नेपालमा प्रतिक्रान्तिको सम्भावना : युवराज गौतम

राष्ट्रलाई स्वाधीन राख्न वा पराधीन अवस्थाबाट उन्मुक्ति दिन नैतिक बल चाहिन्छ । दलदलमा भासिएको परावलम्बी, परमुखापेक्षी, परतन्त्र एवं पराश्रित चिन्तनले राष्ट्र बलियो हुँदैन । राष्ट्रिय व्यक्तित्वको जगेर्ना पनि हुँदैन । ‘असंलग्न’ भनिएका राष्ट्रमध्ये धेरैले सैनिक सहायता, आर्थिक सहायता र नैतिक सहायताको प्रलोभनमा असंलग्न चरित्र गुमाइरहेका छन् । भारत संलग्न आन्दोलनको संस्थापक मध्येको एक हो, नेपाल जस्तै । तर आज राष्ट्रिय सुरक्षाको प्रश्नमा अमेरिकासँग आणविक सम्झौता गरेर भारत आफ्नो रक्षा गर्न खोजिरहेको छ । रक्षा र परराष्ट्र मामिलामा भारतको मुख ताक्न बाध्य भुटान आफूलाई असंलग्न भन्दै तर भारतको छत्रछहारिमै बसिरहेको अवस्था छ । भुटानभन्दा पनि नेपाल आज प्रतिव्यक्ति आयमा तल देखिएको छ । भुटानको प्रतिव्यक्ति आय आठ हजार अमेरिकी डलरभन्दा बढी छ भने नेपालको एक हजार डलर बराबर मात्र देखिन्छ । कहिले चीनको काखमा त कहिले भारतको काखमा बस्न खोज्ने अवसरवादी कूटनीतिले गर्दा विश्वसनीयता गुमाइरहेका छौँ हामी । यस्तो अवस्थामा जुनसुकै दलको सरकार आए पनि दलदलमै भासिइरहने सम्भावना हुन्छ । आज जे हुँदैछ, त्यो हिजोका भुलहरूको परिणति हो । यसमा थप व्याख्या आवश्यक पर्दैन।

समुद्रले नछोएका राष्ट्रलाई भूपरिवेष्ठित (ल्यान्डलक्ड) भन्ने भूगोलवेत्ताहरूको कथन छ । त्यस्ता राष्ट्र ४९ वटा छन् । अफगानिस्तान, अंडोरा (एन्डोरा), अर्मेनिया, अस्ट्रिया, अजरबैजान, भुटान, बेलारुस, बोलिभिया, बोत्स्वाना र बुर्किनाफासो मात्र होइन, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चाड, बुरुन्डी, चेक गणतन्त्र, इथियोपिया, हंगेरी, काजकस्तान, कोसोभो, लाओस्, लेसोथो लिच्टेन्सटेन, किर्घिजस्तान, लक्जेमवर्ग, मालावी र मेसेडोनियाको माटोले पनि समुद्रको जल छुँदैन।

 स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बचाउने हो भने विदेशीका पछिपछि दगुर्ने चरित्र त्याग्नुपर्छ।

मोल्दोभा, आर्तसाक (पहिलेको नागार्नो काराबाख), माली, मोल्दोभा, नेपाल, नाइजर, पराग्वे, रुवान्डा, साउथ ओसेटिया, साउथ सुडान, स्वाजिल्यान्ड, ताजिकिस्तान, ट्रान्समिस्त्रिया, तुर्कमेनिस्तान, युगान्डा, उज्बेकिस्तान, भ्याटिकन सिटी, वेष्टबेंक, जाम्बिया र जिम्बाबे मात्र होइन, स्वीट्जरल्यान्ड जस्तो सम्भ्रान्त, सुखी र शान्त राष्ट्र पनि भूपरिवेष्ठित नै हुन् । नेपालमा अर्बौंको सम्पत्ति हुनेदेखि फाटेको लुगा लगाउनेहरू एउटै दल नेपाल कम्यनिस्ट पार्टीमा अटाएझैँ स्वीट्जरल्यान्ड जस्ता धनाढ्य र बुर्किनाफासो जस्ता भिखारी राष्ट्र पनि “भूपरिवेष्ठित” स्टिकर टाँसेर उभिएका छन् । भौगोलिक विकटतालाई विषमता होइन, विविधता ठानेर साहसका साथ राष्ट्रलाई जुरुक्क उठाउने दीर्घकालीन कार्यक्रम लागू गर्ने हो भने नेपाल लक्जेमबर्गझैँ धनी पनि हुनसक्छ । राष्ट्रका लागि होइन, दल, गुट र आफ्नै संकीर्ण स्वार्थमा अल्मलिइरहने भने अझै पचास वर्षसम्म हामी दरिद्र रहनेछौँ । तसर्थ, नेपाल भूपरिवेष्ठित वा ल्यान्डलक्ड हुनु समस्या होइन, ‘माइन्डलक्ड’ हुनु पक्कै समस्या हो।

अधिकांश पत्रकार ‘आफ्नो दलको’ भुल हेर्दैनन् । मानव अधिकारवादीहरू मध्येबाटै दानवहरूको पनि वकालत गर्नेहरू धेरै छन् । अर्बौं रुपियाँको स्रोत–साधन भएको महानगर काठमाडौं धुलो, हिलो र फोहोरमय हुँदा पनि त्यसको जिम्मेवारी लिन कोही तत्पर देखिएका छैनन् । समाज नबुझ्नेले समाजवाद कसरी बुझ्छ ? जसले कुरान बुझ्दैन, उसले नमाजको अर्थ कसरी बुझ्छ ? पृथक् विचारको सम्मान गर्न नसक्नेहरू दक्षिणपन्थी, वामपन्थी, उध्र्वपन्थी जे भए पनि उनीहरू ल्याप्रस्कोपीलाई पनि बन्दाकोपीझँै कुनै तरकारी ठानिरहेका छन् । समाज अझै पनि कुन राजनीतिमा चल्छ भन्ने स्पष्ट देखिँदैन । राजनीतिशास्त्रमा ‘धुवाँ र ऐना’ दुवैको प्रसंग आउँछ तर ऐनामा जे देखिनुपर्ने हो, त्यो देखिँदैन । धुवाँ, धुलो, ऐना, दर्शक सबै छन् । तर ती स्थायी होइनन्।

सन् १९२६ मा लेखिएको संविधान सन् १९८९ मा संशोधन गरिएपछि पनि लेबनानमा शान्ति स्थापना हुन सकेन । राष्ट्रपति पदमा ‘मेरोनाइट क्रिश्चियन’ हुनैपर्ने संवैधानिक व्यवस्था गरियो । सभामुख पद ‘शिया’ र प्रधानमन्त्री पदमा ‘सुन्नी’ मुसलमान नै चाहिने भो । सन् १९९२ पछि नयाँ गृहयुद्ध सुरु भयो । यमन, इराक, सिरिया, इजिप्टलगायतका राष्ट्रमा ‘फुटाऊ र राज गर’  भन्ने नीतिअनुसार पश्चिमा राष्ट्रहरू आफ्ना खेल खेल्दैछन् । दक्षिणपूर्वी एसियादेखि नाइल नदी छेउछाउका राष्ट्रमा साम्यवाद र समाजवादका नाममा बाइबलवाद फैलिएको छ।

 समताको सट्टा विषमता वा समानताको सट्टा असमानता बढ्दा समाज ध्रुवीकृत हुन्छ। हुने र नहुने, पाउने र नपाउने, हेप्ने र हेपिने, भाग्यमानी र अभागीहरूको कित्ता काटिँदै गएपछि ऐन, कानुन, संविधान सबै संग्रहालयमा पुग्छन्।

ऋणमा चुर्लुम्म डुबेर पनि विश्व बैंकका ढोकामा पुगेर नेपालले ‘भिक्षाम्देही’ भन्नुपर्ने अवस्था आयो । यो समृद्धितिरको यात्रा हो कि, भिक्षाटनको यात्रा ? दोष अर्थमन्त्रीको होइन, पद्धतिको हो । विज्ञहरूले लेखेका छन्, ‘प्रत्येक दिन पैंतीस करोड रुपियाँको भोजन गराउन सकिएन भने संघीयता बाँच्दैन ।’ राष्ट्र र जनता बचाउन होइन, संघीयता बचाउन अब सरकारले कम्मर कस्नुपर्ने अवस्था आएको छ । पूर्व अर्थमन्त्री तथा पुराना वामपन्थी नेता भरतमोहन अधिकारीले केही महिनाअघि आफ्नो लेखमा ‘विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक, अमेरिका, जापानलगायतसँग सहायता मागेर भए पनि संघीयता बचाउन’ सल्लाह दिएका थिए । सरकारले अहिले त्यही सल्लाहअनुसार काम गर्दैछ । मागेर राष्ट्र हाँक्ने अवस्थामा पुगेको छ, राज्यसत्ता।

२०५४ सालको असोज ३० गते रोममा आयोजित विश्व खाद्य तथा कृषि संगठनको बाउन्नाैं वार्षिकोत्सवमा राजा वीरेन्द्र सहभागी थिए । त्यसबेला संसारका ८४ करोड मानिस खाद्यान्न अभावले पीडित रहेछन् । संयुक्त राष्ट्रसंघलाई लक्षित गरेर राजा वीरेन्द्रले बोले, “कतिपय मुलुकहरूमा किसानहरूको अथक मिहिनेतबाट पनि खानेकुराको अभाव हट्न सकेको छैन भने यस सन्दर्भमा भएका प्रयासहरू पनि त्यति प्रभावकारी हुन सकेका छैनन् ।” विश्व खाद्य कार्यक्रमका नाममा नेपालका भूकम्पपीडितलाई पठाइएका हजारौँ बोरा चामल ‘कुहिएको’ रहेछ भन्दै सञ्चारमाध्यमले उल्लेख गरेका थिए भने हजारौँ बोरा खाद्यान्न पीडितलाई नदिएर नेता–कर्मचारीले सड्ने अवस्थामा पु¥याए । यो त एउटा उदारहण मात्र हो । यसमा विश्व खाद्य कार्यक्रम कति गैरजिम्मेवार छ भन्ने देखाउँछ।

प्रतिक्रान्ति, विद्रोह र आक्रोशको धरातल भोकमा हुन्छ भनेर समाजशास्त्रीहरू भन्छन् । समताको सट्टा विषमता वा समानताको सट्टा असमानता बढ्दा समाज ध्रुवीकृत हुन्छ । हुने र नहुने, पाउने र नपाउने, हेप्ने र हेपिने, भाग्यमानी र अभागीहरूको कित्ता काटिँदै गएपछि ऐन, कानुन, संविधान सबै संग्रहालयमा पुग्छन् । लाखौँ जनताले प्रतिक्रान्तिमै भविष्य देख्न पाइन्छ भन्ने सोचे भने त्यही बन्छ, प्रतिक्रान्तिको अधिकार।

पूर्वीय राज्य व्यवस्थामा महाभारतको राजधर्म पर्वलगायत धेरै ग्रन्थमा राजनीतिको वर्णन छ । जनताले आफू थिचिएको, शोषित भएको र हेपिएको ठानिरहनु प¥यो भने विद्रोह र प्रतिकार गर्छन् भन्ने कतिपयको मत छ । शासक (राजा) जनताको दुःखहरण गर्ने हुनुपर्छ भनिएको छ । जनतालाई शासकले नै खानपानको व्यवस्था गर्नुपर्छ भनिएको छ । यस्तै आततायीहरूलाई कठोर सजाय दिएर राजाले आततायीलाई प्रत्याक्रमणमा वध गर्नु पाप हुँदैन भनिएको छ । (गर्ग संहिता, विश्वजित् खण्ड) तर आततायीलाई नै राज्यका प्रमुख सुरक्षा निकायले कुनै दिन दण्डवत्, सलाम वा नमस्कार गर्नुपर्ला भन्ने कुरा प्राचीन धर्मशास्त्रमा पनि कल्पना गरिएको रहेनछ।

माओको निमन्त्रणामा राजा महेन्द्रले (२०१८ सालमा) गरेको भ्रमणपछि २०२३ असारमा युवराज वीरेन्द्रले चीन भ्रमण गरे । उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत रहेका चीनका शक्तिशाली राजनेता फिल्डमार्सल चेन यीले असार १२ गते ग्रेट हल अफ द पिपुलमा आयोजित राजकीय भोजमा युवराज समक्ष व्यक्त गरेका कतिपय वाक्यांश आज पनि चर्चित र सान्दर्भिक छन् । चीनका नेताहरूले ‘नेपाललाई कसैले हेप्छ भने हामी सहदैनाैं’ भन्ने आशय व्यक्त गर्दैै आएका छन् भने ‘हिमालयदेखि कन्याकुमारीसम्म हाम्रै हो’ भन्ने दिल्लीका ‘दाजु’ नेपालका आफ्ना प्रियजनलाई काजु खुवाइरहेका छन् । त्यसैले, आफू अनुकूल वातावरण बनाउन नेपाली राजनीतिज्ञ, उच्चपदस्थ एवं टाठाबाठामा लगानी गर्न चीन–भारत पछि नहट्लान् । पश्चिमाको खेल झन् झेलमय देखिन्छ । तसर्थ “यही सरकार पाँच वर्षसम्म अकन्टक र अविरल चलिरहन्छ” भनियो भने त्यो सोम शर्माको कथा मात्र ठहरिन्छ।

ख्यालख्यालमा सिरियामा आगो सल्काइयो । यमन चारवर्ष अघिदेखि जलिरहेको छ । आर्थिक विषमता, राजनीतिक कचिंगल, बेरोजगारी, वैदेशिक हस्तक्षेप, मानवअधिकार र प्रेस स्वतन्त्रताको अवस्था, भ्रष्टाचार, विधिको शासनलगायतका क्षेत्रमा सूक्ष्म अध्ययन गर्दा नेपाल उकालो लागेको देखिँदैन । राजनीतिक, समाजिक, राष्ट्रिय सुरक्षा, स्वतन्त्रताको अवस्था, आर्थिक प्रगतिलगायतका बाह्रवटा विषयलाई असफल र कमजोर राष्ट्रका मापदण्ड मानेर विज्ञहरूले वर्गीकरण गरेका छन्।

सुडान, सोमालिया, अफगानिस्तान, यमन, सिरिया, नाइजेरिया, लाइबेरिया, अंगोला भन्दा हाम्रो अनुहार अलि हँसिलो छ । तर यसको अर्थ हामी खतरामुक्त छौँ भन्ने होइन । विभिन्न संस्थाले गरेको अध्ययनमा नेपाल संक्रमणकालमै छ । अस्थिर नै छ । दरिद्र नै छ । कुनै पनि बेला विद्रोह वा प्रतिक्रान्ति हुन सक्ने अवस्थामै छ । बितेका दश वर्षमा नयाँ पद्धतिले सरकारहरू मात्र फेरिए, जनताको अवस्था फेरिएन । राष्ट्रले स्पष्ट बाटो लिन सकेको छैन।

‘फन्ड फर पिस’ नामक संस्थाले नाजुक राष्ट्रको पंक्तिमा ३९ नम्बरमा नेपाललाई उभ्याएको छ । अर्थात्, हामी कुनै पनि बेला जातीय, धार्मिक, साम्प्रदायिक दंगाको शिकार बन्न सक्छौँ । अध्ययनले हामीलाई जोखिमपूर्ण क्षेत्र (डेन्जर जोन) अन्तर्गत राखेको छ । नेपाल समृद्ध, शान्त, सुखी र समुन्नत होस् भन्ने हामी सबैको चाहना छ तर राजनीति, कूटनीति र अर्थनीतिले आशलाग्दो मार्ग समाउनै सकेन । एकसय ७८ वटा राष्ट्रमा अध्ययन गर्दा फिनल्यान्ड, नर्वे, स्वीट्जरल्यान्ड, डेनमार्क, लक्जेमबर्ग, स्वीडेन, क्यानडा, नेदरल्यान्ड, बेल्जिमय, ब्रिटेन आदिलाई शान्त, सुखी, समृद्ध मानिएको छ । चालीस वटा दरिद्रतम् राष्ट्रमा नेपाल पनि पर्दोरहेछ । गर्व गर्ने केमा ? आजको पद्धतिले हामीलाई धकेलेर रुआन्डा, सुडान, नाइजर, हाइटी, कंगो, सोमालिया वा जिम्बाबेकै अवस्थामा पु-याउने छाँटकाट देखिएको छ । गर्नुपर्ने हजारौँ रचनात्मक कामको बजेटले संघीयताको संरक्षण, संवद्र्धन र सम्पोषण नगरे गणतन्त्रको प्राण जाने अवस्था छ । राष्ट्र भड्खालोमा परोस् तर गणतन्त्र नमरोस् भन्ने नेताहरूको सपना साकार पार्न लाग्दा राष्ट्र भत्किएर निराकार बन्ने खतरा देखिएको छ । चुनाव त नाइजेरियामा पनि भएथ्यो । सुडानलाई प्रजातान्त्रिक ढंगैबाट टुक्राटुक्रा पारिएको हो । सिक्किम पनि प्रजातान्त्रिक ढंगले भारतमा विलय भएको थियो । जनताले त्यहाँ पनि ‘लोकतन्त्रवादी र समृद्ध’ हुने सौभाग्य पाएका छन् । तर सर्वाधिकार गुमाएका छन् । हामीलाई धन, मताधिकार र प्रजातन्त्र (लोकतन्त्र) मात्र चाहिएको भए पराधीन बन्दा पनि हुन्छ । स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान बचाउने हो भने विदेशीका पछिपछि दगुर्ने चरित्र त्याग्नुपर्छ।

नेपालको व्यापारघाटा ११ खर्ब ६२ अर्ब रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को प्रतिवेदन हेर्दा सवारी साधनमा मात्र ८६ अर्ब ३० करोड रुपियाँ विदेश गएको देखिन्छ । ऋणले राष्ट्र घाँटीसम्म डुबे पनि सरकारी मुखले सत्य बोल्ने साहस गर्दैन । तथ्यांक झुटो होइन भने धेरै प्रसन्न हुनुपर्ने ठाउँ छैन । भन्सार विभागले वैदेशिक र व्यापारमा आयातको हिस्सा ९३.९ र निर्यातको हिस्सा ६.१ प्रतिशत देखाएको छ । यसले पनि अर्थतन्त्र कमजोर नै छ भन्ने देखाइरहेको छ । उत्पादन नबढाउने तर अनावश्यक सुविधाका लागि सातवटै प्रदेशमा अर्बौं रुपियाँ पु-याउनैपर्ने अवस्था छ । भारत र चीनबाहेक १४० राष्ट्रका चार हजार सात सय ७५ प्रकारका उत्पादन नेपाल आएको तथ्यांकले देखाएको छ । तर हाम्रो निर्यात ६.१ प्रतिशत मात्र रहेछ।

राजनीतिका आकर्षक नारा, विनोदपूर्ण र रसिक भाषण,  आश्वासन र प्रचारले जनतालाई केहीबेर लटपट्याउन सकिन्छ तर प्रतिक्रान्ति वा विद्रोहको बाटोमा हिँड्नबाट रोक्न सकिँदैन । कुनै दल, गुट, वाद वा सिद्धान्तको पक्ष–विपक्षमा नभएका लाखौँ असन्तुष्ट युवालाई कुनै शक्तिले प्रोत्साहन दियो वा स्वतःस्फूर्त रूपमा उनीहरू सडकमा आउन थाले भने त्यो प्रतिक्रान्ति ‘अप्रत्यासित’ मानिँदैन । अहिले समय छँदै राष्ट्र र जनताका समस्यातिर ध्यान नदिने हो भने केही वर्षपछि मुलुकमा गम्भीर अराजकताको अवस्था आउन सक्छ । त्यसबेला कुनै पनि बहानामा प्रतिक्रान्ति रोक्न सकिँदैन।

Credit : janasanchar.com

ठेकेदार जोगाउन आयोजनाको चलखेल

परीक्षण क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहरलाई आयोजना कार्यालय आफैंले मर्मत गरेर ठेकेदारलाई उन्मुक्ति दिने चलखेल गरेको छ।

सिक्टाको ४५ किलोमिटर मूल नहरमध्ये ४२ किलोमिटर सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको हो। कालिकाले निर्माण गरेको मूल नहर भत्किएलगत्तै आयोजना कार्यालयले नै मर्मत गरेको छ।

अनियमितता लुकाउन र ठेकेदारलाई बचाउन आयोजना कार्यालयले मर्मत गरेको स्रोतको दाबी छ।

कुनै पनि आयोजना सम्पन्न भएको एक वर्षसम्म मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीको हुने कानुनी व्यवस्था छ।

मूल नहर बनाएको कालिकाले सन् २०१७ को फेब्रुअरीपछि मूल नहर मर्मतको दायित्व आफ्नो नभएको दाबी गर्दै आएको छ। दुई वर्षअघि परीक्षण क्रममा भत्किएको मूल नहर पुनः गत साउन ७ गते परीक्षण गर्दा भत्कियो।

दुई वर्षअघि भत्किएको मूल नहर भने कालिकाले नै मर्मत गरेको थियो । आयोजना कार्यालयले यसपटक भत्किएको नहर ठेकेदारलाई नै मर्मत गर्न लगाउनुपर्नेमा आफैं गर्नुले ठेकेदारसँग मिलेमतोको आशंका उब्जिएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Credit : janasanchar.com

नेकपाका इन्चार्ज कुमाल गिरफ्तार

गोर्खा : नेपाल कम्युनिस्ट पार्टीका गोर्खा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले गिरफ्तार गरेको छ । कुमाललाई बिहीबार गोर्खाबाट प्रहरीले गिरफ्तार गरेको नेकपा गण्डकले जनाएको छ ।

यसैबीच नेकपा गण्डकले आफ्ना जिल्ला इन्चार्ज कुमाललाई पक्राउ प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ ।

गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा (आस्था)ले आफ्ना कार्यकर्तालाई बिनाकारण राज्यले गिरफ्तार, धरपकड गर्नु राज्यको गैरजिम्मेवारी पन भएको बताएकी छिन् । गिरफ्तारीमा परेका जिल्ला इन्चार्जलाई बिनासर्त रिहाइ नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएकी छिन् ।

Credit : janasanchar.com

विगत ६ महिनामा जिल्लाका नौ सहकारी संस्थामा चोरी

जिल्लामा सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ । विगत ६ महिनामा जिल्लाका  नौ सहकारी संस्थामा चोरी भएको छ । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती सहकारीबाट ४९ लाख ३८ हजार रुपैँया बराबरको चोरी भएको छ । एउटा सहकारीबाट १० हजारदेखि ३५ लाखसम्म चोरी भएको छ ।

सवैभन्दा बढी सर्वोदय बहुउद्देश्यीय सहकारी भरतपुरबाट ३५ लाख ८० हजार चोरी भएको छ । गीतानगर साना किसान गरिबी निवारण कृषि सहकारी संस्थाबाट रु १० हजार, भरतपुरस्थित इन्द्रग्राम पुनर्मिलन सहकारीबाट रु ५० हजार, माडीको सहनशील महिला सहकारीबाट रु एक लाख ११ हजार, बछ्यौलीको साना किसान कृषि सहकारीबाट रु ३६ हजार तथा बछ्यौलीकै वछ्यौली नारी चेतना सहकारीबाट रु एक लाख १५ हजार रुपैँया चोरी भएको छ ।

यस्तै रत्ननगरको एकीकृत कृषक बचत तथा ऋण सहकारीबाट रु एक लाख ९९ हजार, भरतपुरको अभ्युदय बहुउद्धेश्यीय सहकारीबाट रु तीन लाख १७ हजार र भरतपुरकै प्रभा दिदी बहिनी सहकारीबाट रु छ लाख ५३ हजार रुपैँया चोरी भएको जिल्ला प्रहरी कार्यालयको दर्ता उजुरीमा उल्लेख छ । चोरीमा सम्बन्धित कार्यालयकै कर्मचारी तथा सो विषयबारे जानकार व्यक्तिको संलग्नता रहेको पाइएको ढकालले बताएका छन् । घटनाको अनुसन्धान गर्न टोली गठन गरी परिचालन गरिएको छ । सहकारीमा चोरी गर्ने गिरोहले सिसी क्यामेरा नष्ट गरेर चोरी गर्ने गरेको पाइएको छ । शृङ्खलावद्ध रूपमा सहकारी संस्थामा चोरी हुन थालेपछि सहकारीकर्मी चिन्तित बनेका छन् । रासस

Credit : janasanchar.com

अब लापरवाहीले बिरामीको मृत्यु भए डाक्टरलाई ५ वर्ष जेल

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने डाक्टरहरुले जेल जानुपर्ने हुन सक्छ ।

 

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरवाही वा हेलचेक्र्याइ गरी इलाज गर्न नहुने उल्लेख गरिएको छ । त्यसमा भनिएको छ- ‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरवाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्नु हुँदैन ।’

यदि लापरवाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । यदि हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।

हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा भने डाक्टरले उपचारमा लापरवाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ ‘औषधी चिरफार गर्ने, औषधी मिलाई खुवाउन पाउनेहरुले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नपुर्‍याई गफलत वेपर्वाही गरी बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जीउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुबै सजायँ हुन्छ ।’

यदि डाक्टरको लापरवाहीले कसैको ज्यान मारेर वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरवाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरवाही गरेमा क्षतिपूर्तिको व्यवस्था छैन ।

मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरवाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाही कडा पारिएको छ । डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सकिने व्यवस्था गरी हदम्याद हटाइएको छ ।

बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद

नेपालका कतिपय अस्पतालमा विरामीको व्यथा नै थाहा नपाई उपचार गरेको घटना पनि कहिलेकाहीँ हुने गरेका छन् । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेका उदाहरण पनि पाइएको छ । अब डाक्टरको यस्तो हेलचेक्र्याईले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो हेलेचेक्र्याइँले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा गरिएको छ ।

ऐनको दफा २३१ मा बदनियत चिताई उपचार गर्नु भन्नाले निम्न अवस्था उल्लेख गरिएको छ-

ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु

एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु

ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु

एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु

त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराए सरह अर्थात १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा गरिएको छ ।

म्याद नाघेको औषधी बिक्री गरे १ वर्ष कैद

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधी बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था राखिएको छ । यदि म्याद नाघेको औषधीले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था छ ।

इलाज सम्बन्धी धेरैजसो कसुरमा उजुर गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सकिनेछ ।@अनलाइन खबर

Credit : janasanchar.com

सहमतिमा राखिने यौन सम्बन्ध पनि बलात्कार ठहरिने !

पुरानो मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका किशोरीसँग राजीखुशीले यौनसम्बन्ध राखे पनि त्यो बलात्कार वा जबरजस्तीकरणी ठहरिने प्रावधान थियो । तर, १६ वर्षमाथिका महिलासँग राजीखुसीमा यौनसम्बन्ध राखेको अवस्थामा जबरजस्ती करणी नमानिने पुरानो मुलुकी ऐनले व्यवस्था गरेको थियो ।

तर, अब भदौ १ देखि लागू हुने नयाँ व्यवस्थाले १६ वर्षमाथिका युवतीसँग पनि राजीखुशीमा राखिने यौनसम्बन्धलाई बलात्कार मान्ने छ । अब नयाँ व्यवस्था अनुसार १८ वर्षभन्दा कम उमेरका महिलासँग राजीखुशीले पनि यौनसम्बन्ध राख्नु बलात्कार ठहरिनेछ ।

नेपाली समाजमा १६ वर्ष कटेका किशोर किशोरीहरुले राजीखुशीमा यौनसम्बन्ध राख्ने क्रम बढिरहेको विभिन्न अध्ययनहरुले देखाउने गरेका छन् । तर, नयाँ मुलुकी ऐनले समाजमा देखिएको यौनिक उदारतालाई केही कसिलो बनाउने प्रयास गरेको छ ।

भदौ १ देखि लागू नयाँ पारिवारिक कानूनले विवाह गर्न पाउने उमेर हद २० वर्ष तोकेको छ । तर, ऐनले राजीखुशीको यौनसम्बन्धलाई बलात्कार नमानिने उमेर हद १८ वर्षभन्दा माथिलाई मानेको छ । यो वीचको ग्यापमा रहेको उमेर समूह (१८-२० वर्ष) ले आपसी सहमतिमा राख्ने यौनसम्बन्ध न बलात्कार ठहरिन्छ, न त त्यसले विवाहका रुपमा बैधानिकता नै पाउँछ ।

पुरानो मुलुकी ऐनले १६ वर्ष कटेपछि सहमतिमा राखिने यौनसम्बन्धलाई कडाइ गरेको थिएन । तर, नयाँले भने १६ वर्ष माथिकालाई पनि कडाइ गरिदियो । ऐनमा गरिएको यो परिवर्तनलाई सकारात्मक मान्ने कि बन्धन ? यो त्यही किशोर- किशोरी पुस्ताले जान्ने कुरा हो, जसले यौन स्वच्छन्दता खोजिरहेका छन् ।

तर, यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने विदेशमा पनि सहमतिको यौनसम्बन्धका लागि मान्यता पाउने उमेर १८ वर्षभन्दा माथि नै हो । यस अर्थमा नयाँ संहिताले अन्तरराष्ट्रिय ‘स्टाण्डर्ड’ कायम गर्न खोजेको तर्क कतिपय कानूनविदहरुको छ ।

नयाँ कानून संहिताले कुनै पुरुष र महिलावीचको शारीरिक सम्बन्धबाट सन्तान जन्मिएमा उनीहरुवीच विवाह भएको मानिने छ भनेको छ । त्यसैगरी लोग्ने वा श्रीमतीले परस्त्री वा परपुरुषसँग यौन सम्पर्क राखेको प्रमाणित भएमा सम्बन्धविच्छेद गर्न पाउने प्रावाधान मुलुकी संहितामा छ ।

तर, नेपाली समाजमा मौलाउँदै गएको लिभिङ टुगेदरका विषयमा भने नयाँ मुलुकी ऐनले सम्वोधन गरेको छैन । तथापि यौनसम्बन्धबाट सन्तान जन्मिएमा विवाह भएको मानिनेसम्म भनिएको छ । बच्चा नजन्मिएको अवस्थाको लिभिङ टुगेदरबारे कानून पूर्णतः छ ।

Credit : janasanchar.com

नेकपा अध्यक्ष प्रचण्डको निवास महिलाहरुद्वारा चार घण्टा घेराउ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पुर्व माओबादी अध्यक्ष प्रचण्डको ललितपुरकाे खुमलटारस्थित प्रचण्ड निवास महिलाहरुले घेराबन्दी गरेका छन् । बिहीबार दिउसो ३ बजेदेखि साझ ७ बजेसम्म उनको खुमलटारस्थित निवास महिलाहरुले घेराबन्दी गरेका हुन् ।

जनयुद्दकालमा  बिजया बुढाको घर प्रचण्डले पार्टीको काममा भन्दै बैंकमा धितो राखेर ऋण झिकेकोमा ऋण नतिरिदिएपछि उनको घर लिलाम भैसकेको छ l

 

प्रचण्डलाई जनयुद्धकालमा पैसा चाहिदा घर धितो राख्ने तर अहिले आफ्नै कार्यकर्ताको घर लिलाम भएर बिचल्ली हुदा समेत वास्ता नगरेपछि आफुहरु बाध्य भएर उनको घर नै घेराउ गर्न पुगेको पिडित बुढाले टेलीफोन मार्फत बताइन ।

बुढा पुराना कम्युनिस्ट नेता बर्मन बुढाकी छाेरी हुन् । उनी सहिद परिवार पनि हुन । विजया बुढाका श्रीमान खड्गबहादुर बुढालाई सेनाले भैरवनाथ गणमा हत्या गरेकाे थियाे ।

ललितपुरको कुसुन्तीमा रहेकाे विजयाकाे घर जनयुद्ध कालमा गाेप्य वार्ताका लागि प्रयाेग हुने गर्दथ्यो । बैंकले घर लिलाम गरेपछि बिजयाको पुरै विचल्लीमा परेको छ ।

बिजयासंगै स्थानीय माहिलाहरुको समुहले प्रचण्ड निवास घेराउ गरेको खबर पाउँदापाउँदै पनि दिनभर निवास नफर्केका प्रचण्ड साझ साढे ७ बजे भने फर्केका थिए  ।

Credit : janasanchar.com

कस्तुरीको बिनासहित चार जना पक्राउ

काठमाडौं । कस्तुरीको बिनासहित चार जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २७ ज्याठामा कस्तुरीको बिना बिक्री वितरणको सूचना पाएपछि दरवारमार्गबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ चार जनालाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा काभ्रेको भुम्लु घर भई हाल स्वयम्भु बस्ने कृष्ण नेपालीको २८ वर्षीय छोरा दीपक, रामेछापको गोकुलगंगा घर भई हाल सिनामंगल बस्ने जित सिंह सुनुवारको छोरा १८ वर्षीय अर्पण, रामेछापकै बेथान बस्ने ईन्द्रबहादुर पाण्डेको छोरा १७ वर्षीय उज्वल र सल्यानको कालागाउँ घर भई हाल चाबहिल बस्ने मेघलाल बस्नेतको छोरा २२ वर्षीय जीबन बस्नेत रहेका छन् ।

 

पक्राउ परेकाहरुमध्ये अर्पण सुनुवारको साथबाट कस्तुरीको बिना ३ थान बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Credit : janasanchar.com

चार वर्षमा चार हजार चार सय ४५ महिला बलात्कृत

काठमाडौं – नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् ।

बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले बढेको छ ।

नेपाल प्रहरीको तथ्यांकअनुसार बलात्कृत हुनेमा सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेर समूहका छन् । त्यसपछि १० वर्षमुनिका बालिका छन् ।

चार वर्षमा मुलुकभर चार हजार ४४५ महिला बलात्कृत भएका छन् । तीमध्ये १० देखि १६ वर्ष उमेरका एक हजार ३००, १० वर्षमुनिका ८२० बलात्कृत भए । १७ देखि १८ वर्ष उमेरका ४५१ र २० वर्षभन्दा माथिका एक हजार ५१६ जना रहेका छन् ।

Credit : janasanchar.com

नोटमा केरमेट गरे जेल

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

 

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।
नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

Credit : janasanchar.com