा र प्रतिष्ठा कायम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

संविधान र कानूनको अधीनमा रही न्यायोचित, सरल र न्यूनतम कर लगाउने नीतिमा पार्टीको विश्वास रहेको कार्यक्रमपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले आर्थिक उद्यमशीलता र लगानीमैत्री वातावरण सिर्जना गरी लगानी र आर्थिक गतिविधि बढाउने र यसमार्फत करको दायरा वृद्धि भई राजश्व बढ्ने प्रस्तावसमेत पारित गरेको छ । केन्द्रीय सरकारले अत्यधिकमात्रामा कर वृद्धि गरेको आरोप लगाउँदै कांग्रेसले तत्काल घटाउनसमेत माग गरेको छ ।

कांग्रेस नेतृत्वको तत्कालीन सरकारद्वारा निर्णय गरिएको सामाजिक सुरक्षा भत्ता, ६५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता, स्वास्थ्यसम्बन्धी सुविधालगायत र भूकम्पपीडितलाई दिने थप सुविधा अविलम्ब लागू गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रतिपक्षको नेतृत्वमा सर्वदलीय सहभागिता भएको निष्पक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तत्काल गठन गर्न माग कांग्रेसले गरेको छ । “कांग्रेस जितेको स्थानमा बजेट नदिने, थोरै दिने, किस्ताबन्दीमा दिने वा सशर्तमा दिने जस्तो भेदभावपूर्ण बजेट विनियोजन कार्य तत्काल बन्द गर्न माग गर्दै समान वितरणका लागि माग गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ ।

बैठकले निर्मला पन्तमाथि भएको बलात्कार र हत्या जस्तो जघन्य अपराधको भत्सर्ना गर्दै अबिलम्व अपराध नियन्त्रण गर्न, अपराधी पक्रन र कारबाही गर्न माग गरेको छ ।

साथै शान्तिपूर्ण जनप्रदर्शनमा प्रहरीको गोली लागी बालक सनी खुनाको हत्या भएको घटनाप्रति पनि भत्सर्ना गर्दै मृतक आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

बैठकले विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीलाई लक्षित गर्दै अज्ञात समूहले बम विष्फोट गराई क्षति पुर्‍याएको घटनाको निन्दा गर्दै घटनामा संलग्न आपराधिक व्यक्तिलाई तत्काल खोजी गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा मुख्यतया चार वटा विषयवस्तु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्करप्रसाद शर्माले स्थानीय तहमा आर्थिक नीति र विकास योजना, वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले नगरपालिकाको काम र कर्तव्यः न्यायिक र कानूनी पक्ष, पूर्वसचिव कृष्ण ज्ञवालीले स्थानीय पार्टीसँगको समन्वय र सम्बन्ध तथा ध्रुव वाग्ले एवं भीम ढुङ्गानाले कांग्रेसकोतर्फबाट नगर र नगरपालिका सङ्घको प्रतिनिधित्व गर्नेको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कांग्रेसले जीतेका मेयर उपमेयरले स्थानिय स्तरमा जनतालाई मार पर्ने गरि करको वृद्धी नगर्ने समेत कार्यक्रममा प्रतिवद्धता जनाएका छन्।

Credit : onlinepana.com

गाईजात्रा विशेषः ओलीले बाँदरको शरीरमा आफ्नो टाउको राख्नेलाई भेटेपछि…

प्रधानमन्त्री केपी शर्मा ओलीको नकारात्मक सन्देश फैलाउने किसिमले तस्वीर सामाजिक संजालमा सेयर गरेर काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका ५ का सचिव होमनाथ सिग्देल पक्राउ परे । के झोंक चलेछ कुन्नि सिग्देलले बाँदरको शरीरमा ओलीको टाउको राखेर सेयर गरे ।

उनलाई प्रधानमन्त्रीको सचिवालयले महानगरीय प्रहरी अपराध महाशाखा प्रमुखलाई फोन गरेरै पक्राउ गर्ने ठाडो आदेश दिइएपछि प्रहरीले पक्राउ गर्यो ।

गत भदौ १ गते फौजदारी संहिता लागू भएपछि पक्राउ पर्ने सिग्देल पहिलो हुन् ।

जब प्रधानमन्त्री ओलीले सिग्देललाई भेटे, त्यसपछि के भने, के भयो संवाद, यो गाईजात्रा प्रस्तुति–

ओली –हैन के भनेर बाँदरको शरीरमा मेरो टाउको मिलायौ ?
सिग्देल– खोइ दिमागमा त्यही आयो अनि सेयर गरें ।

ओली –तिमीलाई थाहा थिएन भदौ १ देखि तिमीले मलाई गाली गर्न पाउँदैनौ भनेर ?
सिग्देल – गाली नै गर्न नपाउने पनि नियम बनाउने हो त ? मन नपर्नेलाई गाली नगरेर के माया गरिरहनु ? अहिलेसम्म जनताले गरेको मायाको कहिल्यै कदर गरेको भए पो ।

ओली– के गरिन है मैले जनतालाई ? गरेकै त छु नि । कसैले नबाँडेको आश्वासन भए पनि बाँडेकै त छु । जे सक्यो त्यही गर्ने त हो नि ।
सिग्देल – काम चाहिं केही गर्न नपर्ने ?

ओली– त्यो पनि कामै त हो नि । बिहान उठेदेखि त्यत्रो भाषण तिमीले गर्न सक्छौ ? यत्रो औषधि खाएर बोलेको बोल्यै छु । त्यसको कदर गरेका छौ ?
सिग्देल – कदर नगरेको भए बोलीमा मात्र ओली राष्ट्रवादी हो भन्ने थाहा पाएर पनि दोस्रो पटक प्रधानमन्त्री बनाउँथे त जनताले ?

ओली – अनि म के कारणले बाँदर भएँ ?
सिग्देल –बाँदर भन्न पनि कारण चाहिन्छ र । बाँदरको जस्तो व्यवहार गरेपछि बाँदर नभनेर के भन्ने त ?

ओली– बाँदरले त घर बनाउँदैन । मेरो त दुई दुई वटा घर छ । बाँदरले त खोसेर खाएको छ । मैले खाएको छु ?
सिग्देल – सर्वहारा नेताका घर के काम ? मानसिकता त भ्रष्ट देखिइहाल्यो नि । कम्युनिष्ट भन्ने अनि निजी सम्पत्ति जोड्ने ? बाँदर र कम्युनिष्टमा के फरक छ र ? बाँदरको पनि आफ्नो घर हुँदैन । कम्युनिष्टको पनि आफ्नो घर हुँदैन । मैले त गहन भएर सोचेर पो तपाई सच्चा कम्युनिष्ट हो भनेर ‘बाँदर’ को संज्ञा दिएको हुँ । तर तपाईले मलाई उल्टै पक्राउ गर्न लगाउनु भो । के तपाई कम्युनिष्ट हैन ?

ओली – ओहो ! मैले त तिमी काँग्रेस नै हौ त्यसैले मेरो अपमान गर्यौ भनेर पो विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अन्तर्गत कार्वाही गर्न खोजेको त ।
सिग्देल – तपाईले मान्छे नचिनेरै दुःख पाउनु भइरहेको छ । अहिले पनि के नौलो भयो र ।

ओली– मैले त विपक्षीलाई तर्साउनका लागि पो यो कदम चालेको । तिमी त आफ्नै पुर्खाको सोचबाट आएका परेछौ । लौ धन्यबाद है । मेरो आँखा खोलिदियौ ।
सिग्देल – अनि मलाई गरिएको कार्वाही ?

ओली– त्यो त नियममा भएको कुरो । पख । दुई तिहाईको सरकार छ यसो साइत हेरेर तिम्रो व्यवस्था मिलाई हाल्छु नि।

Credit : onlinepana.com

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच खटपट, अब के होला ?

पूर्व लडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टिकरण सोध्नु भएको छ ।

उहाँले गृह मन्त्री रामबहादुर थापालाई पूर्व लडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टा भित्र लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको छ ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको  थियो ।

विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तीव्र आलोचना भएको थियो ।

तर सोमवार प्रधानमन्त्री निवासमा सम्पदाकहरुको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्व लडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृह मन्त्रीसंग लिखित स्पष्टिकरण मागेको बताउनुभएको छ ।

कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टिकरण लिने अधिकार छ । प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्व लडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाउनुभएको छ ।

पूर्व लडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाबीच असमझदारी बढ्दै गएको छ ।,आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Credit : onlinepana.com

ओलीले मन्त्रीमण्डल हेरफेर गर्दै, गृहमन्त्रीबाट बादललाई ‘आउट’ र पोखरेललाई ‘इन’, यस्तो छ तयारी

प्रधानमन्त्री अाेलीले सरकारमा ठूलाे हेरफेर गर्ने भएका छन् । उनले वर्तमान मन्त्रीमण्डलमा फेरबदल गर्दै गर्दा गृहमन्त्री बादलकाे पद धरापमा पर्ने भएकाे छ।

प्रधानमन्त्री आेलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको आेली निकट स्रोतले जनाएको छ । यसै क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने तयारीले मुर्त रुप लिएको बुझिएकाे छ ।

केही दिन यता कंचनपुरलगायत देशैभरि भइरहेका विकसत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि आेली प्रचण्डले बालुवाटारमा झण्डै ३ घण्टा लामो अति गोप्य छलफल गरेका थिए ।कञ्चनपुरमा भड्किएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थितिलार्इ काबुमा राख्न नसकेको भन्दै आेलीले प्रचण्डसामू गुनासो राखेको स्रोतको दावी छ ।

प्रधानमन्त्री आेली बादलको काम कारवाहीमा पहिलेदेखि नै असन्तुष्ट रहेको जनाइएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्बाट फिर्ता ल्याएदेखि नै आेली क्रुद्ध बनेका थिए ।

पछिल्लो समय गृहमन्त्री बादलले फेरि युद्धमा बालसेनाको प्रयोग सम्बन्धी थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जान लागेका लेलिन विष्टलाई एयरपोर्टबाटै फर्काएपछि सरकारको आलोचना चुलिएको थियो ।

विपक्षी कांग्रेसलाई सडकदेखि सदनसम्म यस्ता कुरालाई मुद्धा बनाएर जनमत आफू तिर केन्द्रित गर्न बादलले सहज वातावरण सिर्जना गरिदिएको आेलीको बुझाई रहेको छ ।बादलले एकपछि अर्को अलोकप्रिय काम गरेको गुनासो प्रचण्डसामू पोखेका आेलीले बादललाई अाउट गरेर पोखरेललाई इन गर्न लागेका हुन्।

Credit : onlinepana.com

रेशम चौधरी र प्रकाण्डलाई राजनीतिक व्यवहार गरियोस् : बाबुराम भट्टराई

नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जेलमा रहेका कैलाली १ बाट निर्वाचित रेशम चौधरी र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजनीतिक रूपमा व्यवहार गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा आग्रह गरेका हुन्।‘अदालतले प्रकाण्डलाई छोड्ने फेरि पटक/पटक मुद्दा लगाएर सरकारले समात्ने गर्दा पञ्चायतकालको हस्को आयो’,बैठकमा बोल्दै उनले भने,‘हामी सबैले पञ्चायत कालको व्यवहार सामना गर्दै आइसकेकोले त्यस्तो व्यवहार गर्नुहुँदैन। राजनीतिक ढंगले उनलाई व्यवहार गरिनुपर्छ।’

त्यस्तै, उनले कैलाली १ बाट निर्वाचित भएका रेशम चौधरीलाई सदनमा सपथ ग्रहण गराउन नसक्नु दुर्भाग्यपूर्ण कुरा भएको बताएका छन्। साथै, उनले चौधरीलाई सपथ ग्रहण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरे।

‘रेशम चौधरी जो कैलाली १ बाट निर्वाचित भएर आउनुभयो। उहाँलाई यस सदनमा सपथ ग्रहण गराउन नसक्नु त्यो अत्यन्त दुर्भाग्यपूर्ण भएको छ। टीकापुरको घटना दु:खद थियो व्यक्तिहरूको हत्या हुनु त्यो दु:खद परिघटना थियो’, उनले भने,‘हामी सबैले त्यसको निन्दा गरेका छौं।

तर, अहिले रेशम चौधरीलाई मात्र पहिला नै कुनै मुद्दा नै नचलाइकन त्यतिकै अपराधी करार गरेर उनलाई यहाँ सपथ ग्रहण गर्न नदिनु उपयुक्त हुँदैन। त्यसैले रेशम चौधरीलाई राजनीतिक रूपमा व्यवहार गरेर उहाँलाई सपथ ग्रहण गर्ने व्यवस्था गरियोस्।’

Credit : onlinepana.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको १४ बुँदे निर्णयमा के छ ?

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४ बुँदे निर्णय गरेको छ।  सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन भएको कार्यसमितिको बैठकले महासमिति बैठकको स्थान र मिति तोक्ने लगायतका विविध निर्णय गरेको छ।

के के  छन् त १४ बुँदे निर्णयमा :

१. महासमितिको बैठक २०७५ मंसिर ५ देखि ९ सम्म काठमाडौँमा आयोजना गर्ने।

२. महासमिति बैठकको मूल तयारी समिति पार्टी सभापति श्री शेरबहादुर देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने गरी गठन।

३. महासमितिमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको संयोजकत्वमा राजनैतिक प्रस्ताव तयारी समिति गठन।

४. सांगठनिक प्रतिवेदन महामन्त्री डा. शशांक कोइरालाले प्रस्तुत गर्नु हुनेछ।

५. पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती सीतादेवी यादवले प्रस्तुत गर्नु हुनेछ।

 ६. पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन।
(राजनैतिक र पार्टीको सम्रग आर्थिक नीति मस्यौदा समितिको थप सदस्य सभापतिले मनोनयन गर्नु हुनेछ)

७. विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिहरुको हेटौडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्ताव अनुसार जिल्ला पार्टी सभापतिहरु मध्येबाट स्थायी आमन्त्रीतका रुपमा २ जना थप गर्ने।

८. नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन । थप सदस्य केन्द्रीय सभापतिले मनोनयन गर्नुहुनेछ।

९. देशमा हत्या, हिंशा, जघन्य बलात्कारका घटनाहरु बढ्दो छ। सरकार शान्ति सुरक्षाको संवेदनशीलतामा क्षमता प्रस्तुत गर्न असफल भएको छ। कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको जघन्य घटना बारे गम्भीर र गहिरो ढंगले छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा सरकार पुग्दा त्यसले नागरिक पक्तिलाई आक्रोशित बनाउनु र हजारौंको स्वतः स्फूर्त प्रदर्शन हुनु स्वभाविक थियो। तर, सरकारले छानवीनप्रति गम्भीरता र प्रदर्शनप्रति संयमता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दवाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुग्यो। नेपाली कांग्रेसलाई लाञ्छित गरेर सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर–जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्तिका कारण भाद्र ८ गते उत्पन्न परिस्थितिले अन्ततः अवोध बालक सन्नी खुनाको प्रहरीको गोलीबाट मृत्यु भयो। नेपाली कांग्रेस यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउँने षडयन्त्र  एवं गैर–जिम्मेवार अभिव्यक्तिको कडा भत्र्सना गर्दछ।

१०. कंचनपुर घटनाको गहन र गहिरो छानवीन गरी अपराधीमाथि तत्काल कार्वाहीको माग गर्दछ । निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्ति र सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।

११. बैठकले कञ्चनपुर घटनाको यथार्थ बारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय– श्री दिलेन्द्रप्रसाद बडू र श्री बीरबहादुर बलायर रहुन भएको टोली भाद्र १० गते नै कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गर्दछ।

१२. ०७५ भाद्र १ मा लागू भएको मुलुकी ऐनको परिमार्जित संहिताले नेपाल देशलाई आधुनिक राज्यका रुपमा विकसित गर्न महत्वपूर्ण योगदान गरेको छ। नेपाली कांग्रेसको नेतृत्वको सरकार भएका बेला सो मस्यौदा निर्माण गरिएको विषयलाई बैठकले गौरव गरेको छ। तर कार्यान्वयनको मितिमा आइपुग्नु पूर्व त्यसमा देखिएका कतिपय कमजोरीहरु सुधार गर्ने सरकारको गम्भीरता नपुग्नु दुःखद छ। खासगरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकहरुको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पुर्‍याउन सक्ने केहि प्रावधानहरु संशोधन गर्न अनिवार्य देखिएको छ। बैठकले यसमा संशोधनका लागि आवश्यक प्रकृया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ।

१३. संघीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढंगले कर बढाइएको घटनाले नेपाली जनजीवन यतिवेला आक्रान्त छ। लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्नेछ। नेपाली कांग्रेस पार्टी न्यायोचित कर र दायराको विस्तार मार्फत आर्थिक गतिविधि वढ्ने कुरामा विश्वास गर्दछ। करको दायरा फराकिलो बनाउँदा आर्थिक गतिविधिहरुको विस्तार र राजश्व वृद्धि भई बजेटको आकार वढाउन सकिने कुरामा नेपाली कांग्रेस विश्वास गर्दछ। हामी तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो—तेहोरो कर मार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराउँदछ। करको अचाक्ली दर भन्दा दायरा वढाउने एवं न्यायोचित कर लिने पार्टीको नीतिलाई स्थानीय तहमा निर्वाचित हाम्रा साथीहरुले कार्यान्वयनमा लैजाने एवं उद्योग व्यवसायहरुमा लगानी बढाउने नीति र कार्यक्रम स्थानीय तहमा तर्जुमा गरी अघि बढ्न बैठकले निर्देश गरेको छ। समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि आजको जटिलता उत्पन्न भएको ठहर नेपाली कांग्रेसले गरेको छ। यसर्थ, तत्कालै यसको गठन गर्न नेपाली कांग्रेस माग गर्दछ।

१४. मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्व क्रिकेटर इमरान खान निर्वाचित हुनु भएकोमा यो बैठक बधाई ज्ञापन गर्दछ। प्रधानमन्त्रीका रुपमा कार्य गरिरहँदा सादगीपूर्ण जीवनशैली अंगाल्ने घोषणा र त्यसका लागि नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जीवनशैलीबाट प्रभावित भएको उहाँको अभिव्यक्तिप्रति बैठकले सम्मान प्रकट गर्दै कार्यकालको सफलताको कामना गर्दछ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक भाद्र २१ गते विहान ११  पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले जानकारी दिए।

Credit : onlinepana.com

नेपाली कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने

 प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दुई नेतालाई कञ्चनपुर पठाउने भएको छ । कञ्चनपुर घटनाबारे अध्ययन गर्न आइतबार दुई नेतालाई पठाउने निर्णय कांग्रेसले गरेको छ ।

शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको समेत निष्कर्ष निकालेको छ । सत्तारुढ दलकै नेताको गैरजिम्मेवार अभिव्यक्तिका कारण शुक्रबार तनाव उत्पन्न भएको कांग्रेसको ठहर छ ।

कांग्रसका दुई नेता दिलेन्द्रप्रसाद बडू र बीरबहादुर बलायरलाई आइतबार कञ्चनपुर पठाउने कांग्रेसले जनाएको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई छानविन नभएसम्म नागरिक आक्रोशित हुनु स्वभाविक भएको कांग्रसले जनाएको छ । कांग्रेसले कञ्चनपुर घटनाको गहन छानविन गरी अपराधीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत दिन माग गरेको छ ।

Credit : onlinepana.com

सरकारले विप्लवदेखि सिके राउतसम्मलाई वार्तामा बोलाउँदै

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र तराईका सशस्त्र समूहहरूसँग वार्ता गर्ने तयारी गरेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको हो ।

टोलीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत, पूर्वमा गतिविधि गरिरहेको कुमार लिङ्देन नेतृत्वको समूहसहित सरकारसँग संवादमा नआएका तराईका भूमिगत सशस्त्र समूहसँग वार्ता गर्ने म्यान्डेट पाएको छ । उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको हो । यो टोलीलाई काम गर्न सिंहदरबारभित्रै कार्यालय दिने सरकारको तयारी छ । (नयाँ पत्रिकाबाट)

Credit : onlinepana.com

‘माओवादीलाई एमालेकरण गरेर प्रचण्डले राष्ट्रियतालाई फिक्का बनाए’

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्री)का अध्यक्ष गोपाल किरातीले पछिल्ला दिनहरुमा देशको कुटनीतिक मामिला कमजोर भएको बताएका छन् । उनले चीनप्रतिको शुद्ध धारणा लिपुलेक प्रकरणपछि शंकाको घेरामा परेको बताए ।

शनिबार संवाद डबलीमा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष किरातीले जनयुद्धले उचाइमा पुर्‍याएको नेपाली राष्ट्रियता एमालेसँगको एकतापछि पुनः फिक्का भएको बताए । “प्रचण्डले माओवादीलाई एमालेकरण मात्रै गराउनु भएन उहाँले राष्ट्रिय हित विपरित काम गर्न अझ बलियो आधार पनि दिनु भएको छ, विगारेका हाम्रो मुल्य, मान्यता र आदर्शलाई हामीले पुनः गौरवताका निम्ति काम गर्नुपर्ने छ” किरातीले भने

पूर्व मन्त्री समेत रहेका किरातीले आफू संस्कृति मन्त्री हुँदा पशुपतिनाथमा नेपाली पुजारी ल्याउने हिम्मत गरेको तर प्रचण्डले भारतीय पुजारी राख्ने पर्नेमा लागेको आरोप लगाए । उनले प्रचण्डको चरित्र विस्तारै उदांगो भएको समेत बताए ।

एक अर्को प्रसंगमा अध्यक्ष किरातीले सरकार जनविरोधी मात्र नभएर राष्ट्रिय हित विपरित कममा अभिमुख हुँदै गएकोले निकट भविष्यमा अर्को ठूलो आन्दोलन निम्तिने दाबी समेत गरे ।

राजनीतिक विश्लेषक तथा वाम वुद्धिजीवि प्रा.डा. गोपाल सिवाकोटीले नेपालमा अहिलेसम्म भरपर्दो परराष्ट्र नीति नबनेको बनेको बताए । उनले अहिलेका शासकहरुले भन्ने गरेको नीति परराष्ट्र नीति नभएर रणनीति भएको धारणा राखे ।

कार्यक्रममा बोल्दै सिवाकोटीले वर्तमान सरकार अघिल्ला सरकारभन्दा आन्तरिक र बाह्य सम्बन्धमा निकै कमजोर हुँदै गएको दाबी गरे । चीन र भारतबाट ७१ प्रतिशत सहयोग भएको र नेपालको १६१ ओटा मुलुकसँग कुटनीतिक सम्बन्ध भएको र जुन २९ प्रतिशतको लागि मात्रै यति धैरै देशसँग गर्नु अर्थिक बोजका हिसाबले फाइदा जनक नभएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भरत र चीनसँग राम्रो सम्बन्ध भएको भन्ने भनाई लगत भएको बताउँदै डा. सिवाकोटीले भने, “चिनीयाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने चार वर्षदेखिको कसरत के भयो रु लिपुलेकको के भयो रु भारतीय छत्रछाँयामा नेपाली सेनालाई पुनामा तालिम किन रु यस्ता प्रश्नले नेपालको चीनसँगको सम्बन्ध कस्तो छ प्रष्ट भएको छ ।” उनले भारतीयहरुले कोशस् व्यारेज सुरक्षार्थ भन्दै सेना नेपालमै राख्न अनुमतिपत्र आएको र कतै यो सरकारले भोलि गएर त्यो अनुमति पनि दिन सक्ने गम्भीर आशंका पनि व्यक्त गरे ।

राजनीतिक विश्लेशक डा।केवी रोकायाले नेपालको वर्तमान शासकहरु पुराना भन्दा पनि गएगज्रेका भएको र उनिहरुसँग देश र जनताको पक्षमा काम गर्ने भन्दा विदेशीलाई खुशी पारेर अर्थोपार्जन गर्ने दाउतिर अभिमुख भएको आरोप लगाए । रोकायाले नेपालमा आएको धर्म निरपेक्षता पनि विदेशीको डिजाइनमा भएको ठोकुवा समेत गरे ।

वर्तमान सरकारले कर्मचारीको तलब तथा आफ्नो नेता तथा कार्यकर्ता पाल्न निम्ति अनावश्यक जनताको ढाडमा करको बोझलगायतका जनविरोधी कामले जनता आक्रोशित भएको बताउँदै डा। रोकायाले भने, “यस्तो जनविरोधी सरकार ढाल्न अब देशमा ठूलो आन्दोलन हुन्छ, त्यसको नेतृत्व म र सुरेन्द्र केसी जस्ताले गर्ने छौं, किन कि राजनीतिक दलप्रति जनताको विश्वास उडिसक्यो ।”

कार्यक्रममा प्रा।डा।सुरेन्द्र केसीले २१ औं शताब्दिको प्रराष्ट्रनीति परनिर्भर नभएर अन्तर निर्भर हुनपर्ने बताए । नेपालको विदेश नीति समुन्द्रीय, आर्थिक अन्तरनिर्भर मुलक पञ्चशीलको धारमा हुनुपर्ने आवश्यकता भएपनि विदेशी रिजाउने र व्यक्तिगत फाइदा लिने किसिमले नीति बनाइएको बताउँदै केसीले भने, “मुखमा समाजवाद भन्ने विदेशीलाई फाइदा हुने, देशलाई टाट पल्टाउने नीति छ यी शासकको ।”

माओवादी केन्द्रका महासचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख कर्णजित बुढाथोकीले वर्तमान सरकारले समाजवादको नारा दिएर आफ्नो खिल्लि आफै उडाएको बताए । उनले सरकार नै माफियाहरुको चङ्गुलमा पसेको आरोप लगाए ।

पूर्वएमाले र नेपाली कंग्रेसले १० वर्षे जनयुद्धले देशलाई पछाडि धकेलेको आरोप लगाउने गरेको र त्यो आफ्ना पूर्वसहकर्मीहरु बादल, बाबुराम तथा जनार्दनले राम्रो काम गरेर झुट्टा सावित गरिसकेको बताए । साथै, महासचिव बुढाथाकीले आफूहरुले २०४८ सालमा संघीयता, धर्मनिरपेक्षत, समावेशी तथा समानुपतिक मुद्ध उठाएको स्मरण गर्दै सो माग उति नै समयमा पूरा गरेको भए यत्रो ठूलो बलिदान नहुने बताए ।

बुढाथोकीले जनताको ठूलो बलिदानीबाट अहिलेको परिवर्तन आएको तर सरकार त्यसलाई भुलेको बताउँदै भने, “हामीले ठूलो बलिदानी गरेर अहिलेको परिवर्तन आएको हो । फेरिपनि हामीलाई कम अक्दै हेप्ने हो भने विप्लव र वैद्य कमरेडसँग एकता गरेर सरकारलाई पाठ सिकाउन तयार छौं ।”

कार्यक्रमलाई स्वागत मन्तव्य सो विभागका सदस्य प्रयासजंग अधिकारीले गरेका थिए भने अर्का सदस्य बालकृष्ण लम्सालले कार्यक्रमको सञ्चालन गरेका थिए ।

Credit : onlinepana.com