झरना : हरि दाइ, तपाईं जब साधारण हरिवंश आचार्यबाट लोकप्रिय कलाकार हरिवंश आचार्य हुनुभयो, त्यसपछि कस्तो अनुभूति गर्नुभयो ?
हरिवंश : जसरी सगरमाथा चढ्दा एकैचोटि टुप्पोमा पुगिँदैन, यदि अरू माध्यमले टुप्पोमा पुगिहालियो भने पनि हाई अल्टिच्युटका कारण सिकनेस भएर बाँच्न सकिँदैन, क्रमशः खुड्किला गन्दै पुगियो भने फर्किन सकिन्छ, त्यसैगरी, म पनि एकैचोटि झट्टै कलाकार भएको होइन । साना खुड्किला पार गर्दै आएको हुँ । तसर्थ खासै फरक अनुभूति भएन ।
झरना : तपाईंले आफ्नो सिंगो जीवन नै कलाकारिता क्षेत्रमा समर्पण गर्नुभयो । कुनै गुनासो छ कि छैन ?
हरिवंश : मेरा लागि कलाकार हुनु नै मेक्सिमम हो । बुझ्ने भएपछि सुब्बा, खरिदार आदि जागिर खाने इच्छा थियो । अहिले कलाकारिताबाट चिताएभन्दा पनि बढी सन्तुष्टि मिलेको छ । यो पेसाप्रति कुनै
गुनासो छैन ।
झरना : तपाईंको नजरमा जीवन के रहेछ ? मृत्युपछिको जीवन कस्तो हुन्छ होला ? र, तपाईंलाई जीवनमा के कुराले शान्ति मिल्छ ?
हरिवंश : मेरो विचारमा जीवन मागेर पाउने कुरा होइन । यदि जीवन नै नभएको भए शून्यता हुन्थ्यो होला ! तसर्थ, जीवन वरदान हो । जति बाँचिन्छ, त्यति नै हो जीवन । मरेपछि आफूलाई केही थाहा हुँदैन । तसर्थ, केही पनि पाइन्न । मलाई त आफूले काम गरेको कुरामा शान्ति मिल्छ । तपाईं जे पेसा गर्नुहुन्छ, त्यसमै सन्तुष्टि खोज्नुपर्छ । अरूको देखासिकी होइन, आफूले जीवनमा पाएको कुरामा गर्व गर्नुपर्छ । निरन्तरता दिएर अझ प्रगति गर्ने प्रयास गर्नुपर्छ । त्यसैमा शान्ति छ ।
झरना : कलाकार भएर सधैँ सार्वजनिक जीवन जिउँदा तपाईंलाई आफ्नो व्यक्तिगत जीवन निरस भएजस्तो लाग्दैन ?
हरिवंश : मैले आफू कलाकार भएकै कारण लगभग आधा विश्व घुमिसकेँ । यसैको आय–आर्जनले सम्पन्न जीवन जिइराखेको छु । कलाकारिता पेसाकै भरमा मेरो जिन्दगी मजाले चलेको छ । यदि म कलाकार नभएको भए यी सबै कुरा नपाउन पनि सक्थेँ । विशेषगरी आधा विश्व घुम्ने कुरा ।
झरना : तपाईंको जीवनमा धेरै राम्रा–नराम्रा पल आए । एउटा राम्रो पल सम्झिनुपर्दा ?
हरिवंश : म बुबा–आमाको गर्भबाट जन्मिन पाउनु नै मेरो सबैभन्दा बेस्ट पल हो ।
झरना : तपाईंलाई हामी अभिनय क्षेत्रको शिखर व्यक्तित्वका रूपमा लिन्छौँ । आफूले अभिनय गरेको क्यारेक्टरमध्ये कुनचाहिँ पात्रमा आफूले बढी न्याय गरेँ जस्तो लाग्छ ?
हरिवंश : आफूले गरेको विषय र निभाएका क्यारेक्टर फरक–फरक छन् । सबै क्यारेक्टरका उत्तिकै विशेषता हुन्छन् । तैपनि, छान्नैपर्दा ‘लालपुर्जा’, ‘१५ गते’, ‘चिरञ्जीवी’, ‘हरिबहादुर–मदनबहादुर’, ‘बलिदान’ आदिका क्यारेक्टरलाई छान्न सकिन्छ ।
झरना : के कुनैवेला तपाईंले आफ्नै अभिनयमा खोट देख्नुभएको छ ?
हरिवंश : छ । आफ्नै अभिनय र क्यारेक्टर हेरेपछि योभन्दा त्यो गरेको भए हुन्थ्यो भन्ने लाग्छ । जस्तो, ‘बलिदान’ फिल्ममा मैले हिरोको रोल निभाएको छु । त्यो हेर्दा खोट नै त देखेको छैन । तर, पूर्ण सन्तुष्टि भने मिलेको पाउँदिन । अभिनयमा पूर्ण सन्तुष्टि भन्ने नै हुँदैन ।
झरना : आदरणीय दाइ मदनकृष्ण श्रेष्ठसँग भेट नभएको भए हरिवंश आचार्य कहाँ हुन्थ्यो जस्तो लाग्छ ?
हरिवंश : मदन दाइसँग भेट हुनुभन्दा अघि पनि मैले अभिनय क्षेत्रमा ५–६ वर्ष एक्लै काम गरेको थिएँ । गोल्डमेडल पनि पाएँ । उहाँसँग भेट हुनु एउटा संयोग हो । यस्तो अवसर सबैले प्राप्त गर्दैनन् । उहाँसँग भेटेपछि हाम्रो कलाकारिता झनै सौहार्द र समावेशी भयो । हामी राष्ट्रिय प्रतीकजस्ता भयौँ । धेरै फाइदा गरेको छ ।
झरना : तपाईंलाई नेपाली चलचित्र क्षेत्रको थप विकास र विस्तारका लागि हामीले अब के गर्नुपर्छ जस्तो लाग्छ ?
हरिवंश : त्यसका लागि स्तरीय चलचित्र बनाउन जरुरी छ । विषयवस्तु पनि त्यसैअनुरूपका हुनुप-यो । अझ, भनौँ मौलिक चलचित्र । हाम्रै मौलिकतालाई समावेश गरेर पनि संसारभर हेर्न सक्ने उत्कृष्ट चलचित्र बनाउन सकिन्छ । उत्कृष्ट नेपाली चलचित्र बनाएर इंग्लिसलगायत विभिन्न भाषामा पनि डब गर्न सकिन्छ । यसले नेपाली चलचित्रको विश्वव्यापीकरण हुन्छ । पछिल्लो समयमा देखिएका नयाँ पुस्ता ब्रिलियन्ट छन् । उनीहरूले धेरै चेन्ज ल्याउन सक्छन् ।
झरना : विभिन्न फेसबुक पेजमार्फत तपाईंलाई धेरै नेपालीले प्रधानमन्त्री बनाएको पाइएको छ । यसको अर्थ उनीहरूले तपाईं साँच्चिकै प्रधानमन्त्री भएको हेर्न चाहेका छन् । के तपाईं आफूले कहिल्यै प्रधानमन्त्री बन्नेबारे सोच्नुभएको छ ?
हरिवंश : मैले कहिल्यै प्रधानमन्त्री भएर देश चलाउँछु भनेर सोचेको छैन । त्यो मैले जानेको काम पनि होइन । यदि वर्तमान प्रधानमन्त्री केपी ओलीले फिल्म बनाउनुभयो भने त्यो सफल नहुन सक्छ । उहाँले गरेको अभिनय पनि नबिक्न सक्छ । मैले कहिल्यै राजनीति गरिनँ र सिकिनँ पनि । आफूले नजानेको काममा सफल भइन्छ भन्ने मलाई लाग्दैन ।
झरना : बिगतमा तपाईंलाई कुन हिरोइनसँग केमेस्ट्री मिलाएर फिल्म खेल्ने मन थियो, जुन पूरा हुन सकेन ? र, अब कोसँग खेल्ने मन छ ?
हरिवंश : हिरोइनसँग केमेस्ट्री मिलाउन ग्लामरसँग रिलेटेड मान्छे हुनुपर्छ । म त्यस्तो होइन । म टेलिफिल्ममा बढी बिजी भएको कलाकार हुँ । त्यसो त मैले ‘लोभीपापी’ चलचित्रमा गौरी मल्लसँग खेल्न पाएँ र ‘जे भो राम्रै भो’मा जल शाहसँग । अनि ‘तँ त साह्रै नै बिग्रिस नि बद्री’मा विपना थापासँग । यी तीनैजना हिरोइन त्यतिवेला चलेका मध्येमा पर्नुहुन्थ्यो । तर, यो पनि मैले रोजेर, चाहेर या नचाहेर केमेस्ट्री मिलाएको होइन । कथाले मागेअनुसार आफैँ भएको हो ।
Credit : onlinepana.com