एमाले र माओवादी बीच बैशाख भित्रै एकता हुन्छ : प्रचण्ड

चितवन, वैशाख ५ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच बैशाखभित्रै एकता हुने दाबी गरेका छन् ।

बुधबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई पार्टीबीचमा मिलाउनुपर्ने केही विषय अझै बाँकी रहेकाले बैशाख ९ गते नै एकता गर्न नभ्याइने बताएका हुन् ।

‘बैशाख ९ गते नै पार्टी एकताका लागि प्रयास त भयो, तर भ्याइएन’ प्रचण्डले भने, ‘गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदनमाथि हिजोबाट मात्रै गम्भीर छलफल सुरु भएको छ । ९ गतेअघि सबै बिषय टुंगो नलाग्न सक्ने देखियो ।’

उनले चुनाव चिहृन, सिद्धान्त र पदका विषयमा टुंगो लागिनसकेको स्पष्ट पारे । एमालेसँग एकतापछि बन्ने नयाँ पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिहृन के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीचमा भोलिदेखि गम्भीर छलफल हुने प्रचण्डले बताए ।

उनले पार्टी एकता हुदैन कि भनेर आशंका नगर्न पनि सबैलाई आग्रह गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका विषयमा माओवादी मन्त्रीहरुले उठाएको प्रश्न के हो भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने ‘प्रधानमन्त्रीमा निर्णयको सर्वाधिकार भए पनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएका हुन् । आन्तरिक सल्लाहबाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधानमन्त्रीलाई दिएको छु ।’

प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागि चितवन आएका हुन् । उनले चितवनको मेघौलीस्थित साझापुर माध्यमिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।

Credit : raranews.com

सिण्डिकेट पक्षधरलाई गृहमन्त्रीको चेतावनी : सरकार टुलुटुलु हेरेर बस्दैन

चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले यातायात ब्यवसायीले हड्तालका नाममा जनतालाई दुख दिएमा सरकार टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार चितवन आएका उनले यातायात व्यवसायीहरुले सडक बन्द गरेमा सरकार चुप लागेर नबस्ने बताएका हुन् ।

‘हड्तालका नाममा जनतालाई दुःख दिने काम सरकारले टुलुटुले हेरेर बस्दैन’ गृहमन्त्री बादलले भने, ‘सार्वजनिक सेवा प्रवाहमा कुनै अवरोध गर्न कसैले पाउँदैन ।’ सरकारले सुरक्षा व्यवस्थालाई अझै मजवुत बनाएर जाने प्रतिवद्धता मन्त्री थापाले व्यक्त गरे ।

उनले यातायात क्षेत्रको सिन्डिकेट पुनः ब्युँतिन नसक्ने दावी गरे । ‘देशका अन्य क्षेत्रमा पनि सिन्डिकेट भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भने ‘यो सुभारम्भ हो, क्रमश अन्य क्षेत्रमा पनि जान्छौं ।’

Credit : raranews.com

सीडीओ प्रदेश गृहमन्त्रीकै मातहतमा, गुप्तचरको ब्रिफिङ पनि प्रदेशमै

काठमाडौं : सिंहदरबारस्थित गृहमन्त्रालय प्रति उत्तरादायी रहँदै आएका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले अब प्रदेश सुरक्षा समन्वय समितिसँग समन्वय गर्नुपर्ने भएको छ । सबै जिल्लामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरुले पनि अब प्रदेश सरकार समक्ष बि्रफिङ गर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषदले मंगलबार पारित गरेको आन्तरिक सुरक्षा समन्वय निर्देशिका अनुसार प्रदेश सरकारसँग प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी र गुप्पचर अधिकारीहरुले समन्वय गर्नुपर्ने अन्तरिम व्यवस्था लागू गरिएको हो ।

शान्ति स्थापना सम्बन्धी कार्यहरुको सञ्चालन र व्यवस्थापन गर्न प्रचलित कानून र निमावलीहरु परिमार्जन हुनु पूर्व हालकै कानूनी व्यवस्था वमोजिम गर्ने गरी स्थानीय प्रशासन ऐन २०२८ बमोजिम निर्देशिका ल्याइएको जनाइएको छ ।

प्रदेश सुरक्षा समन्वय समिति

अब सातै प्रदेशमा प्रदेश सुरक्षा समन्वय समितिहरु बन्नेछन् । यही समितिले प्रदेशको दैनिक शान्ति सुरक्षा हेर्ने छ ।

प्रदेश सुरक्षा समन्वय समितिको संयोजक प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री रहनेछन् । समन्वय समितिमा प्रदेश प्रहरी प्रमुख, प्रदेश कानून मन्त्रालयका सचिव र प्रदेश गृहमन्त्रालयका सचिव सदस्यका रुपमा रहनेछन् । अरुलाई बैठकमा आमन्त्रित सदस्य बनाउन सकिने निर्देशिकामा उल्लेख छ ।

दैनिक शान्ति सुरक्षा कसले हेर्छ ?

प्रदेशको दैनिक शान्ति सुरक्षा मुख्यमन्त्रीले प्रदेशका प्रमुख सचिवमार्फत हेर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

त्यसैगरी परिस्थितिजन्य सुृरक्षा चुनौती आएमा सिडिओबाट प्राप्त पृष्ठपोषण (फिडब्याक) का कारण प्रदेशका गृहमन्त्रीले आवश्यक कार्य गर्न सक्ने अधिकार निर्देशिकाले प्रत्यायोजन गरेको छ ।

संघीय कानून अनुसार प्रदेशको दैनिक शान्ति सुरक्षाको स्थिति प्रदेश गृहमन्त्रालयले माथि पठाउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
प्रदेश र जिल्लामा रहेका राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का कर्मचारीले दैनिक रिपोटिङ प्रदेशका गृहसचिवलाई गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ ।

सरकारले प्रहरी ऐनलगायतका नयाँ कानून निर्माण नगरुञ्जेल अन्तरिमकालका लागि सुरक्षा निर्देशिका जारी गरेको हो । गृहमन्त्री रामबहादुर थापा वादलको प्रस्तावमा सरकारले मंगलबार निर्देशिका पारित गरेको हो ।

Credit : raranews.com

शुरु भयो अधिकारका लागि अन्नपूर्ण गाउँपालिका र एक्यापबीच खिचातानी, एक्यापमा तालाबन्दी गरिदिने गाउँपालिका अध्यक्षको चेतावनी

गणतन्त्र आएपछि सुख र सुबिधा पाउने आशा गरिरहेका नेपाली जनता अहिले स्थानीय तहबाट हुने चर्को राजस्व असुलीबाट वाक्क बनेका छन् भने संघ र स्थानीय तहका बीच अधिकारका लागि अन्तरसंघर्ष चलिरहेकै छ l त्यसमा पनि विभिन्न स्थानीय तहका जनापरतिनिधिहरुलाई विभिन्न संघ-संस्थाहरुले नटेर्ने गरेको गुनासाहरु आउन थालेका छन् l

जनमत पाएर बिजयी भएका जनप्रतिनिधिहरुलाई नटेरेपछी स्थानीय तहका जनप्रतिनिधि र विभिन्न आयोजना तथा संघ-संस्थाहरुबीच खिचातानी शुरु भएको छ l यस्तै खिचातानी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापसफ बीच चलिरहेको छ l

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुवँरले जनताले संरक्षण गरेका सम्पत्ति प्रयोग गर्दा पनि अनेक बाधा झिकेर एक्यापले दुख दिने गरेको आरोप लगाउन्छन्  । उनी प्रश्न गर्छन ‘ हामीले हाम्रै निम्ती हामीले नै हुर्काएको रुख, हामीले संरक्षण गरेको श्रोत साधन हामीले प्रयोग गर्न पाउँदैनौं भने त्यसको के काम ?’

पर्यावरण नविग्रिने गरी प्राकृतिक श्रोत चलाउन पाउने हामीलाई संविधानले अधिकार दिएको छ, उनले भने–जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ ।’ गाउँपालिकाले आयोजना गरेको चालू बर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय जनताले  विरेठाँटीमा एक्यापका कारण जनताले दुख पाएको गुनासो गरेपछि कुवँरले जनताको हित विपरित काम गरे एक्यापको कार्यालयमा तालाबन्दी गरेर बन्द गरिदिने चेतावनी दिए।

विरेठाँटीका स्थानीय टेकबहादुर गुरुङले आफ्नै जग्गाको काठ अर्को वडामा चिर्न लैजाँदा एक्यापले रोक्ने र जरिवाना तिराएको गुनासो गरेका थिए ।

Credit : janasanchar.com

शिक्षकहरु गिरफ्तार

सरकारले आफ्नै विद्यालयमा कार्यरत शिक्षकहरुलाई दमन गर्न थालेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई वैशाख ४ गते धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट पुलिस प्रशासनले गिरफ्तार गरेको छ ।

अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको हो ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले उक्त गिरफ्तारीको विरोध गर्दै विज्ञप्ती निकाल्नु भएको छ । विज्ञप्तीमा उहाँले भन्नु भएको छ, शान्तिपूर्ण तरिकाले संगठनको बैठकका लागि गैरहेका बखत शिक्षक नेताहरुलाई गरेको गिरफ्तारको हाम्रो संगठन विरोध गर्दछ भनिएको छ । यसै गरी नेपालका अन्य शिक्षक संगठनहरुले पनि विरोध गरेका छन् ।

Credit : janasanchar.com

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, कति पुग्यो?

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई/दुई मूल्य वृद्धि गरेको जनाएको छ ।  समायोजित नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०६ र डिजेल तथा मट्टितेल प्रतिलिटर रु ८७ कायम भएको छ ।  स्वतः सञ्चालित मूल्य संरचनाअनुसार बिक्री मूल्य समायोजन गर्दा निगमको अर्ध मासिक नाफा करीव रु २१ करोड हुने देखिएको छ ।

Credit : janasanchar.com

प्रजिअविहीन तनहुँमा पन्चानब्बे दिनपछि प्रजिअ

तनहुँ जिल्लामा प्रमुख जिल्ला अधिकारीविहीन भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी सोमबार दमौली आइपुग्नुभएको छ ।

गृह मन्त्रालयबाट भरतकुमार शर्मा प्रमुख जिल्ला अधिकारीको रुपमा तनहुँ आइपुग्नु भएको छ । उहाँले सोमबारदेखि नै हाजिर गरी कार्यभार सम्हाल्नु भएको छ ।

तत्कालिन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौँ गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन हुँदै आएको थियो । प्रजिअविहीन हुँदा जिल्ला प्रशासन कार्यालयबाट हेरिने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित हुँदै आएको थियो । प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताउनुभयो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको चाहना भएकाले त्यसैलाई पूरा गर्न आफू कटिबद्ध भएर लाग्ने प्रजिअ शर्माले बताउनुभयो । तनहुँवासीको साथ र सहयोग पाए जिल्लालाई शान्ति र समृद्धिमा अगाडि बढाउन आफू सफल हुने दाबीसमेत उहाँले गर्नुभएको छ । यसअघि निमित्तको हैसियतमा सहायक प्रजिअ तुलसीराम पौडेलले दैनिक कार्यभार भने सम्हाल्दै आउनुभएको थियो ।

Credit : janasanchar.com

भारतीय दुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम बिस्फोट

विराटनगरस्थित भारतीय राजदुताबासको सम्पर्क कार्यालयलाई लक्षित गरी गएराती बम बिस्फोट गराइएको छ ।

विराटनगर१३ स्थित सो कार्यालयको बम बिस्फोटबाट पर्खालमा सामान्य क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सम्पर्क कार्यालयको पछाडिको खुल्ला चौरमा भएको बिस्फोटले कार्यालयको पर्खालमा सामान्य क्षती भएको बताउनुभयो ।

बम राख्नेको पहिचान भएको छैन । घटनास्थल र सम्पर्क कार्यालयको वरिपरि अहिले सुरक्षा व्यवस्था कडा पारिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

Credit : janasanchar.com

नेकपा नेता एबम पुर्व सभासद पासवानसहित चार जना नेता तथा कार्यकर्ता पक्राउ

नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता एबम पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फका समानुपातिक सभासद् बाबुलाल पासवान ‘महावीर’ लगायत चार जना नेता तथा कार्यकर्तालाई मोरंग प्रहरीले बिराटनगरबाट पक्राउ गरेको छ l

प्रहरीले महावीरलाई विराटाटनगरबाट मोटरसाइकिलसहित गिरफ्तार गरेक थियो भने योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तान फुंलिङबजारबाट गिरफ्तारीमा परेका थिए । नेपाल शिक्षक संगठनका उदयपुर अध्यक्ष युवराज कार्कीलाई गाइघाटबाट गिरफ्तार परेका छन् ।

नेता पासवान बिराटनगरस्थित भारतीय राजदूतावासको सम्पर्क कार्यालयलाई लक्षित गरी बम विस्‍फोट गराएको घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको छ। पासवानलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार बूढीगंगा गाउँपालिकाको निमुवाबाट पक्राउ गरेको हो । ६४ वर्षीय पासवान पहिलो संविधानसभा निर्वाचनमा माओवादीको तर्फबाट समानुपातिक सभासद् भएका थिए ।

बम विस्‍फोटमा संलग्न भएको भने उनी हुन् वा हैनन् भन्ने केही खुलेको छैन । प्रहरीले अहिले अनुसन्धानमा राखेको छ । विराटनगर–१३ मा रहेको कार्यालयलाई लक्षित गरी सोमबार राति बम विस्फोट भएको थियो ।

प्रहरीले घटनास्थलमा र सम्पर्क कार्यालयको वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले मंगलबार बन्दको आह्‍वान गरेकोले उनकै कार्यकर्ताले बम विस्फोट गराएको हुन सक्ने स्थानीय प्रशासनको भनाई छ ।

Credit : janasanchar.com

शिक्षा समृद्ध नेपालको मुल आधार : जनार्दन शर्मा

रुकुम : पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले शिक्षा समृद्ध नेपालको मुलआधार भएको बताएका छन् ।   रुकुम पश्चिमको चौरजहारीमा आइतबार विद्यार्थीहरुको पोशाक वितरण कार्यक्रमलाई सम्वोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

वामपन्थीको सरकारले शिक्षालाई पहिलो प्राथामितामा राखेको भन्दै विद्यार्थीहरुलाई शिक्षकले गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताए ।  उनले  विद्यालयमा अध्यापनरत शिक्षकहरुको क्षमतालाई वृद्धि र विकास गर्नको लागि विभिन्न समयमा  स्थानीय सरकारले तालिमको समेत व्यवस्था गर्ने बताए ।

माओवादीले चुनावी घोषणा पत्रमा भनेअनुसार जिल्लाका सवै आधारभुत तहमा पोशाक वितरण गरीने बताए ।   शिक्षा पछि स्वास्थ्य ,भौतिक संरचना  निर्माण  सडक लगायत जनताका आधारभूत आवाश्यकता परिपुर्ति गरीने कुरा समेत उनले दोहोर्याए ।

५ वर्षभित्र भेरीनदिलाई वाँध निर्माण गरी सल्यानको सल्लीवजार देखि जाजरकोटको पिपे सम्म जलासय वनाएर पर्यटक भित्राउने लक्ष्य रहेको समेत उनले जानकारी दिए ।  सोही अवसरमा कोरियन नागरिक डाक्टर पार्क र योनले समेत विद्यालयलाई ५ हजार अमेरिकी डलर हस्तान्तरण गरेका थिए ।

विद्यालयको क्षैक्षिक व्यवस्थापनको लागी उनीहरुले उक्त रकम विद्यालयका प्रधानाध्यापक कालि वहादुर नेपालीलाई हस्तान्तरण गरेका हुन् ।

Credit : raranews.com